मकवानपुर — मकवानपुरमा रहेका सहकारीबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री मेला हेटौंडामा हुने भएको छ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं स्थापना दिवसको सन्दर्भमा हेटौंडामा तीन दिवसीय महोत्सव हुने भएको हो ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठका अनुसार पुस १६ देखि १८ गतेसम्म हेटौंडा–२ स्थित आफ्नै कार्यालयको नवनिर्मित भवनमा मेला आयोजना गर्न लागिएको हो ।
‘लामो समयदेखि सहकारीले बचत र ऋण मात्र प्रवाह गर्दैन, रोजगारी पनि सिर्जना गरेको छ भनेर हामीले भनिरहेका थियौं । यसलाई पुष्टि गर्न पनि मेला आयोजना गर्न लागेका हौं,’ उनले भनिन्, ‘मेलाबाट पक्कै पनि सहकारीले गर्दै आएको कामले थप बजार पाउने विश्वास हामीले लिएका छौं ।’
मेलामा बचत तथा ऋण मात्र नभई कृषि सहकारीका साथै बहुउद्देश्यीय, कृषि सहकारीहरूले समेत उत्पादन गरेका हस्तकला, खाद्य, मसला, दुग्धजन्य सामग्रीहरू मेलाको स्टलमा राखिने बताइन् । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनीमा करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र ४० वटा स्टल रहने जनाइएको छ ।
संघले करिब ३ करोड ५० लाख रुपैयाँ खर्चेर ३४ धुर क्षेत्रफलमा २९ सय स्क्वायर फिटको नयाँ भवन हेटौंडामा निर्माण गरेको छ । संघको स्थापना दिवसको सन्दर्भ पारेर यस भवनको समेत उद्घाटन गरिने व्यवस्थापक सुमित्राकुमारी वाइवाले बताइन् । भवन निर्माण गर्न प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाखभन्दा बढी र संघको जगेडा कोषबाट बजेटको व्यवस्था गरिएको थियो ।
