चितवन — उप निर्वाचनका लागि चितवन–२ मा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले पनि सोमबार उम्मेद्वारी दर्ता गराएका छन् ।
नेपाल मजदुर किसान पार्टीले ज्ञानेन्द्र प्रजा चेपाङ र राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले उम्मेद्वारी दर्ता गराएका छन् ।
चितवन–२ मा मध्याह्नसम्म दलबाट तीन जना र स्वतन्त्रबाट दुई जना गरी पाँच जनाको उम्मेद्वारी दर्ता भएको छ ।
ज्ञानेन्द्र प्रजा चेपाङ, नेपाल मजदुर किसान पार्टी
नेपाली कांग्रेस र एमालेले दुई बजेपछि उम्मेद्वारी दर्ता गराउने कार्यक्रम छ ।
उपनिर्वाचनका लागि चितवन–२ मा रवि लामिछानेले मनोनयन दर्ता गराइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा यहीँबाट निर्वाचित भएका थिए । नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।
चितवन–२ मा पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र र यस आसपासका १० वटा वडाहरू रहेका छन् ।
चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा यो पटक एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।
