काभ्रे — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सम्पदा संरक्षणमा तीन तहकै सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् ।
काभ्रेको पनौती नगरपालिका–७ मा काभ्रेली सक्रिय महिला संगठनले सञ्चालन गर्दै आएको ‘पनौती त्रिवेणी सरसफाइ नागरिक अभियानको ३०० औं हप्ता प्रवेश’ कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, सम्पदा संरक्षण गर्नका लागि संघ, प्रदेश र स्थानीय तह गरी ३ तहकै सरकारको सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृतिलाई जोगाउन र संरक्षण गर्न पनि सरसफाइको आवश्यक भएको बताए । ‘सरसफाइ भएन भने सम्पदा र संरक्षण पनि हुँदैन,’ उनले भने, ‘यसको संरक्षण गर्न पनि ३ तहकै सरकारको सक्रियता हुनुपर्छ, कुनै एउटा निकाय, एउटा संस्थाले गर्छु भनेर मात्रै हुँदैन, त्यो सम्भव पनि छैन ।’
३ सय हप्तादेखि यहाँका महिलाले नदी सरसफाइको क्षेत्रमा गरेको कार्य उल्लेखनीय एवं उदाहरणीय भएको बताउँदै यस कार्यले सम्पदा र संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताए ।
असोजको दोस्रो साता आएको बाढी पहिरोले पुरातात्त्विक महत्त्व बोकेको पनौतीका संरक्षित सम्पदाहरू त्रिवेणी घाटमा रहेका मठ–मन्दिर, पाटीपौवा, ब्रह्मायणी मन्दिर लगायतका क्षेत्रमा पनि क्षति पुगेको र यसको पुनःनिर्माणका लागि पनि ३ तहकै सरकारको सहकार्य र समन्वय रहेको उनले बताए ।
