चितवनमा यसपटक जापनिज इन्सेफलाइटिस (जेई) संक्रमण बढेको छ । साउन १ देखि भदौ १० सम्म १४ जनामा पुष्टि हुँदा चार जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
What you should know
चितवन — लामखुट्टेका कारण हुने मलेरिया (औलो) रोग नियन्त्रणमा लिएपछि आधुनिक बस्ती विकास फस्टाएको चितवनमा अहिले पनि लामखुट्टेको टोकाइका कारण फैलने अन्य रोगले बेलाबेला निकै सताउँछ । लामखुट्टेका कारण हुने डेंगी रोगको मुख्य केन्द्र चितवनलाई पछिल्लो समय जापनिज इन्सेफलाइटिस (जेई) नामक संक्रामक रोगले दुख दिन सुरु गरेको छ । ‘जेई’ ‘क्यूलेक्स’ प्रजातिको संक्रमित लामखुट्टेको टोकाइले हुन्छ ।
विसं २०१४ सालमा लमजुङबाट परिवारसँगै बसाइँ सरेर चितवन आएकी महिला अहिले ७८ वर्षकी भइन् । त्यो बेला चितवनमा मलेरिया नियन्त्रणमा आएर भर्खर बस्ती बिस्तार सुरु भइरहेको थियो । गएको साउन २८ गते उनलाई पखाला लाग्यो । भोलिपल्ट बान्ता हुन थाल्यो । छोराहरूले नजिकैको मेडिकलमा गएर आमाका लागि औषधि मागे । मेडिकल सञ्चालकले आमालाई नै ल्याउन अह्राए । छोराहरू आत्तिँदै आमालाई लिएर गए । आमालाई देख्नासाथ मेडिकल सञ्चालकले तुरुन्त अस्पताल लैजान सुझाए ।
साउन २९ गते साँझ ती वृद्धालाई भरतपुरको सरकारी अस्पतालको आकस्मिक कक्षमा राखियो । अवस्था झनै कमजोर हुँदै गएपछि साउन ३० गते सघन उपचार कक्ष (आईसीयु)मा राखेर उपचार सुरु भयो । भदौ २ गते रगतको नमुना झिकेर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाइयो । अस्पतालमा सँगै रहेका कान्छा छोराका अनुसार आमालाई जेई भएको परीक्षणबाट पुष्टि भएको जानकारी भदौ ९ गते आएको छ । लामखुट्टेको डर हुँदाका बखत चितवन झरेकी उनलाई कुनै रोगले खासै समाएको थिएन । जीवनको उत्तरार्द्धमा उनलाई लामखुट्टेकै टोकाइले हुने संक्रामक ‘जेई’ भएपछि उनी अझै केही दिन उपचारमै रहनेछिन् ।
चितवनमा यो पटक ‘जेई’ संक्रमण बढेको छ । जनस्वास्थ्य कार्यालयका भेक्टर (किटजन्य रोग) कन्ट्रोल निरीक्षक राम केसीका अनुसार गत साउन १ देखि भदौ १० सम्म १४ जनामा जेई संक्रमण पुष्टि भएको छ । जसमध्ये चार जनाको निधन भएको केसीले जानकारी दिए ।
साउन २३ यता जेई संक्रमण देखिन सुरु भएको उनले बताए । गत आर्थिक वर्षमा जम्मा तीन जनामा जेई संक्रमण भएको थियो । त्यसअघि आर्थिक वर्ष ०७९/८० मा ९ जनालाई जेई भएको थियो । ०८०/८१ मा जेई संक्रमणको तथ्यांक देखिँदैन । ‘पश्चिम तराईको ठूलो समस्या मानिने जेईले यो पटक चितवनलाई सताएको छ । मृत्यु हुनेमा धेरै जना चितवनका छन्,’ भेक्टर कन्ट्रोल निरीक्षक केसीले भने । ५०/६० वर्षअघि चितवनमा भयावह मानिने औलो अर्थात् मलेरिया ५० को दशकतिर वर्षमा ४/५ सय जनामा देखिन्थ्यो । पछिल्ला वर्षमा औलो १० जनामा समिति भएको छ । ‘पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा ०७७/७८ मा एक जना त्यसपछि ९ जना र ०७९/८० मा १० जनामा औलो भेटिएको थियो,’ भेक्टर कन्ट्रोल निरीक्षक केसीले भने । औलो अर्थात् मलेरिया चितवनमै संक्रमित भएको भन्दा पनि कामका सिलसिलामा भारत गएर फर्केकाहरूमा देखा परेको उनले बताए ।
तर जेई चितवनमै संक्रमित लामखुट्टेको टोकाइका कारण भएको केसी बताउँछन् । जेईभन्दा अघि सन् २००४ मा देशमै पहिलो पटक चितवनमा डेंगी संक्रमित भेटिएका थिए । सन् २०१० देखि चितवनमा तीन वर्षको अन्तरालमा डेंगीले महामारीकै रूप लिने गरेको छ । डेंगीपछि चितवनमा स्क्रब टाइफस नामक नयाँ संक्रमक रोगको जोखिम बढ्न सुरु भयो । टाइफस मुसामा हुने साना भुसुना वा किर्नाको टोकाइले हुन्छ ।
लामखुट्टेदेखि भुसुनासम्मले सताउँदै
सहायक निरीक्षकमा २०५२ सालमा चितवनबाटै जागिर सुरु गरेका केसी २०६४ देखि निरीक्षक भए । जागिरे जीवनको बीचका दुई वर्षबाहेक उनी चितवनमै कार्यरत छन् । चितवनमा औलो, डेंगी, स्क्रब टाइफस र जापनिज इन्सेफलाइटिस गराउने लामखुट्टे, भुसुनाहरू जुन तहमा बढेका छन् त्यहीँ अनुसार रोगबाट जोगिन मान्छेको स्वभाव नबदलिएको उनको अनुभव छ ।
मलेरिया, डेंगी र जापनिज इन्सेफलाइटिस गराउने लामखुट्टे फरक–फरक प्रजातिका हुन् । रोग लगाउन सक्ने भाइरसबाट संक्रमित भएका ती प्रजातिका पोथी लामखुट्टेले मान्छेलाई टोके मान्छेमा पनि रोगको संक्रमण हुन्छ । ‘त्यसैले यस्ता रोगबाट जोगिनु भनेको लामखुट्टे उत्पन्न हुन र बढ्न फैलन नदिनु हो । लामखुट्टेको टोकाइबाट जोगिनु हो । यो काम व्यक्ति, परिवार र समुदायले नै गर्न सक्छ,’ केसी भन्छन् ।
स्क्रब टाइफस रोग मुसामा लाग्ने अति सानो किर्ना जस्तो देखिने परजीवी भुसुनाको टोकाइले हुन्छ । चितवनमा पहिला पनि संक्रमितहरु देखिएका थिए तर उनीहरू कहाँबाट संक्रमित भए भन्ने यकिन थिएन । २०७२ सालमा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयले एक अध्ययन गरेका थिए । ‘संयुक्त रुपमा भएको सो अध्ययनले मुसासमेतको रगतको नमुना लिएर परीक्षण गरेको थियो । त्यसपछि स्क्रब चितवनमै रहेको पुष्टि भएको हो,’ केसीले भने ।
आर्थिक वर्ष ०७८/७९ मा २ सय ६८, ०७९/८० मा ५ सय ३, ०८०/८१ मा ५ सय ५२ जनामा स्क्रब टाइफस संक्रमण भेटियो । गत आर्थिक वर्षमा ४ सय ९६ जनामा संक्रमण हुँदा एक जनाको निधन भयो । त्यसअघिका तीन आर्थिक वर्षमा मृत्युको घटना भएको थिएन ।
सन् २००४ मा चितवनमा पहिलो पटक देखिएको डेंगी सन् २००९ सम्म फाट्टफुट्ट रहेको केसीले बताए । सन् २०१० मा ७ सय ४५ जनामा डेंगी देखा परेर महामारीको रूप लियो । कुनै वर्ष सुस्ताउने गरेको डेंगीले तीन वर्षको अन्तरालमा निकै नै सताउने गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा चितवनका सर्वाधिक ४ हजार ८ सय ३ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । गत वर्ष पनि चितवनको पहाडी क्षेत्र इच्छाकामनामा डेंगी फैलियो । गत वर्ष चितवनका मात्रै ३ हजार २० जनामा डेंगी संक्रमणको पुष्टि भएको केसीले जानकारी दिए । हजारौंलाई लाग्ने डेंगी, सयौंमा देखिँदै आएको स्क्रब टाइफससँगै चितवनमा जापनिज इन्सेफलाइटिसको संक्रमण पनि सुरु भएको छ । डेंगी र स्क्रब टाइफसको तुलनामा जापानी इन्सेफलाइटिस निकै थोरै जना संक्रमति भए पनि यो झनै खतरनाक छ । किनकि जेई संक्रमितमध्ये ३० प्रतिशतसम्मको निधन हुने गर्छ ।
नबदलिएको मानवीय स्वभाव
स्क्रब टाइफसबाहेक अन्य रोग लामखुट्टेका कारणले हुने गरे पनि यी सबै रोगहरूको लक्षण र जोगिने उपाय धेरै हदसम्म मिल्दोजुल्दो छ । घर आँगन, टोल छिमेकमा सरसफाइ भए मुसा, लामखुट्टे हुर्कन, बढ्न पाउँदैनन् । जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रुपाखेती चितवनमा रोगबाट बच्ने सावधानी अपनाउने पनि कम नभए पनि भूगोल र हावापानी लामखुट्टेका लागि अनुकूल हुँदा समस्या दोहोरिइरहेको उनको तर्क छ । ‘लामखुट्टेबाट जोगिन, मुसाबाट जोगिन आर्थिक अवस्था राम्रो भएकाहरूले घर पनि त्यही अनुसार बनाएका हुन्छन् । तर ग्रामीण क्षेत्रमा सबै कुरा व्यवस्थापन नभएको पाइन्छ,’ रुपाखेतीले भने । विगतको इतिहास, अन्य जिल्लामा नहुँदा पनि यहाँ संक्रमित भेटिइरहने जस्ता कुराले चितवन किटजन्य रोगको उच्च जोखिममा रहेको जिल्लाभित्र पर्ने हुँदा समुदायले पनि सोही अनुरूपको सचेतना अपनाउनुपर्ने उनले बताए । ‘किटजन्य रोगहरूको जोखिम गाउँतिर बढी हुन्छ । त्यसमध्ये डेंगीको प्रकोप सहरतिर छ । स्थानीयलाई यस्ता संक्रमणबाट कसरी जोगिने भन्ने थाहा भए पनि सावधानी अपनाउन नखोजेको जस्तो पनि देखिन्छ,’ रुपाखेतीले भने । मुसाका भुसुना र लामखुट्टेबाट जोगिन लामा बाहुला भएका कपडा लगाउने, डेंगी गराउने लामखुट्टे कालोमा आकर्षित हुने हुँदा यस्ता रंगका कपडा नलगाउने गर्नु पर्ने उनको सुझाव छ ।
बर्खा लागेपछि कात्तिकसम्म किटजन्य रोगले सताउँछ । यस्तो बेलामा नीति निर्मातादेखि सर्वसाधारणसम्म सजग भए रोगले महामारीको रूप लिन सक्दैन । यी सबै खाले किटजन्य रोगको साझा लक्षण हो उच्च ज्वरो आउनु । ‘किटजन्य रोग हुने समयमा ज्वरो आए कम्तीमा आफूखुसी औषधि नखाने, मान्यता प्राप्त स्वास्थ्य निकायमा गएर चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्शमा स्वास्थ्य सेवा लिने बानी गरौं,’ केसीले अपिल गरे ।
यसो गरे संक्रमण भएको रहेछ भने पनि समयमै उचित परीक्षण र उपचार सेवा लिन सकिने केसी बताउँछन् । समयमा उपचार पाए राम्रोसँग निको हुन सक्छ । डेंगी र जेईको उपचारमा लापरबाही या विलम्ब गरे अन्य शारीरिक समस्या र मृत्युसम्मको जोखिम हुने केसी बताउँछन् । त्यसैले किटजन्य रोगको संक्रमण र संक्रमणपछिको जटिलताबाट जोगिन धेरै सजगता अपनाउनुपर्ने उनले बताए ।
