वाग्मती सरकारले विपद्‍बाट क्षति पुगेको सडक र पूर्वाधार तत्काल बनाउने

पुस १९, २०८१

सुवास विडारी

The Wagmati government will immediately repair the roads and infrastructure damaged by the disaster

मकवानपुर — वाग्मती प्रदेश सरकारले असोज ११ र १२ गतेको विपद्बाट क्षति पुगेको सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक बजेट निकासा गर्ने भएको छ । प्रदेश सरकारको शुक्रबार बिहान हेटौंडामा बसेको मन्त्रिपरिषद्को बैठकले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माण गर्न १५ करोड २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

विपद् प्रभावित हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको सडकका लागि ११ करोड २५ लाख रुपैयाँ र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मतका लागि ४ करोड रुपैयाँ बजेट व्यवस्था गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार कुलेखानी सिस्नेरी सडक मर्मतका लागि ५० लाख रुपैयाँ, कुलेखानी महालक्ष्मी खोला फाखेल खण्ड मर्मतका लागि २५ लाख रुपैयाँ, सिमखोलमा बेलिब्रिज राख्न २ करोड रुपैयाँ, सिस्नेरी खण्डको सडक पुनः निर्माणका लागि ६ करोड रुपैयाँ र सिस्नेरी छैमले खण्डको सडक पुनः निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

‘अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको छौं,’ मन्त्री लामिछानेले भने । उनका अनुसार बिहीबार सम्पन्न प्रदेश विपद् परिषद्को बैठकको निर्णयलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्को वैठकले बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । ‘संघ सरकारबाट प्रदेशमा आएका सचिव वीरेन्द्रदेव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेका छौं,’ मन्त्री लामिछानेले भने । प्रदेशले ११ औं तहमा बढुवा गरेका निरञ्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको जानकारी दिए ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully