काभ्रे — लागूऔषधसहित ३ जनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित २५ वर्षीय अभिषेक राजवाहक, ३२ वर्षीय किशोर थापा र ३१ वर्षीय विराट थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
आइतबार बिहान १० बजेको समयमा वीपी राजमार्ग सडकखण्डमा काभ्रेपपाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं.९ स्थित काभ्रेभञ्जाङमा रहेको अस्थायी प्रहरी पोस्टमा खटिएको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी अधिकृतसहितको संयुक्त टोलीले सवारी साधन चेक गर्ने क्रममा भकुण्डेबेंसीबाट धुलिखेलतर्फ जाँदै गरेको बा १५२३५६ नम्बरको जिपबाट ४७ ग्राम ब्राउन सुगर बरामद भएको हो ।
प्रहरीले खोजतलासी गर्ने क्रममा विराट थापाको साथबाट एम–होर्स कम्पनीको मोबाइल थान–१, किशोर थापाको साथबाट सामसङ कम्पनी मोबाइल थान–१, अभिषेक राजवाहकको साथबाट सामसङ कम्पनीको मोबाइल थान–१ बरामद गरिएको र उक्त जिपसमेत नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
