बैंकका कर्मचारीहरू चढेकाे माइक्राे बस दुर्घटना, १८ घाइते

श्रावण १६, २०७९

रमेशकुमार पौडेल

काठमाडौँ — चितवन-नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ भोर्लेमा सोमबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस सडकबाट ३० मिटर जति तल खसको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टका अनुसार दिउँसो ४ बजेतिर दुर्घटना भएको उक्त माइक्रो बस बाँसको झ्याङमा अड्केका कारण त्रिशुली नदीमा खस्नबाट जोगिएको थियो ।

उक्त माइक्रो बसमा मुक्तिनाथ विकास बैंकका कर्मचारीहरू चढेर धादिङ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully