‘कम्तीमा नागरिकता भए भत्ता पाइन्थ्यो, ओखती किन्ने पैसा हुन्थ्यो’

नागरिकता नपाएकाहरुको कथा

भाद्र १९, २०८१

रमेशकुमार पौडेल

”At least if you had citizenship, you would have received an allowance, you would have had money to buy Okhti”

चितवन — रामरति मर्दनीया थारुलाई आफ्नो उमेर कति भयो थाहा छैन । गाला चाउरिएर अनुहारमा मुजा परेका छन् । कपालका रौं कपासझैं सेता छन् । आँखाले भर दिँदैन । हातखुट्टा पनि कमजोर छन् । औंला घरिघरि फर्कन्छन्, घुँडा करकर खान्छ । रातमा निन्द्रा पर्न गाह्रो हुन्छ ।

शारीरिक अवस्था हेर्दा उनी सरकारले दिने सामाजिक सुरक्षा भत्ताको असली हकदार देखिन्छिन् । तर नागरिकताको प्रमाणपत्र नहुँदा उनले यो सुविधा उपभोग गर्न पाएकी छैनन् ।

चितवनको दक्षिणी भेग माडी नगरपालिकाको केन्द्र वसन्तपुर बजारबाट दक्षिणपूर्व बाँदरमुढे खोला छेउमा लहरै १०/१२ घर छन् । वडा–६ मा पर्ने शिवराजपुरमा पहाडघर कास्कीको घान्द्रुक भएका अर्जुनबहादुर गुरुङ र उनका दुई भाइको अढाई बिघा जति जमिन छ । उक्त जमिनको पुछारमा नदी उकासको ऐलानी जग्गा छ । ‘हुन त हाम्रो नम्बरीको पछिल्लो भागको ऐलानी जग्गा हो । तर अन्यत्र जग्गा जमिन नभएर भौतारिँदै हिँडेका उनीहरूलाई त्यहीं घर बनाएर बस भनेका हौं,’ अर्जुनबहादुरले भने ।

त्यही ऐलानीमा बनेको एउटा छाप्रोमा रामरति र उनका छोराको परिवार बस्छ । खरले छाएको छाप्रो चुहिएर बेहाल हुन्छ । खोला छेउमा भएका कारण बर्खे भेल आउने त्राससँगै सर्पको डर र खतरा पनि उत्तिकै छ ।

अर्जुनबहादुरले जमिन दिएर घर बनाएको पाँच वर्ष जति भयो । त्यसैले ढल्दो उमेरमा लालपुर्जा आउला/नआउला भन्ने पिरलोमा रामरति छैनन् । तर, कम्तीमा नागरिकता भए भत्ता पाइन्थ्यो, ओखती किन्ने पैसा हुन्थ्यो भन्ने आशा भने उनमा छ । उनका श्रीमान् ठगाई महतोको निधन भइसकेको छ । ठगाई पहिला चितवनकै पदमपुरमा बस्थे । त्यहाँ पनि उनीहरूको जग्गा जमिन थिएन, अरुको घरको काम गर्थे । यही सिलसिलामा ठगाइ र रामरतिको बिहे भयो । रामरतिका बाबुआमा थिएनन् । ठगाईले २०३० सालमा आफ्नो नागरिकता बनाउँदा श्रीमतीको पनि बनाइदिन खोजेका रहेछन् । तर बाबुआमाको नागरिकता पनि चाहिन्छ भनेपछि उनले थप प्रयास गरेनन् । 

‘म सानै हुँदा बाबुआमा थिएनन्, नागरिकता कहाँ खोज्ने,’ रामरतिले भनिन् । नागरिकता नभए पनि काम चलेकै थियो । तर अहिले विभिन्न काममा नागरिकता नभइ हुँदैन । ‘अरु त केही थिएन तर नागरिकता भए भत्ता त पाइन्थ्यो । औषधि खर्च त हुन्थ्यो,’ रामरतिका छोरा रामेश्वरले भने । 

पदमपुरको बस्ती चितवन निकुञ्जभित्र पर्ने भएका कारणले सरकारले सारेर नयाँ ठाउँमा लग्यो । ठगाई पनि नयाँ ठाउँमा गएका थिए । तर उनको जीवनमा नयाँपन आएन । जग्गा नपाउने भएपछि उनी भौतारिँदै माडी आए । माडीमा पनि कहिले कहाँ, कहिले कहाँ छाप्रो बनाउँदै ठाउँ फेर्दै उनको जीवन बित्यो ।

ठगाईका छोरा रामेश्वर अहिले आमा र आफ्ना परिवारसहित खोला आडमा अडिएका छन् । तर, रामेश्वरलाई आमाको मात्रै हैन, श्रीमती सुनिताको नागरिकता पनि बनाउन नपाएको पीडा छ । ५० वर्षीय रामेश्वरले सुनितासँग २०५२ वैशाखमा बिहे गरेका हुन् । घरको आर्थिक अवस्था नाजुक भएका कारण रामेश्वर काम खोज्दै बिभिन्न ठाउँ पुग्थे ।

नवलपरासीको त्रिवेणीमा उनले सुनितालाई भेटे । ‘त्रिवेणी रानीनगरमा म होटलमा काम गर्न गएका बेला उसँग भेट भयो । बाआमा कोही पनि छैनन् भनेका कारणले माया लाग्यो र बिहे गरें,’ रामेश्वरले भने । बाआमा नहुनुको असर सुनितालाई रामेश्वरले नागरिकता बनाइदिने समयमा पर्‍यो । आमा रामरतिको जस्तै अवस्था सुनितालाई पनि दोहोरियो । माइतीको प्रमाण नभइ नागरिताको सिफारिससम्म पाइँदैन, माइती को हुन्, कहाँ छन् सासुलाई जस्तो सुनितालाई पनि सम्झना छैन । 

”At least if you had citizenship, you would have received an allowance, you would have had money to buy Okhti”जनुई महतो श्रीमान् डिल्लीरामसँगै आफ्नो छाप्रोमा । 

रामरतिका सासू–बुहारी नागरिकताकै पिरलोमा छन् । यसैगरी टोलमा बस्ने सबैका आ–आफ्ना समस्या र गुनासा छन् । तर, शुद्ध पिउने पानीको अभाव त्यहाँको साझा समस्या हो । जग्गा–जमिन नभएका जीवन दराई पहिला नवलपरासीको चोरमारामा बस्थे । त्यहाँबाट बस्ती उठाएपछि उनी माडी प्याउलीको ऐलानीमा आएर बसे । बाढी आएर नौ वर्षअघि प्यालीको घरजग्गा बगायो । त्यसपछि उनी ठाउँठाउँ भौतारिदै हिँडे । पाँच वर्षयता रामेश्वरकै छिमेकी भएर बसेका छन् ।

‘ओत लाग्ने छाप्रो बनाउने जमिन त पाइयो । तर अरु धेरै खाले समस्या छन् । यहाँ शुद्ध खानेपानी नै छैन,’ जीवनले भने । १० घरको बीचमा चार वटा चापाकल छन् । तर चापाकलको पानी राम्रो छैन । पानी राखेका भाँडा खिया लागेझै रातो हुन्छन् । 

‘धोएका कपडा झन् मैलो हुन्छन् । फिल्टर गरे पनि चिल्लो रहन्छ । यस्तो पानी पिउने कसरी, खाना पकाउने कसरी ?’ जीवनले भने । त्यसैले उनीहरू पानी लिन भाँडा बोकेर तीन/चार सय मिटर पर अर्काको घरतिर जान्छन् । त्यहाँ गएर पानी बोक्नु गाह्रो त हैन । तर अर्काको घरमा पानी लिन जाँदा संकोच लाग्ने जीवन सुनाउँछन् ।

ती घरमा चापाकल नभएर पाइपबाट धारामा पानी आउँछ । यस्तै धाराको पाइप आफ्नो टोलमा पनि ल्याइदिए सुविस्ता हुने जीवन बताउँछन् । त्यहाँ बिजुलीको पनि समस्या छ । १० मध्ये दुई घरले १८० मिटर परबाट तार टाँगेर बिजुली बालेका छन् । त्यति परबाट बिजुली ल्याउने आर्थिक हैसियत अरुको नभएको जीवनले दर्साए । ‘निमेक मजदुरी गरेर परिवार पाल्नेहरू बस्ने ठाउँ हो । टाढाबाट तार टाँगेर बत्ती बाल्ने हैसियत सबैको छैन,’ उनले भने ।

”At least if you had citizenship, you would have received an allowance, you would have had money to buy Okhti”सासु र श्रीमान‍्को बीचमा सुनिता मर्दनीया थारु ।

नागरिकताको प्रमाणपत्र पाउन विवाहित महिलाले माइतीको प्रमाण पेस गर्नु पर्छ । वंशजको नागरिकता लिनका लागि माइतीको वंशज खुल्ने नागरिकता र प्रमाण पेस गर्नु पर्छ । विदेशी बिहे गरेको हो भने वैवाहिक अंगीकृत नागरिकता लिन पनि सम्बन्धित देशको नागरिकता त्याग्ने कारबाही चलाएको प्रमाण र बाबुआमाको नागरिकता या आधार कार्ड, रासन कार्ड जस्ता कागजपत्र पेस गर्नु पर्ने नियम छ । ‘यी दुई आधार नभइ नागरिकताका लागि विवाहित महिलालाई सिफारिस गर्न सकिँदैन,’ माडी–६ का वडाध्यक्ष दिपेन्द्र पौडेलले भने ।

वडाध्यक्ष पौडेल नागरिकताको सिफारिसका लागि तोकिएको कागजपत्र जुटाउन नसक्नेहरू वडामा १५ जना जति भएको बताउँछन् । जसमा अधिकांश महिला छन् । वडा ६ कै जनुई महतो पनि नागरिकता, लालपुर्जा र शुद्ध पिउने पानीको समस्यामा छन् । बसन्तपुर बजार आडैमा पूर्वतर्फ रौतेनी खोला किनारमा रहेको पुरानो थारु बस्तीमा जनुईको जन्म भएको हो ।

आफू कति वर्षकी भए भन्ने राम्रो हेक्का पनि उनलाई छैन । उनी आफूलाई ५० की भएको बताउँछिन् । सानैमा उनका बाबु बिते, राम्रोसँग नहुर्कदै आमा पनि बितिन् । बाबुआमा बस्दै आएको ऐलानी जमिनमा जनुई भाइ चुडामणिसँग बस्दै आइन् । 

”At least if you had citizenship, you would have received an allowance, you would have had money to buy Okhti”बाँदुरमुढे खोला आडमा रहेको भूमिहीनहरूको बस्ती । तस्बिरहरू  : रमेशकुमार पौडेल/कान्तिपुर 

माडीकै अर्को गाउँ अम्रौलीका डिल्लीराम महतोसँग बिहे भएपछि पनि जनुईले उक्त जमिन छाडिनन् । तर श्रीमान् र तीन सन्तालले नागरिकता पाउँदा जनुई नागरिकताविहीन नै छन् । ‘बाबुआमाको नागरिकता लेऊ भन्छ, उहाँहरूले नागरिकता लिनु भयो या भएन भन्ने कुरा हामीलाई थाहा छैन । मेरो पनि बनेको छैन, भाइको पनि बनेको छैन,’ जनुईले भनिन् । उनी जन्मेको जमिन अझै पनि ऐलानी नै हो । 

घर छेउमा गाडेको धारोमा उही पिउन, पकाउन, भाडा माझ्न र कपडा धुन पनि नमिल्ने मैलो पानी आउँछ । सफा पानी आउने एउटा धारा दिए ठूलो सहयोग हुने उनी बताउँछिन् । तर चुनावका बेलाबाहेक उनका कुरा कसैले राम्रोसँग सुनिदिँदो रहेनछ । सिमेन्टका साना खाले पोल र ब्लक बनाउन दैनिक ज्यालादारीमा जनुई र श्रीमान् डिल्लीरामले काम गर्दै आएका छन् ।

डिल्लीराम दुई महिनादेखि अलि अस्वस्थ छन् । ढाडमा घाउ आएका कारण गत साता उनको शल्यक्रिया भयो । राम्रोसँग काम गर्न सकिएला नसकिएला भन्ने पिरलोमा उनी छन् । ‘अहिले त नागरिकता धेरै ठाउँमा खोज्दो रहेछ । नागरिकता बनाउन म पहिला त गाविसमा दुई पटक गएँ, टोली आउँदा पनि एकपटक गएँ । मिल्दैन भनेपछि थप प्रयास गरिनँ । अब नागरिकताबिना खै कसरी काम चलाउने हो,’ डिल्लीरामले दुःख पोखे । 

रामरति, सुनिता र जनुई आफूसँग नागरिकताको समस्या लिएर कोही पनि नआएको वडाध्यक्ष पौडेल बताउँछन् । ‘उहाँहरू पहिला जानुभएको थियो होला, कागज प्रमाण खोज्ने कुरा हुन्छ । नजुटेका कारण पछिल्लो समय यसै बस्नु भयो होला । यस्ता समस्याको निराकरण खै के कसरी गर्ने हो ?’ वडाध्यक्ष पौडेलले भने । बिजुली र खानोपानीको समस्याका लागि भने वडा कार्यालयले पहल गरिरहेको उनले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully