सिन्धुपाल्चोक — ऐतिहासिक नगरी त्रिपुरासुन्दरी गाउँपालिकाको भव्य तौथली बजार वृद्धवृद्धादेखि युवा जमात ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकअर्कालाई छ्यापाछ्याप गर्नमा रमाइरहे । ‘जय जय ओम महादेवी’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ वटा परम्परागत लिंगोमा पूजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुन्छ ।
हजारौं संख्यामा जम्मा भएका सबै बुधबार रमाइलोमा डुबेर बजारभर दही छ्याप्दै नाच्दै गाउनमा मस्त देखिए । फेरि के थियो र जात्रा त्रिपुरासुन्दरी मन्दिरअगाडि पुगेर झनै ठूलो भयो । दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरबार, खाडो, खुकुरी देखाएर नृत्य निकालियो । अनार्यकालीन मानिने ‘ललिता त्रिपुरासुन्दरी महादेवी’को मन्दिरमा जात्रा पुग्दा बाटो र छतभर हेर्नदेखि दही खुवाउने सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो ।
अब लाग्थ्यो दहीको छिटा नपरेको र दही नखाने मान्छे नै तौथलीमा थिएन । ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी) ले महिषासुरको बध गरेको खुसियालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,’ त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका अध्यक्ष विष्णुभक्त श्रेष्ठले भने । विष्णुका पूर्ण अवतार कृष्णाले होलिकालाई बध गरेर ‘होली पूर्णिमा’ मनाइएझै यहाँ महिषासुरको अन्त्य भएको हर्षबढाई मनाइएको उनले
उदाहरण दिए ।
दही छ्याप्ने जात्रापछि महादेवीलाई जगाउन ६ वटा लिंगो नचाउँदै तरबार, खाडो, खुकुरी देखाउँदै जम्मा भएका श्रद्धालु नृत्य गर्छन् । गुठियार, स्थानीयले भैंसी–गाई नथाकोस् र सप्रिँदै जाने कामनामा यसरी दही ल्याएर चढाउँदै आएका छन् । ‘खासमा दही प्रसादका रूपमा बाडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापा छ्याप गरिन्छ,’ उनले भने । वडाबाट ३ लाख बजेट विनियोजन गरेर जात्रालाई सहजीकरण र मन्दिरको धार्मिक पुरातात्विक महत्त्वको प्रचार गर्न आफैं जुटिरहेको उनले जनाए ।
हालै भूकम्पले भत्काएपछि टहराको मन्दिर बनाएर महादेवीको मूर्ति, गरगहना सुरक्षित राखिएको छ । आहिले पुरातत्त्व विभागले प्राचीन ललिता त्रिपुरासुन्दरी महादेवीको मन्दिरको संरचना बनाइरहेको छ ।
