पर्यटकको संख्या बढ्दै जाँदा पछिल्लो समय तारे होटल थपिँदै गए पनि साँझ पर्दै नेपालगन्ज बजारको भीड घटिसकेको हुन्छ ।
What you should know
नेपालगन्ज — लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २५ जिल्लाको मुख्य प्रवेशद्वारका रुपमा रहेको पश्चिम नेपालको ‘गेटवे’ सहर नेपालगन्जमा छिमेकी मुलुक भारतबाट समेत हजारौं पर्यटक आउने गर्छन् । पर्यटकको संख्या बढ्दै जाँदा पछिल्लो समय तारे होटल थपिँदै गए पनि साँझ पर्दै बजारको भीड घटिसकेको हुन्छ ।
नेपालगन्जको रात्रिकालीन बजार चलायमान बनाउन यहाँका व्यवसायीले प्रयास पनि नलागेका होइनन् । डेढ दशकअघि ‘स्ट्रिट फुड लेन’ लाई मध्यनजर गर्दै राति ११ बजेसम्म बजार खुल्ने भएको थियो । तर यसको निरन्तरता हुन सकेन ।
शान्ति सुरक्षामा असर नपर्ने गरी रैथाने परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘स्ट्रिट फुड लेन’ राति ११ बजेसम्म बजार खुल्न दिने सहमति भएको थियो । तर त्यो पनि केही समयका लागि मात्र भयो । रातिमा बजार खोल्ने अभ्यास नहुँदा रात्रिकालीन बजार सञ्चालनमा आउन सकेन । अचेल बजार ९ बजेतिर बन्द हुन थाल्छ । सीमावर्ती देशबाट ग्राहक आउँदा क्यासिनोबाहेक अन्य सबै व्यवसाय भने बन्द हुन्छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष श्रीराम सिग्देलले भने,‘रात्रिकालीन बजारबाट पर्यटन पूर्वाधार विकाससहित न्यूनतम आवश्यकता पूरा गर्न जरुरी छ । रातिमा फुड लेन मात्र सञ्चालन गर्न सकियो भने पनि नेपालगन्जमा रौनक थपिने छ ।’ उनका अनुसार स्थानीय स्वादलाई एकीकृत ढंगले ‘ब्रान्डिङ र प्रमोसन’ गर्न आवश्यक छ ।
बाँके उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाट विभिन्न चरणमा रात्रिकालीन बजार व्यवस्थापनका प्रयास भएको भन्दै हरेक व्यवसायी, पेशाकर्मीले गुणस्तरमा जोड दिनुपर्ने बताए । ‘स्थानीय पालिकाबाट वार्षिक नीति तथा कार्यक्रम ल्याएर नै रात्रिकालीन बजारको चलाउन अगुवाई हुनुपर्छ । सहरी क्षेत्रका सेवामूलक उद्योगहरुले अब प्याकेज चलाउन जरुरी छ,’ उनले भने, ‘बजार सञ्चालनमा आएपछि सुरक्षाको पनि ग्यारेन्टी गर्नुपर्छ ।’ उनले सुरक्षाको मापदण्ड पूरा गरेर रात्रिकालीन बजार चलाउन सम्भव भएको बताए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले रात्रिकालीन बजारको विषयमा सरकार गम्भीर भएर योजना अघि बढाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अनुसार २४ सै घन्टा अत्यावश्यक सेवा प्रवाह हुने गरी सरकारबाट पहल जरुरी रहेको उनले बताए ।
