मकवानपुर — खेलकुद क्षेत्रको विकासका लागि वाग्मती प्रदेश सरकारले स्वयम्सेवक प्रशिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।
वाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विधामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो ।
स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्ने भएको हो । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रुपमा सूचीकृत हुनसूचना समेत जारी गरेको छ ।
परिषद्ले स्वयम्सेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसँग सम्बन्धित खेलाडीहरुले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने उनले बताए ।
परिषद्ले करातेमा ४, उसुमा ३, एथलेटिक्समा १, तेक्वान्दोमा २, भलिबलमा १, फुटबलमा १, बक्सिङमा ३, टेबल टेनिसमा २, नेटबलमा २, व्याडमिन्टनमा २, फुलकन्ट्याक्ट करातेमा ४ र आइटीएफ तेक्वान्दोमा १ जना स्वयम्सेवक प्रशिक्षक नियुक्तिका लागि निवेदन माग गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरु सूचीकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुपर्ने भएकाले सूचना जारी गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । प्राप्त निवेदनका आधारमा लिखित परीक्षा तथा अन्तरवार्तामार्फत् प्रशिक्षकहरु नियुक्त गरिने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।
छनौट भएका प्रशिक्षकहरु नियुक्त गरी माग भएका जिल्लाहरुमा खटाइने छ । प्रदेशका १३ जिल्लामा खेलाडी प्रशिक्षणका लागि नियुक्त भएका स्वयम्सेवक प्रशिक्षकहरु खटाइने उनले बताए । स्वयम्सेवक प्रशिक्षकले सेवा गरे बापत् मासिक २२ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने छन् ।
