सहकारीले उत्पादन गरेका सामग्रीको प्रदर्शन तथा बिक्री मेला

मेला १० हजारले अवलोकन गर्ने अनुमान

पुस १६, २०८१

प्रताप विष्ट

Exhibition and sale fair of the materials produced by the cooperative

हेटौंडा — मकवानपुरमा रहेका सहकारीबाट उत्पादित सामग्रीको तीनदिने प्रदर्शनी तथा बिक्री मेला हेटौंडामा सुरु भएको छ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं स्थापना दिवसको अवसरमा मंगलबारदेखि यो मेला सुरु भएको हो ।

वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले मेला र सहकारी संघको नवनिर्मित भवनको उद्घाटन गरे । मेलामा कृषि सहकारीहरूले समेत उत्पादन गरेका हस्तकला, खाद्य, मसला, दुग्धजन्य सामग्री सहितका ४३ स्टल राखिएका छन् । मेला १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदेशकी उद्योग मन्त्री सुकुमाया तामाङले यस्ता प्रदर्शनी र मेलाले उद्यमीहरूलाई उत्साह प्रदान गर्ने बताइन् । जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले भनिन्, ‘यो मेलाबाट सहकारीले गर्दै आएको कामले थप बजार पाउने विश्वास हामीले लिएका छौं ।’

हेटौंडा उपमहानगरपालिका-२ मा सहकारी संघले करिब २ कठ्ठा क्षेत्रफल रहेको जमिनमा ३ करोडको लागतमा भवन निर्माण गरेको हो । यो भवन निर्माण गर्न प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाखभन्दा बढी र संघको जगेडा कोषबाट बजेटको व्यवस्था गरिएको संघले जनाएको छ ।

प्रताप विष्ट

Link copied successfully