रात्रिबजार भनेको रेस्टुरा, बार र क्याफे खोल्ने कुरा मात्र होइन, यो सहरको समग्र आर्थिक इन्जिन पनि हो । रात्रिबजारले होटल व्यवसाय, चिया पसल, सुरक्षागार्ड, क्लिनिङ सेवा, ट्याक्सी सेवालगायतका क्षेत्रमा रोजगारी सिर्जना गर्छ ।
What you should know
विराटनगर — पूर्वी नेपालका प्रमुख सहर विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोड । जो दिनभर व्यस्त, चलायमान र हतारोमा देखिन्छन् । तर, साँझ ढल्कन नपाउँदै यी सहरहरू थकित यात्रुझैँ सुस्ताउँदै जान्छन् ।
साँझ ६ बज्न नपाउँदै बजार क्षेत्र सुनसान भएर पसलका सटर धमाधम झर्न थाल्छन् । विराटनगर र धरानका डान्स बारहरु भने १२ बजेसम्म सञ्चालन गर्ने गरी स्थानीय प्रशासनले इजाजत दिएको छ, तर अन्य व्यापार व्यवसाय चाँडै बन्द हुन्छ । ‘रातभरि पसल खुलोस्, ग्राहकको भीड होस्, भ्याइनभ्याइ होस् जस्तो लाग्छ,’ विराटनगरको व्यस्त बजार जलजला मोडका व्यापारी शत्रुधन साहले भने, ‘तर, राति पसल खोलेर मात्रै नहुने रैछ, ग्राहक पनि आउनु पर्ला ।’
यो सीमावर्ती सहरको सिंगो बजार विगतजस्तो गुल्जार छैन । पाँच किलोमिटर नजिकै भारतीय बजार जोगबनी छ, जहाँ यताभन्दा उता अधिकांश सामान सस्तोमा पाइन्छ । ग्राहकको भीड उतै ओइरिन्छ । ‘दिनमा त व्यापार चल्न गाह्रो छ, रातमा झन् के चल्थ्यो होला र ?’ ट्राफिक चोकका कपडा व्यापारी रामप्रिय यादवले गुनासो गरे ।
नजिकै भारतको सिलिगुडीलगायतका सहर रातभर गुल्जार बन्छन्, जसले त्यहाँको सिंगो अर्थतन्त्रलाई चलायमान बनाएको छ । तर वारि नेपालका सहरहरुमा भने रात्रिकालीन बजारको खासै चलन छैन, जसले स्थानीय अर्थतन्त्रलाई शिथिल बनाउँदै लगेको व्यवसायी महेश जाजुले बताए । उनका अनुसार रात्रिकालीन बजार चल्न सके अर्थतन्त्रमा टेवा पुग्ने पक्का छ, तर व्यवसायी र उपभोक्ताका अनेक समस्या हुँदा बजार चल्न गाह्रो छ ।
सहरहरूका होटल, बार र रेस्टुरेन्ट मात्रै मध्यरातिसम्म सञ्चालनमा रहन्छन् । अरू व्यवसाय भने चाँडै बन्द भइसक्छन् । खासमा रात्रिकालीन बजार सञ्चालनमा प्रहरी प्रशासन नै तगारो बन्ने गरेको व्यवसायीको गुनासो हुने गरेको छ । जिल्ला प्रशासन मोरङले ढिलोमा १२ भित्र व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘डान्स बारहरूका हकमा राति १२ बजे र अन्य व्यवसायमा १० बजेभित्र पसलको सटर लगाउनु पर्ने प्रावधान छ ।’ खासगरी अबाञ्छित गतिविधि बढ्न सक्ने भन्दै प्रशासनले रात्रिकालीन बजारलाई सीमा तोकेको हो ।
व्यवसायीहरूका अनुसार चाँडै व्यापार व्यवसाय बन्द गर्नुको मूल कारण सुरक्षा व्यवस्था कमजोर हुनु हो । प्रदेशको राजधानी भएकाले प्रहरीको नियमित गस्ती छ, सडक बत्ती पनि पर्याप्त छन् । सर्वसाधारणमा रातको समयमा सडकमा निर्वाध हिँडडुल गर्न सक्ने अवस्था छैन । महिलाहरूको लागि त सहर झन् असुरक्षित देखिन्छ । ‘व्यवसायीहरू पनि राति अबेरसम्म पसल खोल्न हिच्किचाउँछन्,’ विराटनगर–३ का स्थानीय प्रकाश बोहराले भने, ‘व्यापार छैन, रातभरि ग्राहक कुरेर किन बस्नु ?’
सहरको सार्वजनिक यातायात प्रणाली पनि राति ठप्प रहन्छ । गन्तव्यमा जाने गाडी गएपछि बसपार्क सुनसान रहन्छ । यस्तोमा राति व्यापार गर्नु जोखिमपूर्ण हुने व्यवसायी हरिकृष्ण चौधरी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो सामाजिक सोच पनि परिवर्तन हुन सकेको छैन । राति अबेरसम्म पसल खोल्नु अशोभनीय भन्ने धारणा अझै बलियो छ ।’
रात्रिबजार भनेको रेस्टुरा, बार र क्याफे खोल्ने कुरा मात्र होइन, यो सहरको समग्र आर्थिक इन्जिन पनि हो । रात्रिबजारले होटल व्यवसाय, चिया पसल, सुरक्षागार्ड, क्लिनिङ सेवा, ट्याक्सी सेवालगायतका क्षेत्रमा रोजगारी सिर्जना गर्छ । सँगै अर्थतन्त्रलाई चलायमान बनाउने पर्यटन व्यवसायी भाविशकुमार श्रेष्ठ बताउँछन् । ‘राज्यले सुरक्षा ग्यारेन्टी दिने हो भने व्यवसायीहरू रातभरि पसल थापेर बस्न तयार छन्,’ उनी भन्छन्, ‘तर, राज्यबाट सहयोग चाहिँ जरुरी छ ।’
स्थानीय सरकार, सुरक्षा निकाय र निजी क्षेत्रको सहकार्यबाट मात्रै सहरलाई राति पनि जीवन्त बनाउन सकिने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको भनाइ छ । उनी भन्छन्, ‘निश्चित क्षेत्र तोकेर रात्री बजारलाई जीवन्तता दिन सक्दा फाइदा नै हुन्छ ।’
भरपर्दो सार्वजनिक सुरक्षा, महिला–मैत्री स्थानको विकास, रात्रिकालीन सार्वजनिक यातायात सेवा र रात्रिकालीन बजारको स्पष्ट नीतिलगायतका उपायले रात्रिबजारको सम्भावनालाई उज्यालो पार्न सक्ने धारणा स्थानीय व्यवसायीको छ । विराटनगरको याक्सा रेस्टुरेन्टका कर्मचारी सनमान राईले भने, ‘प्रशासनले इजाजत दिए हामी त रातभरि ग्राहकलाई सेवा दिन तयार छौं ।’
