काभ्रे — जिल्लाकै पुरानो अस्पताल शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा बहिरंग भवन शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच ललितपुर हरिसिद्धि निवासी ९१ वर्षीय ज्येष्ठ नागरिक तप्तराज वन्तले अस्पतालमा निर्माण गर्न लागिएको बहिरंग भवन शिलान्यास गरेका हुन् । ५ करोड ५० लाख रुपैयाँ कूल लागत अनुमानमा ४ तला भवन बन्ने छ ।
पहिलो र दोस्रो तलाको लागि बनेपाका स्थानीय राजभाई प्रधानले ३ करोड ५० लाख रुपैयाँ सहयोग गर्नेछन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले अस्पतालले निर्माण गर्न लागेको बहिरंग भवनबाट चाँडै नै जिल्लाका नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताए ।
त्यस्तै, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले भवन निर्माणका लागि नगरपालिका र जनप्रतिनिधिको तर्फबाट आवश्यक साथ र सहयोग हुने आश्वासन दिए ।
