चितवन — सहकारी ठगी र संगठित मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कानुनबमोजिम नै पोखरा पठाइएको चितवन प्रहरीले प्रस्ट पारेको छ ।
बयान सकिएपछि भरतपुरबाट पोखरा पठाउँदा लामिछानेलाई सुतेपछि उठाएर लगिएको, प्रहरीले नै मादक पदार्थ खाएर दुर्व्यवहार गरेकोजस्ता सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा आएका टिप्पणी झुटो रहेको भन्दै चितवन प्रहरीले खण्डन गरेको हो ।
भरतपुरमा बुधबार राति बयान सकिएपछि लामिछानेलाई हिरासत कक्षमा नलगेको, लामिछानेले प्रहरीको भेटघाट कक्षमा आफन्त तथा शुभचिन्तकसँग भेटघाट वार्तालाप गरेको र भेटघाट कक्षबाटै राति १२ बजे र ५ मिनेट जाँदा पोखरा लगेको चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालले आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा भीड प्रवेश गर्न खोज्नेजस्ता कार्य भएको, हवाई उडानका लागि मौसम प्रतिकूल रहेको हुँदा उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखियो,’ विज्ञप्तिमा लेखिएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सहकारी ठगी मुद्दामा बयानका लागि काठमाडौं लगिएको थियो । काठमाडौंबाट मंगलबार बिहान लामिछानेलाई सिधै चितवन ल्याइएको थियो । मंगलबार र बुधबार रातिसम्म चितवन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान लिएको थियो । लामिछानेलाई चितवन ल्याएपछि समर्थकहरुले मंगलबार र बुधबार विरोध प्रदर्शन गरेका थिए ।
बुधबार चितवन जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो ।
