चितवन — प्रायः चौबीसै घण्टा चुल्हो बलिरहने ठाउँ हो मुग्लिन बजार । काठमाडौं आउने–जाने यात्रुमध्ये यहाँका होटलमा खाना नखाएकाहरू कमै होलान् । तर लकडाउनले एक महिनायता यहाँ अगेनो सल्किएको छैन ।
होटलबाहिर लहरै बस अहिले देखिँदैनन् । अनि यात्रुलाई ‘आउनुस् हजुर, यता छ मीठो खाना अनि सफा ट्वाइलेट’ भन्दै बोलाउनेहरूको चहलपहल शून्य छ । बरु झुक्किएर पनि कुनै गाडी नरोकून् भनेर होटल सञ्चालकले नै छेकबार लगाएका छन् ।
‘अरू बेलाजस्तो होइन, रोगको महामारी हो । त्यसैले जोगिएरै बस्न खोजेको,’ रुप्से होटल सञ्चालक शर्मिला गौचनले भनिन् । सुरुमा त उनले कुरा गर्नै अप्ठेरो मानिन् । ‘चिनेका मान्छे थुप्रै छन् । एकाध त अहिले पनि यो बाटो हिँड्छन् । उनीहरुले फोनै गरेर लौन खाना बनाइ दिनुपर्यो भन्छन् । हामीले अहिलेलाई सरी भन्ने गरेका छौं,’ शर्मिलाले सुनाइन् ।
तर यसरी चुल्है नबालेर कति समय धान्ने भन्ने पिरलो पनि छ । भाडाका घरमा होटल चलाउनेहरू अझ बढी चिन्तामा छन् । थकाली धौलागिरि होटलका सञ्चालक सानु शेरचनका सासू–ससुराले वर्षौदेखि मुग्लिनमा होटल चलाउँदै आएका थिए । विदेश गएका पति फर्केपछि २०६१ सालमा उनीहरू आफैंले थकाली होटल खोले । ठाउँ फेर्दै गत कात्तिकदेखि नयाँ ठाउँमा होटल सुरु गरेका थिए । जसको भाडा मासिक ६५ हजार रुपैयाँ तिर्नुपर्छ ।
‘लकडाउन चैत ११ बाट सुरु भयो । भाइरस देखियो भनेपछि मान्छेहरू आउन कम त फागुनबाटै भएको थियो । हामी होटल चलाउनेहरू साह्रै मर्कामा छौं,’ सानुले भनिन् ।
लकडाउन खुले पनि होटल खोल्ने–नखोल्ने अन्योल छ । खाना खान जो पनि आउन सक्छन् । को संक्रमित छन्/छैनन् कसरी चिन्ने ? त्यसैले उनी तत्काल होटल खोल्ने सुरमा छैनन् । ‘घरभाडा लिन पाइन्न रे भन्ने नसुनेको होइन तर पक्का कुरा थाहा छैन । कामदार छन् । उनीहरूलाई खुवाउनु पर्यो, होटल चलेन भनेर तलबै नदिने कुरा पनि भएन । खै के कसरी चल्ने हो,’ उनले दिक्दारी सुनाइन् ।
मुग्लिनमा मुस्ताङका थकालीहरूले होटल राख्न सुरु गरेका हुन् । तर अहिले थकाली समुदायभन्दा अन्यका होटल धेरै छन् । तेजबहादुर शेरचन ‘थ्री सिस्टर होटल’ का सञ्चालक हुन् । उनले ०५७ सालमा सुरु गरेका हुन् । त्यसअघि मुस्ताङको थासाङ टिटी गाउँबाट आएर उनका बुबाआमाले ०४२ सालमै रचना होटल चलाउन थालिसकेका थिए । थकाली समुदायका होटल मुग्लिनमा त्यहाँभन्दा अघि पनि थिए । तेजबहादुरलाई थाहा भएअनुसार मुस्ताङ थाकखोलाबाट पोखरा, त्यहाँबाट जहाजमा भरतपुर अनि हेटौंडा हुँदै २६ सालमा मुग्लिन आएका सिद्धिप्रसाद शेरचन र पदमकुमारी शेरचनले होटल व्यवसाय सुरु गरेका थिए । त्यसयता एकपछि अर्को गर्दै थकाली समुदायका व्यक्ति मुग्लिन आउन थाले ।
तिनै पुरानामध्येको हो ‘आमा होटल’ । अहिले त्यो होटल ५७ वर्षीया नानीमाया गौचनले चलाउँछिन् । ‘खै कहिले खुलेको हो मिति त बिर्सें । आमाले खोलेको होटल हो । हामीले सम्झेअनुसार यो होटल खुल्दा मुग्लिन–नारायणगढ जाने बाटो नै खुलेको थिएन । नारायणगढतिरबाट मान्छे हिँड्दै आउँथे । पोखरा–काठमाडौं जानेहरू खाना खान यहीँ रोकिन्थे,’ उनले पुराना दिन सम्झिइन् ।
नानीमायाका अनुसार त्यति बेला मुग्लिनभरि खरका छाप्रामा २० वटाजति होटल थिए । नारायणगढ–मुग्लिन सडक बनेसँगै मान्छे थपिए । होटल बढे । मुग्लिन बजारको रूप–रंग नै फेरियो । ‘तर अहिलेजस्तो संकट कहिल्यै आएको थिएन । संकटकालमा राति बन्द गर्नुपर्थ्यो । जनआन्दोलनका बेला पनि दुःख नभएको हैन । भूकम्पमा पनि संकट नै थियो । तर यस्तो थिएन,’ उनले भनिन् ।
थकाली खानाको स्वादसँगै मुग्लिनमा शाकाहारी होटल र मिठाई पसल पनि खुल्न सुरु भए । भारत, मोतीहारीका अजय गुप्ताले नारायण बिकानेरी मारवाडी भोजनालय खोलेको ३५ वर्ष भयो । चितवन होटल संघ मुग्लिन इकाइका अध्यक्ष नारायणप्रसाद पाण्डे मुग्लिनमा चिया पसलसमेत जोड्दा १ सय ८० भन्दा धेरै होटल रहेको बताउँछन् । खाना खुवाउने होटल ८० वटा छन् । थकालीका होटल २० वटा हाराहारी छन् ।
यी सबै होटल यात्रुकै भरमा टिकेका थिए । ‘अब यात्रु नै छैनन्, हाम्रो व्यवसाय के भएको होला ? तपाईं अन्दाज लगाउनुस्,’ पाण्डेले भने । होटल बढेसँगै मुग्लिनआसपासका गाउँमा तरकारी र दूध व्यवसाय फस्टायो । तामिन, लामिडाँडा, नेवारे, पामडाँडामा तरकारी खेती मौलाउँदै गयो । मुग्लिनले यी गाउँलाई पनि उकास्यो ।
गोविन्द साहले मुग्लिन बजारमा तरकारी पसल खोलेको ३२ वर्ष भयो । उनी दिनकै १०/१२ क्विन्टल तरकारी बिक्री गर्दथे । ‘अहिले एक क्विन्टल बिक्री हुन पनि गाह्रो भयो,’ उनले भने । तरकारी गाउँमै सड्न थालेको छ । मुग्लिनमा चुल्हो निभ्दाको असर वरपरका गाउँमा पनि परेको स्थानीय रोहिणी त्रिपाठीले सुनाए ।
‘होटल व्यवसायकै कारण मुग्लिन चम्किएको हो । अहिले ठप्प हुँदा मुग्लिन र वरपरका क्षेत्रको चमक हराएको छ,’ इकाइ अध्यक्ष पाण्डेले भने, ‘यो संकटले ठूलो मार पार्छ तर यसबाट जोगिन के योजना ल्याउने, सोच्नै सकिएको छैन ।’
