दोलखा — खेतबारीको उर्बरा शक्ति हृास आएपछि भीमेश्वर नगरपालिकाकाले माटो परीक्षणका लागि बाली विज्ञान विषयका विद्यार्थी परिचालन गरेको छ । सर्व माध्यमिक विद्यालयको बाली विज्ञान संकायमा अध्ययनरत विद्यार्थीले खेतबारीमै पुगेर भीमेश्वरका ९ वटै वडाको माटो संकलन गर्दै परीक्षण गरिरहेका हुन् ।
नगरपालिकाको आग्रहमा सबै वडाबाट माटो संकलन सकेर परीक्षण गरिरहेको विद्यालयका बाली विज्ञान शिक्षक प्रज्वल कार्कीले बताए । सबै वडाका ९ सय ८० जना व्यावसायिक किसानको बारीको माटो संकलन गरिएको ३ वर्षे बाली विज्ञान संकायमा अध्ययन गरिरहकी विद्यार्थी सुरक्षा विकले बताइन् । विद्यार्थीले किसानको बारीका माटोको नाइट्रोजन, फस्फरोस र क्याल्सियमको अवस्थासहित माटोमा रहेको अम्लियपनको परीक्षण गर्ने उनले बताए ।
‘अध्ययनका क्रममा पहिलो पटक किसानका बारीमा पुगेर माटोको नमुना संकलन गरेका छौँ,’ उनले भनिन्, ‘सबै किसानको बारीमा पुगेर माटोको नमुना लिन ४ दिन लाग्यो ।’ विद्यालयमा रहेको माटो परीक्षण ल्याबमा नगरपालिकाभित्रका किसानका बारीको माटो परीक्षणमा २८ जना बाली विज्ञानमा अध्ययनरत विद्यार्थी खटिएको उनले बताइन् । नगरपालिको सबै भूगोलका किसानको माटो संकलन भएकाले ल्याबमा परीक्षण गर्न पनि उत्साहका साथ सबै साथी लागेको उनले बताइन् ।
किसानले बारीको उर्बरा शक्तिमा हृास आएको भन्दै माटो परीक्षणका लागि नगरपालिकामा आग्रह गरेपछि बाली विज्ञान विषय अध्ययनरत विद्यार्थी खटाएको नगरपालिकाका कृषि शाखा प्रमुख विष्णु चौलागाईंले बताए । ‘बाली विज्ञानमा अध्ययनरत विद्यार्थीलाई हरेक वडाका कम्तीमा एक सय जना किसानको माटो परीक्षणको जिम्मा दिएका छौँ,’ उनले भने, ‘सबैको रिपोर्ट आएपछि त्यसै अनुसार किसानलाई सहजीकरण गर्छौं ।’
बाली विज्ञान अध्यापन भइरहेको उक्त विद्यालयमा माटो परीक्षण गर्ने ल्याबसमेत भएकाले विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि सहज भएको शिक्षक कार्कीले बताए ।
