पोखरामा दैनिक ५० हजार किलो कुखुरा, ३ सय खसीबोका र ६० भैंसी–राँगो काटिने भए पनि सहरमा वधशाला छैन । पोखरामा निजी कम्पनीका ५० भन्दा बढी वधस्थल छन् जसले गर्दा कुखुराको वध गर्न भने समस्या छैन ।
What you should know
कास्की — मासु व्यवसायी संघ कास्कीका अनुसार पोखरामा दैनिक करिब ५० हजार किलो कुखुराको मासु खपत हुन्छ । दैनिक कम्तीमा ३ सय जति खसीबोका र ६० वटा भैंसी–राँगो काटिन्छन् । यति ठूलो संख्यामा पशुको वध र मासुको कारोबार हुने सहरमा वधशाला छैन । पोखरामा निजी कम्पनीका ५० भन्दा बढी वधस्थल छन् जसले गर्दा कुखुराको वध गर्न समस्या छैन । तर, व्यवस्थित वधशाला नहुँदा खसी–बोका, राँगो–भैंसीसहित अन्य पशुको काटमार र मासु तयार पार्न निकै झन्झट रहेको मासु व्यवसायी संघ कास्कीका अध्यक्ष लोकराज शर्मा बताउँछन् ।
उनकाअनुसार व्यवसायीले आफ्नै ढंगले वध र बिक्री गर्नुपर्ने बाध्यता छ । ‘कुखुराका लागि आत्तिहाल्न पर्ने अवस्था थिएन । एउटा राम्रो वधशाला भए ठाउँठाउँमा काट्नपर्ने समस्या हट्थ्यो,’ उनले थपे, ‘खसी–बोका, भैंसी–राँगोको मासु तयार पार्ने काम झनै विकराल छ ।’ भैंसी–राँगाको मासु खोलाको छेउछाउ पुगेर काट्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
पोखरामा वधशाला निर्माणको योजना नबनाइएको भने होइन । यो योजना सात वर्षदेखि अलपत्र छ । अत्याधुनिक पशु वधशाला निर्माण गर्ने गरी ०७६ वैशाखमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाबीच लागत साझेदारीको सम्झौता भएको थियो । वधशाला निर्माणका लागि महानगरले आवश्यक जग्गा व्यवस्था गर्ने, डीपीआर तयार पार्ने, उपकरणसहित आवश्यक पूर्वाधार खरिद र निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । प्रदेश सरकारले आवश्यक अनुगमन गर्ने र सुझाव दिने सम्झौता भएपनि कुनै प्रगति हुन सकेन ।
पहिलो चरणमा १० करोड लागतमा एकैदिन ५ सय खसीबोका वध गर्न मिल्ने वधशाला बनाउने महानगरको योजना थियो । वधशाला निर्माण गर्न पोखरा–२१ दोबिल्लाको १ सय २७ रोपनी सरकारी जग्गा उपयुक्त हुने निष्कर्ष महानगरपालिकाको थियो । उक्त ठाउँमा दाहसंस्कार स्थल (घाट) रहेको भन्दै स्थानीयले वधशाला बनाउने निर्णयमा विरोध जनाए ।
स्थानीयले त्योबेला उक्त स्थानमा करिब ३ सय बिरुवा रोपेर वधशाला बनाउने निर्णयको विरोध गरेका थिए । पोखराका तत्कालीन मेयर मानबहादुर जिसीले दाहसंस्कार गर्न चाहिने पर्याप्त जग्गा छोडेर वधशाला बनाउने प्रतिबद्धता जनाए । तर, स्थानीयले मानेनन् । पछि कोभिड–१९ ले लकडाउन भयो । कोभिडपछि पोखराका तत्कालीन मेयर मानबहादुर जिसी बिमार परे । यसपछि वधशाला निर्माणको विषय अघि बढ्न सकेन ।
महानगरपालिकाले वधशाला निर्माणका लागि गत वर्ष चैतमा सार्वजनिक–निजी साझेदारीका लागि सूचना प्रकाशन गरेर प्रस्ताव आव्हान गरेको थियो । दुईपटक सूचना प्रकाशन गर्दा पनि कसैले इच्छा नदेखाएपछि वधशाला निर्माणको योजना फेरि अलपत्र परेको छ ।
वधशाला निर्माणमा कसैले पनि चासो नदिएपछि महानगरपालिकाले निजी फर्मले सञ्चालन गरिरहेको वधस्थललाई प्रयोग गर्न सकिने गरी सहकार्यको प्रस्ताव गरेको थियो । ती फर्मले प्रदेश सरकारबाट पनि अनुदान लिइरहेकाले त्यो योजना पनि सफल हुन नसकेको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख पवन पाण्डेले बताए ।
‘स्वच्छ मासु कसरी वितरण गर्ने भन्ने कुरा हो । वधशालामा कसैले प्रस्ताव पेस नगरेपछि हामीले पोखराका २/३ वटा ठूला फर्मको वधस्थल हेरेका थियौं,’ उनले भने, ‘उहाँहरूले प्रदेश सरकारबाट अनुदान लिइरहेकाले त्यो पनि मिलेन ।’ गत आर्थिक वर्ष २०८१–८२ को वार्षिक समीक्षाको क्रममा यो विषय मेयरसमक्ष राख्ने उनले बताए ।
