नमुना युवा संसद् अभ्यास सम्पन्न

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Model Youth Parliament exercise completed

रामेछाप — रामेछापको ठोसेबजारस्थित शारदा माध्यमिक विद्यालयमा नमुना युवा संसद् अभ्यास सम्पन्न भएको छ। शारदा मावि र टोनी हागन फाउन्डेसनको आयोजनामा सोमबार नमुना संसद् अभ्यास सम्पन्न भएको हो।

विद्यार्थीहरूलाई नेतृत्व विकास, संसदीय परम्परा र लोकतन्त्रमा अभ्यस्त बनाउन कार्यक्रम आयोजना गरिएको कार्यक्रमका अध्यक्ष एवं शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर बस्नेतले जानकारी दिए।

फाउन्डेसनका सचिव तथा प्रतिनिधि सभाका पूर्वसांसद फटिक थापाको परामर्शमा बसेको नमुना संसद् बैठकमा 'नेपालको  ऐतिहासिक ठोसे फलाम खानी लगायत मुलुकका अन्य फलाम खानी संचालन गरेर मुलुकलाई फलामको माग र आपूर्तिमा परनिर्भरता घटाउन सहयोग पुग्छ कि पुग्दैन भन्नेबारेमा सरकारले गहिरो अनुसन्धान र व्यापक छलफल गरी गराई ठोस रुपमा अल्पकालीन र दीर्घकालीन नीति तय गरी कार्यान्वयन गरोस !' भन्ने  संकल्प प्रस्तावमाथि छलफल गरिएको हो । उक्त संकल्प प्रस्ताव बहुमतले पारित भएको थियो ।

सहभागी विद्यार्थीहरूले सभामुख, मन्त्री, सांसद, मर्यादापालक, संसद् सचिवालयका कर्मचारी र पत्रकारको भूमिका निर्वाह गरेका थिए। नमुना संसद्‌मा सलिना कार्कीले राखेको संकल्प प्रस्तावमाथिको छलफलमा उमेश खड्का, किरण शेर्पा, सन्दिका श्रेष्ठ, रञ्जित राउत, रिया बस्नेत र अञ्जली बस्नेत लगायतले भाग लिए। सांसदहरूले उठाएका प्रश्नको जवाफ नमुना मन्त्री सञ्जिता राउतले दिएकी थिइन्।

सभामुखको भूमिका निर्वाह गरेकी प्रियंका रेग्मीले संकल्प प्रस्ताव ध्वनिमतबाट पारित भएको घोषणा गरिन्। त्यसअघि शून्य समयमा सुस्मिका नेपाली, एलिना राई, सुरोज खत्री, सुसन कार्की, सुस्मिता श्रेष्ठ, सुस्मिता बस्नेत लगायतले समाजमा घटेका ज्वलन्त समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए।

संसद् सचिवालयका कर्मचारीको भूमिकामा निरोज कार्की, जानकी लामिछाने बस्नेत र भावना महोत्रा थिए भने मर्यादापालकको जिम्मेवारीमा शिव राउत, प्रशान्त गुभाजु, मिनोट बस्नेत, सुष्मा श्रेष्ठ मनीषा रम्तेल र अत्सना बस्नेत थिए। सञ्चारकर्मीको भूमिकामा मुना बस्नेत, जोसेफ शेर्पा र रोमी खड्का थिए। शिक्षक केशव खड्काले कार्यक्रमको सञ्चालन गरेका थिए ।

नमुना संसद्‌मा सहभागीहरूलाई प्रमुख अतिथि गोकुलगंगा गाउँपालिका-२ का अध्यक्ष सुन्दरकुमार कार्की र विद्यालयका प्रधानाध्यापक शंकर बस्नेतले प्रमाणपत्र वितरण गरे। प्रमुख अतिथिले विद्यालयमा हुने नमुना संसद्को अभ्यासले निरन्तरता पाउनुपर्ने बताए । स्थानीय समाजसेवी महेश प्रधानले यस विद्यालयका विद्यार्थीहरूका लागि यो कार्यक्रम नौलो भएको बताए ।

फाउन्डेसनका कोषाध्यक्ष तथा लेखक वसन्त थापाले टोनी हागनलिखित पुस्तकहरू 'नेपालीको चिनारी', 'विकेन्द्रीकरण र विकास', 'नेपालमा मेरो खोजयात्रा' लगायत पुस्तक विद्यालयलाई हस्तान्तरण गरेका थिए। थापाले सन् १९५० को दशकमा पहिलो पटक नेपाल आएका स्वीस भूभर्गविद् टोनी हागनको जीवनबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए।

नमुना युवा संसद्को पहिलो बैठकले मंसिर १४ गते गाडी दुर्घटनामा परी ज्यान गुमाएका गोकुलगंगा गाउँपालिका- ४ का वडाध्यक्ष  रामचन्द्र बस्नेत लगायत मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।

नमुना युवा संसद्को अभ्यासको सिलसिलामा कार्यक्रमस्थलमा '६० को दशकमा टोनी हागनले खिचेको नेपालका विभिन्न भागका फोटोहरूको 'फोटो प्रदर्शनी' समेत गरिएको आयोजकहरूले बताएका छन् ।

कान्तिपुर

Link copied successfully