पासोमा पारेर बाघ मार्ने प्रयास गरेको आरोपमा युवक पक्राउ

पुस ७, २०८१

रमेशकुमार पौडेल

A young man was arrested for trying to kill a tiger by trapping him

चितवन — दुर्लभ वन्यजन्तु पाटे बाघलाई मार्न पासो थापेको आरोपमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले एक जनालाई पक्राउ गरेको जनाएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने गत कात्तिक २९ मा पक्राउ परेको निकुञ्जले आइतबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

निकुञ्जले विनयी त्रिवेणीको तीनचुली मध्यवर्ती सामुदायिक वनमा कात्तिक २ मा गाडीको ब्रेकमा प्रयोग हुने तार र केबुल टीभीको तार फेला पारेको थियो । त्यसै गरी रौं अल्झेको तार पनि भेटिएपछि जनावर मार्न पासो थापेको शंकामा अनुसन्धान सुरु गरेको चितवन निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनास थापा मगरले बताए ।

‘तार र त्यसमा अल्झेको रौंलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरेका थियौं । सो परीक्षणबाट रौंको डीएनए पाटे बाघको भएको पुष्टि भएको थियो,’ निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । त्यसै गरि पक्राउ परेका अमृतको मोबाइल सेटको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कल विवरण र अन्य डिजिटल विवरण अनुसन्धान गरेको थियो । 

अमृतको मोबाइलमा पासोमा परेको बाघको फोटो फेला परेको निकुञ्जले जनाएको छ । बाघ पासोमा परेपछि  आफू एक्लै रूखमा चढेर फोटो खिचेको अमृतले बताएको निकुञ्जले जनाएको छ । पासोमा परेको बाघ संघर्ष गरेर उम्किन सफल भएको पनि निकुञ्जका सूचना अधिकारी थापा मगरले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully