दोलखा — जिल्लाको उत्तरी क्षेत्रको रोल्वालिङ सामुदायीक अस्पतालले पहिलोपटक हर्निया र हाइड्रोसिलका निःशुल्क शल्यक्रिया शुरु गरेको छ । उत्तरी क्षेत्रका दुर्गमका स्थानीयलाई सेवा दिन अस्पतालले तीन हप्तासम्म हर्निया र हाइड्रोसिलबाट पीडित बिरामीका लागि निःशुल्क सेवा शुरु गरेको हो ।
उपचार खर्च अभावमा रहेका यस्ता बिरामीका लागि अस्पतालले खानासहित सबै सेवा निःशुल्क गरेको अस्पतालका अध्यक्ष सुब्बा खड्काले बताए । दुर्गमका बिरामी उपचार खर्च नभएर रोग पालिरहेकालाई ३ हप्ताका लागि निःशुल्क सेवा दिइरहेका छौं,’ खड्काले भने, हालसम्म यस्ता ५ जना बिरामीको शल्यक्रिया भैसकेको छ, थप आउनलेलाई शुल्क लाग्ने छैन् ।’ यी रोगबाट पीडित बनेकाहरु उपचारका लागि चरिकोट वा राजधानी धाउनुपर्ने बाध्यतामा थिए ।
अस्पतालले यस्ता रोगका दुर्गमका बिरामीका लागि सेवा शुरु गरेपछि उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता हट्ने उनले बताए । दुर्गमबाट अस्पताल आउन नसक्ने बिरामीका लागि घरदैलो कार्यक्रम संचालन गरिरहेको उनले बताए । अस्पतालले बिरामीका लागि अन्य विशेषज्ञ सेवा पनि दिइरहेको छ । विषेशषज्ञसहितको निःशुल्क ओपीडी सेवा पनि शुरु गरेको उनले बताए ।
यस्तै, अस्पतालले आमा सुरक्षा कार्यक्रम लागु गरिएको छ । अस्पतालमा प्रसुतीका लागि पुगेकाहरुका निःशुल्क प्रसुति सेवा दिइरहेको छ । साथै, जटिल अवस्थाका प्रसुतिको सिजरिङ पनि अस्पतालले निःशुल्क गरेका उनल बताए । अभिभावकविहिन बालबालिकाको उपचार अस्पतालले निःशल्क गर्दै आएको छ । हाल अस्पतालले २ जना चिकित्सकबाट बिशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।
