चितवन — अति संकटपूर्ण अवस्थामा रहेको दुर्लभ जीव घडियाल गोहीका लागि माछा मार्न थापेका जालले जोखिम बढाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको टोलीले कात्तिक १२ गते राप्ती नदीमा माछा मार्ने जालले बेरिएको एउटा घडियाल गोहीको उद्धार गरेको थियो । मेघौलीनजिक देखिएको उक्त पोथी घडियाललाई संयोगले जिउँदै उद्धार गर्न सकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । माछा मार्नेहरुले थापेको जालले घडियाल गोहीलाई समस्यामा पार्ने गरेको उनले बताए ।
निकुञ्ज सिमाना भएर बग्ने खोला र नदीमा स्वीकृति लिएका बोटे तथा अन्य व्यक्तिले निश्चित समयमा गोही तथा अन्य जलचरलाई नोक्सानी नहुने खालका हाते जाल प्रयोग गरेर माछा मार्न पाउँछन् । तर मापदण्ड विपरीतका जाल प्रयोग गरेर माछा मार्ने चलन रोकिएको छैन । जसले घडियालसँगै अन्य जलचरलाई पनि समस्यामा पारेको छ ।
निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत थापामगरले निकुञ्जको गस्ती टोलीले कात्तिक महिनामा मात्रै तियारी जाल प्रयोग गरेर माछा मार्ने तीन जनालाई समाएको बताए । सफा पानीमा बस्ने घडियाल गोहीले माछामात्रै खाने गर्छ । माछा मार्दा गोहीको आहार नै घट्ने गर्छ भने त्यही माछा समाउन प्रयोग हुने गलत जालले गोहीलाई पनि प्रत्यक्ष हानी पुर्याएको छ ।
चितवन निकुञ्ज कार्यालयले गत वर्षको पुसमा गरेको सर्वेक्षणमा निकुञ्ज हुँदै बग्ने राप्ती नदी र यसका सहायक खोलाहरुमा १५२ र नारायणी नदीमा ११३ गरी निकुञ्ज आसपासका खोला र नदीमा २६५ वटा घडियाल गोही देखिएका थिए । निकुञ्ज कार्यालयका अनुसार गत वर्ष दुई वटा घडियाल गोही मृत फेला परेका थिए ।
त्यसैगरी एउटा घडियालको उद्धार गरिएको थियो । सफा पानीको सूचक मानिने घडियाल गोही लोप हुने खतरामा रहेको अति संकटापन्न अवस्थाको वन्यजीव हो । प्रदूषण, आहारको कमी र लापरबाही तरिकाले माछा मार्दा यसमाथि संकट बढेको छ ।
नेपालको कानुनले घडियाल गोहीलाई संरक्षित वन्यजीवको सूचीमा राखेको छ । निकुञ्ज ऐनले यस्ता जीव मारेमा एकदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एकदेखि १० वर्षसम्म कैद वा दुवै गर्न सक्ने व्यवस्था गरेको छ ।
