मकवानपुर — मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्रेको छ । हेटौंडा–२ बाट ५ जनालाई र हेटौंडा– १७ बाट २ जनालाई पक्रेको हो ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र वडा प्रहरी कार्यालयको टोलीले हेटौंडा-२ पुरानो मकवानपुर रोडस्थित शिशिर राजथलाको घरबाट खैरोहिरोइनसहित ५ जनालाई पक्रेको हो ।
पक्राउ पर्नेमा ३१ वर्षका राजथलासहित हेटौंडा-२ का ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षका सुदीप भुर्तेल, हेटौंडा ४ का ३० वर्षका असिमकुमार बर्तौला र हेटौंडा १ का ३० वर्षकै ओम साह रहेका छन् । उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा ४ ग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–१७, दाविलेबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हटिया दाविलेका ३२ वर्षका विदनकुमार भुजेल र बाराको विश्रामपुर गाउँपालिका ८ नकाटुवा टोल बस्ने २१ वर्षका शेख आजाद रहेका छन् । प्रहरी चौकी हटियाको टोलीले भुजेलको घरबाटै उनीहरूलाई पक्रेको हो । उनीहरूको साथबाट २ ग्राम ५४० मिलिग्राम खैरो हेरोइन फेला पारेको छ ।
लागूऔषधसहित पक्राउ परेका सातै जनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले जानकारी दिए । पछिल्लो समय मकवानपुरमा लागूऔषधको कारोबार एवं सेवनकर्तासमेत बढेका छन् ।
