घाँसको लोभमा वनमा सल्काउँछन् आगो
सिन्धुली — गर्मी र हावाहुरीको मौसमसँगै सदरमुकाम सिन्धुलीमाढीका सामुदायिक वनमा व्यापक डढेलो लागेको छ । सामुदायिक वनहरूमा लागेको डढेलोका कारण संरक्षित वन नष्ट हुने तथा नजिक रहेका घरगोठमा क्षति हुने भन्दै स्थानीय त्रसित छन् ।
सदरमुकामको च्याउकोट, कमलामाइ, कोप्चेखोला लगायत दर्जनौं सामुदायिक वन समूहमा लागेको डढेलो शनिबार बिहानसम्म निभेको छैन । घासको लोभमा गोठाला तथा घाँसीहरूले आगो सल्काइदिने भएकाले स्थानीयले नियन्त्रणका लागि खासै प्रयास गर्दैनन् । घर तथा बस्तीमा आगलागी भएमा मात्र निभाउने प्रयास हुने गरेको छ ।
च्याउकोट सामुदायिक वनको देउराली संरक्षित साल जंगलमा लागेको डढेलोको केही भाग भने शुक्रबार नगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको छ । स्थानीय, प्रहरी र वारुणयन्त्रका कर्मचारी मिलेर डढेलो नियन्त्रणमा लिएका थिए तर राति फेरि सल्किएको छ । सोही वनको बाघचाल, च्याउकोट, कात्तिके लगायतका स्थानमा भने डढेलो लागिरहेको छ । डढेलोले संरक्षित साल तथा अन्यजातका रुख, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने वन कार्यालयले जनाएको छ ।
जिल्लाको चुरे क्षेत्र र महाभारत क्षेत्रमा समेत भररात जंगलमा ढढेलो लागेको प्रष्टै देखिन्छ । डढेलोका कारण महाभारत क्षेत्रमा पाइने जडिबुटी समेत नष्ट भएको छ । डढेलो नियन्त्रणका लागि लाखौं बजेट जिल्लाका दुइवटा वन डिभिजन कार्यालयमा आउँछ, तर त्यो तालिम र गोष्ठीमै सीमित छ । वन कार्यालयका कर्मचारी र उपभोक्ता मिलेर ९० प्रतिशत डढेलो नियन्त्रणमा लिएको सिन्धुली वन डिभिजन प्रमुख नारायण श्रेष्ठले दाबी गरे ।
सिन्धुली नेपालकै साल जातको रुख प्रशस्त भएको जिल्लामा पर्छ । जिल्लाको ९ वटा स्थानीय तहमध्ये कमलामाइ र दुधौली नगरपालिका, मरिण र हरिहरपुरगढी गाउँपालिकामा चुरे क्षेत्रको जंगल पर्दछ । सिन्धुलीमा हालसम्म पाँचसय पाँचवटा सामुदायिक वन समूह रहेका छन् । एकलाख ५० हजार हेक्टर जंगल उपभोक्तालाई संरक्षणको जिम्मा दिइएको छ ।
