काभ्रे — ५५९.७ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार अपराह्न काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. १३ को डठु टोलमा गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर-९ का ३७ वर्षीय वसन्तकुमार लामा र रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. १ घर भई हाल काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ५ घोगेचौर बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार, काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको वाग्मती एडी ८६०१ नम्बरको नीलो रंगको कारलाई रोक्दा सिटमुनि
पत्रिकामा पोका पारी लुकाइराखेको ५५९.७ ग्राम (४७.९८४ तोला) सुन रहेको पाइएको प्रहरीले जनाएको छ । बरामद सुनको मूल्य ७१ लाख ८३ हजार ४ सय ६९ रुपैयाँ रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले कारचालक बसन्तकुमार लामा र सोही कारमा सवार अमृत श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको छ ।
