भरतपुरमा चक्रपथ बन्दै

असार ३०, २०७५

रमेशकुमार पौडेल

भरतपुर — भरतपुर महानगरपालिकाको चक्रपथ (रिङ रोड) र सहायक मार्गहरू (लिंक रोड) को शुक्रबार शिलान्यास गरिएको छ । पूर्वप्रधानमन्त्री तथा चितवन ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले झन्डै २ अर्ब रुपैयाँमा बन्ने चक्रपथ तथा सहायक मार्गको शुक्रबार शिलान्यास गरेका हुन् ।

सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत रिङ रोड, लिंक रोड र ढल निर्माण गर्न लागिएको हो । पूर्वप्रधानमन्त्री दाहालले भरतपुरको पहिटानीमा पहिलो खण्डको र नारायणगढमा दोस्रो खण्डको शिलान्यास गरेका हुन् । दुवै खण्डको काम दुई वर्षमा सकिने सहरी विकास तथा भवन निर्माण विभाग भरतपुर डिभिजन कार्यालयका प्रमुख कुमारप्रसाद घिमिरेले बताए ।

दुवै खण्डमा गरेर ६० किलोमिटर सडक निर्माण हुने घिमिरेले जनाए । उनका अनुसार रिङ रोड र लिंक रोड दुवैमा ७ मटिर चौडा कालोपत्रे हुनेछ । त्योभन्दा बाहिर सडकको दुवैतर्फ कालोपत्रे नगरेको डेढ/डेढ मिटर किनार हुनेछ । ‘रिङ रोड र लिंक रोडको चौडाइ बढाउँदै लैजान नसकिने हैन तर तत्कालका लागि १० मिटर फराकिलो हुनेछ,’ घिमिरेले भने ।

भरतपुरको गोन्द्राङ बरन्डाभार क्षेत्रबाट निर्माण सुरु हुने रिङ रोड भरतपुर महानगरको पश्चिमी क्षेत्र मेघौली हुँदै नारायणगढ पुर्‍याइनेछ । चक्रपथको कुल दूरी करिब ९५ किलोमिटर हुने भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले बताइन् । तर यो अहिलेको ठेक्कामा चक्रपथको काम निकै कम मात्रामा हुनेछ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख घिमिरेका अनुसार अहिलेको ठेक्कामा चक्रपथको साढे ८ किलोमिटर मात्रै निर्माण हुनेछ । गोन्द्राङबाट रिङ रोडको धेरै भाग राप्ती नदीको किनारै किनार बन्नेछ । त्यसै गरी मेघौलीदेखि नारायणी नदी किनार हुँदै नारायणगढसम्म निर्माण गरिने घिमिरेले बताए ।

शिलान्यास समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले रिङ रोड निर्माणसँगै पर्यटकीय महत्त्वको हुने बताए । उनले भने, ‘चितवन निकुञ्ज, राप्ती र नारायणी नदी हुँदै अगाडि बढ्ने रिङ रोड पर्यटकीय महत्त्वको पनि हुनेछ ।’ रिङ रोडसँग जोडेर नहर बनाउने र त्यहाँ डुंगा सयर गर्ने व्यवस्था मिलाउन सकिने उनको धारणा छ ।

कार्यक्रममा बोल्दै दाहालले पूर्वप्रधानमन्त्रीको क्षेत्रमा राजनैतिक पहुँचका आधारमा बजेट विनियोजन गरिएको टीकाटिप्पणीमा कुनै सत्यता नभएको बताए । ‘यो आजको योजना हैन । बजेट तत्कालै सारेर यता पारेको पनि हैन । यसअघिको सरकारका सहरी विकासमन्त्री प्रभु साहकै पालामा स्वीकृत भएको बजेट र योजना हो यो,’ नेता दाहालले भने । भरतपुर महानगरको २९ वडामध्ये १९ दाहालको निर्वाचन क्षेत्रमा पर्छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully