उपचार कोषमा निजी क्षेत्रबाट ५० लाख सहयोग

चैत्र १९, २०७६

सुवास विडारी

मकवानपुर — वागमती प्रदेश सरकारले कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा निजीक्षेत्रबाट बुधबारसम्ममा करिब ५० लाख रुपैयाँ संकलन भएको छ । 

प्रदेश सरकारले स्थापना गरेको कोषमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मुख्यमन्त्री डोरमणि  पौडेलकै निवासमा पुगेर उपचार कोषमा रकम उपलब्ध गराइरहेका छन् । बुधबार कुमारी बैंक कृषि विकास बैंकले सहयोग रकम उपलब्ध गराएका छन् । 


प्रदेशका मुख्यमन्त्री पौडेल समक्ष बैंकका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । कुमारी बैंकका हेटौंडा शाखा प्रमुख कृष्णप्रसाद शर्माको टोलीले १० लाख सहयोग हस्तान्तरण गरेका हुन् भने कृषि बिकास बैंकका तर्फबाट प्रदेश कार्यलयका निर्देशक जगदिश्वर पन्थीको टोलीले  पाँचलाख सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।  


यसअघि सिद्दार्थ बैंकले दशलाख, सिटिजन्स बैंकले सातलाख, नेपाल बैंकले पाँचलाख सहयोग रकम हस्तान्तरण गरीसकेका छन । यस्तै गोर्खा लाहरीले दशलाख तथा खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाले तीनलाख रुपैयाँ सहयोग गरीसकेका छन् । विभिन्न क्षेत्रको सहयोग आउनेक्रम जारी रहेको भन्दै मुख्यमन्त्री पौडेलले सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।


यस कोषमा प्रदेश सरकारले यसअघि नै ५० करोड रुपैयाँ जम्मा गरिसकेको छ । ‘निजी क्षेत्र तथा व्यक्तिगतरुपमा सहयोग आउने क्रम जारी रहेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा हामी खर्च गर्नेछौं,’ मुख्यमन्त्री पौडेलले भने । उनका अनुसार कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश सरकारले आवश्यक तयारी र जनशक्ति व्यवस्थापन गरिसकिएको छ । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully