काभ्रे — सालका पातलाई बाँसका सिन्काले उन्दै लाफा बनाइँदैछ । एक छेउमा तयार भएका लाफा लहरै सुकाइएको छ । सुकेका लाफालाई मेसिनमा राखिन्छ । मेसिनले आकार र साइजअनुसार कटिङ गरेपछि लपेस तयार हुन्छ ।
बनेपा नगरपालिका–७ मा रहेको सिर्जनशील महिला उद्योगमा परम्परागत सीपलाई प्रविधिको प्रयोग गर्दै महिलाहरूले दुना र टपरीको नयाँ स्वरूप दिइरहेका हुन् ।
प्रविधिको प्रयोग गरी दुना, टपरी, लपेस बनाउने प्राविधिक ज्ञान लिएर बनेपाका ७ जना महिलाले अहिले सामग्री उत्पादन पनि गरिरहेका छन् । प्रविधिको प्रयोग गरी दुना–टपरी बनाउने योजना दुई वर्षअघि बनाइने पनि अहिले पूरा भएको सिर्जनशील महिला जागरण अभियानले सञ्चालनमा ल्याएको सिर्जनशील महिला उद्योगकी अध्यक्ष रूपा खतिवडाले बताइन् । उनका अनुसार प्राविधिक र व्यवस्थापनको पाटोले गर्दा यो काम सुरु गर्न अलि ढिला भएको हो ।
उनीहरूले सञ्चालन गरेको उद्योगमा अहिले समूहका ७ जना महिला प्रत्यक्ष रूपमा जोडिएका छन् । ‘यो काम हेर्दा सामान्य देखिए पनि अन्तिमसम्म आइपुग्दा लामो विधि हुन्छ,’ उनले भनिन्, ‘सुरुमा सालको पात संकलन गर्नुपर्यो, यसका लागि पनि हामीले स्थानीय महिलाबाट पात र बाँसका सिन्का ल्याउने गर्छौं, पातलाई सिन्काले उनेर लाफा बनाएर ३ दिनसम्म हावामा सुकाएर राखिन्छ, सुकेको लाफालाई मेसिनमा राखिन्छ ।’ उनले १५ देखि १७ सेकेन्डमा राखेपछि मेसिनले आकार र साइजअनुसारको कटिङ गरेर निकालेपछि दुना, टपरी र लपेस तयार हुने बताइन् ।
उनीहरूले स्थानीय महिलालाई प्रत्यक्ष रूपमा रोजगारीसँग जोडेका छन् । उनीहरूले स्थानीय स्तरबाटै कच्चा पदार्थ (सालको पात र सिन्का) खरिद गर्छन् । उनीहरूले सिन्का प्रतिमुठा १५० र सालको पात प्रतिमुठा ८० देखि १२० रुपैयाँसम्ममा किन्ने गर्छन् । अध्यक्ष खतिवडाका अनुसार दुना, टपरी, लपेससम्बन्धी परम्परागत सीप भएकालाई यो काम अलि सहज छ ।
‘यो मेसिन चलाउँदा भने विशेष ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘मेसिनको तापक्रम मिलाउन जान्नुपर्छ, अहिले ६ वटा डाई (साइज र आकार मिलाउने उपकरण) राखेका छौं, जसबट ६ साइज र आकार दुना, टपरी र लपेस बनाइन्छ, मेसिनमा दुना, टपरी राख्दा पनि होसियारी अपाउनुपर्छ ।’ यसको व्यवस्थापनको पाटो पनि विशेष ध्यान दिनुपर्ने उद्योगकी व्यवस्थापक यशोदा बोगटीले बताइन् ।
‘सालको पात सधैंभरि पाइँदैन, यसको सिजन भनेकै असारदेखि फाल्गुण–चैतसम्म मात्रै हो, पछिसम्मका लागि हामीले पात अहिले नै ल्याउनुपर्ने हुन्छ, अनि अर्को मुख्य चुनौती भनेको बजारीकरणमा हुन्छ,’ उनले भनिन्, ‘नेवार समुदायमा भोजमा लपेसको प्रयोग धेरै हुने भएकाले लपेसको माग बढी छ, अहिलेका लागि स्थानीय बजारमै राम्रो माग छ ।’
प्राविधिक सीप सिकेर उनीहरूले एक महिनाअघि उद्योगलाई सञ्चालनमा ल्याएका हुन् । उद्योग सञ्चालनका लागि उनीहरूले करिब १० लाख रुपैयाँ लगानी गरेका छन् । ‘मेसिनको मूल्य अलि बढी भएकाले पनि यसमा धेरै लगानी भएको छ,’ खतिवडाले भनिन्, ‘एउटा मेसिनकै मूल्य करिब ६ लाख पर्ने रहेछ, कच्चा पदार्थ तथा अन्य सामग्री, उद्योग दर्ता सबै जोड्दा करिब १० लाख लगानी भएको छ ।’
उनीहरूले अहिले १२ सय पिस दुना, टपरी, लपेस उत्पादन गरिसकेका छन् । लपेस/टपरीको मूल्य २५ पिसको २ सय र ५० पिसको ४ सय तोकिएको छ । त्यस्तै, सानो दुना ४० पिसको ६० रुपैयाँ र ठूलो दुनाको ८० रुपैयाँ तोकिएको छ । उनीहरूले सालको पात लगेर फुर्सदको समयमा घरमा पनि लाफा बनाउने गर्छन् । ‘घरधन्दा सकेर फुर्सदमा लाफा बनाउँछु,’ उनले भनिन्, ‘आफूसँगसँगै घरका परिवारले पनि सघाउनुहुन्छ, सबै मिलेर गर्दा रमाइलो पनि हुन्छ ।’
उनी आफूसँग भएको सीपमा आफूमा मात्रै निहित राख्दिनन् । यो सीप सिक्न इच्छा राख्ने जो कोहीलाई पनि सिकाउँछिन् । ‘प्रविधिको प्रयोग गरी दुना, टपरी, लपेस बनाउन सिक्न चाहनुहुन्छ भने उद्योगमार्फत सिकाउनेछौं,’ उनले भनिन्, ‘यससम्बन्धी तालिम लिन चाहनेलाई पनि तालिम समेत प्रदान गर्नेछौं ।’
