पत्रकार पाठकको उपचारका लागि सहयोग

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Support for the treatment of journalist Pathak

चितवन — रक्त क्यान्सर भएर भारतमा उपचाररत चितवनका पत्रकार भुपराज पाठकलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आर्थिक सहयोग गरेको छ । 

पत्रकार पाठकको उपचारमा ५० हजार रुपैयाँ सहयोग गर्दै ‘एनुअल अवार्ड नाइट–२०२४’ को उद्घाटनमा गरिएको हो । एक्सपर्ट नेपालका निर्देशक खेम संग्रौला र एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उपचार सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपानेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । 

एक्सपर्टले शुक्रबार साँझ एनुअल अवार्ड नाइट (कर्मचारीहरुलाई सम्मान) कार्यक्रम आयोजना गरेको थियो । नियमित प्रक्रिया र स्वरुप परिवर्तन गर्दै सहयोग रकम उपलब्ध गराएर कार्यक्रम उद्घाटन गरिएको एक्सपर्ट चितवनका विजनेस डेभलपमेन्ट मेनेजर विनोदबाबु रिजालले बताए । सहयोग रकम बुझ्दै रक्तदाता अभियन्तासमेत रहेका न्यौपानेले एक्सपर्टले परोपकारी काममा सहकार्य गरेर आफ्नो गरिमालाई उच्च बनाएको प्रतिक्रिया दिए ।  भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा रक्त क्यान्सर प्रभावित पाठकको उपचार सुरु भएको छ । करिब ५० लाख रुपैयाँ खर्च लाग्ने उपचारका लागि पाठकको घर चितवन माडीसँगै देशैभर र प्रवासका विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाउन अभियान चलिरहेको छ । 

कान्तिपुर

Link copied successfully