गोब्रे च्याउ खेतीमा १५ करोड लगानी 

एक वर्षमै ४ करोड १५ लाखको च्याउ बिक्री

भाद्र ९, २०८१

प्रताप विष्ट

15 crore investment in Gobre mushroom cultivation

हेटौडा — मकवानपुरको थाहा नगरपालिका-९ टुपीखेलको टुप्पामा १५ करोडको लगानीमा १९ हजार बल्बमा गोब्रे च्याउको उत्पादन गरिँदै आएको छ । ३९ जना च्याउ कृषकको सामूहिक प्रयत्नबाट ७ वर्षदेखि सञ्चालित ‘इन्द्रेणी मसरुम फार्म’ले गत वर्ष मात्रै ४ करोड १५ लाख मुल्य बराबरको च्याउ बिक्री गरेको छ ।

थाहा नगरपालिकास्थित चित्लाङ पर्यटकका लागि मात्र आकर्षक छैन, च्याउ खेती गर्नेको लागि उर्वरा क्षेत्र पनि बन्दै गइरहेको छ । उनीहरुले सुरुमा ८० लाखको लगानीमा च्याउ खेती सुरु गरेका थिए ।

काठमाडौं र गाउँमै रहेका किसानहरूसमेतको संयुक्त लगानीमा संचालित उक्त फार्मबाट उत्पादित च्याउको मुख्य बजार काठमाडौं हो । ‘यहाँ  उत्पादित सबै च्याउ काठमाडौंका होलसेलका व्यापारीलाई बिक्री गर्ने गरेका छौँ,’ फार्मका प्रबन्धक राजु श्रेष्ठले भने, ‘प्रतिकेजी चार सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छौँ ।’ श्रेष्ठले गोब्रे च्याउको माग अनुसार उत्पादन गर्न नसकिएको बताए । 

राजधानीदेखि नजिक र चिसो हावापानी भएको चित्लाङको टुपीखेलमा गोब्रे च्याउको निम्ति आवश्यक पर्ने हावापानी छ । प्राविधिक सुजित खडकीले वातावरण सन्तुलन कायम गर्न सहज हुने भएकाले च्याउको उत्पादन राम्रो भएको बताए । ‘यो च्याउलाई १४ देखि २७ सेन्टिग्रेटसम्मको  वातावरण आवश्यक छ,’ उनले भने ।  

२ वटा टनेलसहित ६ वटा टहरामा च्याउ उत्पादनलाई वातावरण मिलाउनका लागि एसी जडान गरिएको छ  । १० केजीको प्रत्येक बल्बमा नरिवलको जटाको धुलो, माटो र अर्गानिक मल हालेर प्याक गरिन्छ । बल्बमा प्याक गरेको २० दिनमा मल बन्छ । त्यसमा च्याउको बीउ  रोपिन्छ ।

बीउ रोपेको ३५ दिनपछि च्याउ बिक्रीका लागि तयार हुने  श्रेष्ठले बताए । एउटा बल्बबाट करिब ३ केजी च्याउ उत्पादन हुने गर्छ ।  ‘च्याउ  निकालिसकेको बल्बको मल, माटो खन्याएर पुन पहिलकै जसरी नरिवलको जटाको धुलो, माटो र कुखुराको मल हालेर बल्ब बनाइन्छ,’ उनले भने,‘पहिलाको मल र माटो कृषिजन्य वस्तु उत्पादनका लागि मलको रुपमा बिक्री गर्ने  गरिएको छ ।’ 

15 crore investment in Gobre mushroom cultivation

यहाँ उत्पादन गरिएको च्याउ पुर्णरुपमा अर्गानिक हुने भएकाले माग अनुसार उत्पादन गर्न नसकिएको प्राविधिक खडकीले बताए । ‘यो च्याउ स्वास्थ्य वर्धक छ,’ उनले भने । 

च्याउमा विद्यावारिधी गरेका गण्डकी प्रदेशका विज्ञान प्रतिष्ठान पोखराका वैज्ञानिक डां शिव देवकोटाले च्याउमा पोषण तत्व, फाइवर र प्रोटिन पाईने बताए । च्याउ फार्ममा २० जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । 

प्रताप

Link copied successfully