क्लब, डिस्को र दोहोरीले धानेको पोखराको ‘नाइट लाइफ’

पोखराको रात्रिजीवन अझै क्लब, डिस्को र दोहोरीले मात्रै धानिरहेका छन् । लेकसाइडका सपिङ मल, रेस्टुरेन्टलगायत व्यवसाय रातभर खुल्दैनन् । लेकसाइडका सडकमा क्लब, डिस्कोबाट आउनेजाने बाहेक अन्यको ओहोरदोहोर देखिँदैन । लेकसाइडमा क्लब क्याटवाक, क्लब सिक्सटिन, लेभल्स्, किंग्स लाउन्ज लगायत बिहानसम्म चल्छन् । चिप्लेढुंगा, महेन्द्रपुल र लेकसाइडमा रहेका केही दोहोरी बिहान ४ बजेसम्म खुल्छन् ।

भाद्र ११, २०८२

दीपक परियार

Pokhara's 'night life' filled with clubs, discos and doubles

What you should know

पोखरा — २०८० चैत ४ मा पोखरा पर्यटनको राजधानी घोषणा हुँदा पाएको उपहार थियो, चौबिसै घन्टा खोल्ने । पोखराको पर्यटनलाई राति पनि चलायमान बनाउन व्यवसायीकै मागबमोजिम त्यस्तो घोषणा गरिएको थियो । तर, केही क्लब, डिस्को र दोहोरीले बाहेक पोखराको पर्यटनले उक्त घोषणाको सदुपयोग गर्न सकेन ।

पोखराको रात्रिजीवन पदयात्रा पर्यटनसँग जोडिन्छ । अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरेर फर्किएका विदेशी पर्यटकको बास लेकसाइडमा हुन्थ्यो । पदयात्राको थकान मेटाउन उनीहरु पोखरा फर्किएको रात रेस्टुरेन्ट र पबमा पुग्थे । खाना, मदिरा र मन्द संगीतमा रमाउँदै एकअर्कासँग परिचित हुन्थे । प्याराडिसो क्लब एन्ड बारका सञ्चालक गोपीबहादुर भट्टराईका अनुसार रेस्टुरेन्ट र पबहरुमा पर्यटक नयाँ साथी बनाउन, घुलमिल हुन, आफ्ना अनुभव सुनाउन रुचाउँथे । यस्ता रेस्टुरेन्ट र बारमा खेलकुद, संगीत, किताबदेखि भू–राजनीतिसम्मका कुरा हुन्थ्यो । 

जोकर डान्स बारदेखि प्लानेट जेट, वर्ल्ड ब्लुज बार, बिजीबी लगायतमा पर्यटकको बाक्लो उपस्थिति हुन्थ्यो । महेन्द्रपुलमा रहेको ओपन हाउसमा गजल पारखी पुग्थे । तर यी व्यवसायलाई समय सीमा तोकिएको थियो, रातिको ११ बजे । त्यतिबेला ११ बजेपछि पोखराको लेकसाइड, चिप्लेढुंगा–महेन्द्रपुल क्षेत्र सुनसान हुन्थे । राति ११ बजेपछि प्रहरी सिठ्ठी फुक्दै रेस्टुरेन्ट बन्द गर्न हिँड्ने गरेको बिजीबीका सञ्चालक ज्याक तामाङलाई सम्झना छ । ‘जुन व्यवसायीले प्रहरीलाई खुसी पार्न सक्यो उसको व्यवसाय राति अबेरसम्म पनि चल्थ्यो,’ उनी भन्छन्, ‘अहिले अवस्था फेरिएको छ ।’ 

एक दशकअघि नै लेकसाइडका केही क्लबले सोझै गृह मन्त्रालयबाट २४ घन्टा सञ्चालनको अनुमति नल्याएका होइनन् । तर ती क्लब खुल्ने, बन्द हुने क्रम जारी रहे । अन्य रेस्टुरेन्ट, बार, पब, डिस्को, क्लब, दोहोरी रेस्टुरेन्ट, मदिरा पसल व्यवसायीले भने ११ बजे नै बन्द गर्नुपर्दा व्यवसायमा असर परेको, पर्यटकले सेवा नपाएको र रात्रिजीवन चलायमान नभएको भन्दै २४ घन्टा खोल्न पाउनुपर्ने माग गरे । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गृहमन्त्रीसम्म माग पत्र बुझाए । 

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दा जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘रात्रिकालीन/पूर्ण समयमा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८०’ तयार गर्‍यो । मापदण्ड अनुसार किराना पसल, पान पसल, मदिरा पसल, रेस्टुरेन्ट, खाना/खाजा पसल र स्पाहरू तोकिएको इलाकाभित्र रातिको १ : ०० बजेसम्म सञ्चालन गर्न पाउछन् । तर लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को, लाउन्ज बार, दोहोरीहरु तोकिएको मापदण्ड पालना गरी पूर्ण समय सञ्चालन गर्न सक्छन् ।

पोखरा महानगरले यतिबेला ‘पोखरा भ्रमण वर्ष २०२५’ मनाइरहेको छ । तर पोखराको रात्रिजीवन भने अझै क्लब, डिस्को र दोहोरीले मात्रै धानिरहेका छन् । लेकसाइडका सपिङ मल, रेस्टुरेन्टलगायत व्यवसाय रातभर खुल्दैनन् । लेकसाइडका सडकमा क्लब, डिस्कोबाट आउनेजाने बाहेक अन्यको ओहोरदोहोर देखिँदैन । लेकसाइडमा क्लब क्याटवाक, क्लब सिक्सटिन, लेभल्स्, किंग्स लाउन्ज लगायत बिहानसम्म चल्छन् । चिप्लेढुंगा, महेन्द्रपुल र लेकसाइडमा रहेका केही दोहोरी बिहान ४ बजेसम्म खुल्छन् । यी व्यवसायमा अधिकांश ग्राहक भने आन्तरिक पर्यटक र स्थानीय हुन्छन् । केही भारतीय पर्यटक क्लब, डिस्को र डान्स बार पुग्छन् । 

Pokhara's 'night life' filled with clubs, discos and doubles

३ भदौ २०७९ बाट सञ्चालनमा आएको लेकसाइडको क्लब क्याटवाकमा २ हजार जनाको क्षमता छ । क्याटवाकका सञ्चालक गुप्त लामाका अनुसार दैनिक औसतमा ५ सय र बढीमा एक हजार जना उनको क्लबमा पुग्छन् । चाडबाड, बिदा र चल्तीका कलाकार आउँदा यो संख्या नाघ्छ । झन्डै २५ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको क्लबमा १ सय ५० भन्दा धेरैले रोजगारी पाएका छन् । ‘काठमाडौं, बुटवल, चितवन, धरान, सिक्किम, दार्जिलिङदेखिका पर्यटक क्लबमा आउँछन्,’ उनी भन्छन्, ‘क्याटवाकमै आउने भनेर एक रात पोखराको बसाइ लम्ब्याउने पनि चलन छ ।’ रात्रिव्यवसाय सञ्चालन गर्नु चुनौतीपूर्ण हुने भएकोले जोखिम पनि धेरै हुने उनी बताउँछन् । ‘प्रहरी, प्रशासन, कर कार्यालय सबैको आँखा रात्रिव्यवसायमा हुन्छ,’ उनी भन्छन्, ‘कसरी हुन्छ गल्ती देखाउने चलनले गर्दा कैयन व्यवसायी पलायन पनि भएका छन् ।’ 

रात्रिव्यवसाय सञ्चालन गर्नेले प्रशासनको मापदण्ड पूरा नगर्दा आफूहरुलाई असर पुगेको होटल व्यवसायी तथा स्थानीयको गुनासो छ । लेकसाइडका स्थानीय र पर्यटन व्यवसायी स्वयं केही क्लब बिहानसम्म खुल्दा झैझगडा हुने गरेको, धेरै होहल्ला हुने गरेको, क्लबबाट निस्कनेको मोटरसाइकलको चर्को ध्वनिले पर्यटक र स्थानीयलाई असर पुगेको भन्दै त्यस्ता व्यवसाय बिहान २ बजेसम्म मात्रै खोल्न दिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र नै बुझाएका थिए । 

प्रवेशद्वार र वरपरको सडक क्षेत्रसम्मको पहुँच हुने गरी सीसीटीभीको व्यवस्था र नियमानुसार त्यसको रेकर्ड सुरक्षित राख्नुपर्ने, व्यवसायस्थल परिसरभित्र वरपर सडक क्षेत्रमा सवारी साधनको हर्न बजाउन नपाउने साथै, ध्वनि प्रदूषण नियन्त्रण गर्न उचित व्यवस्था भएको हुनुपर्ने मापदण्ड छ । कर्मचारीलाई आलोपालो वा सिफ्टको व्यवस्था गरी काममा लगाउनुपर्ने, तलब भत्ता बैंकिङ प्रणालीमा लैजानुपर्ने लगायत मापदण्ड तोकिएको छ । अनुमति पाएका रात्रिकालीन व्यवसायले मापदण्ड पूरा गरे वा नगरेको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी, व्यवसायीसहितको समिति बनाएको छ । 

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी मापदण्डको पूर्ण कार्यान्वयन नहुँदा रात्रिकालीन व्यवसायको तालमेल नमिलेको बताउँछन् । ‘रातभर व्यवसाय चलोस् भन्ने हो तर ध्वनि प्रदूषण गरेर अरुलाई पनि असर पुर्‍याउन भएन,’ उनी भन्छन्, ‘मापदण्ड कार्यान्वयन भए/नभएको अनुगमन गर्ने पक्ष पनि फितलो भयो ।’ 

होटल एसोसियसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी २४ घन्टा खोल्ने घोषणा हतारोमा भएको बताउँछन् । ‘प्रहरीको जनशक्ति सीमित छ, जनशक्ति थप्ने अवस्था छैन,’ उनी भन्छन्, ‘रात्रिव्यवसायकै कारण नजिकका होटलले पाहुना गुमाइरहेको अवस्था छ ।’ पर्यटकका लागि पोखराका होटलले २४ घन्टा नै सेवा दिइरहेको उनले बताए । 

Pokhara's 'night life' filled with clubs, discos and doubles

रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखराका अध्यक्ष विश्व पौडेल सबै मापदण्ड पूरा गरेर २४ घन्टा रेस्टुरेन्ट खोल्न व्यवसायीका लागि पनि अप्ठेरो हुने बताउँछन् । ‘सिफ्टमा कर्मचारी राख्नुपर्छ, कर्मचारी भेटिँदैनन्, सुरक्षाको ग्यारेन्टी छैन, ग्राहक संख्या कम छन्,’ उनी भन्छन्, ‘रातभरि खोल्नेले पनि वरपरका व्यवसायलाई अप्ठेरो पार्ने गरी खोल्नुभएन ।’ पोखराको पर्यटन सभ्य हुनुपर्ने बताउँदै उनले रातभर खोल्ने नाममा होहल्ला मात्रै हुने किसिमको पर्यटन पनि व्यवसायीले नखोजेको उनको भनाइ छ । 

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई रात्रिजीवनलाई चलायमान बनाउन सबै किसिमका व्यवसाय स्वतस्फूर्त चल्नुपर्ने र एकले अर्कोलाई असर पुर्‍याउन नहुने बताउँछन् । ‘२४ घन्टा खोल्ने कुराले फाइदा पुगेको पनि छ, चुनौती पनि छ,’ उनी भन्छन्, ‘मापदण्डको पूर्ण कार्यान्वयन र अनुगमनकै पाटोलाई बढी ध्यान दिनुपर्छ ।’ 

समितिले बुधबार ‘पर्यटन क्षेत्रमा सुरक्षा व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया नै आयोजना गरेर पोखरालाई सुरक्षित राख्न आवश्यक सुझाव प्रस्तुत गरेको छ । सुरक्षाका लागि पर्याप्त सडक बत्ती, सीसीटीभी क्यामरा जडान, रात्रिकालीन व्यवसाय मापदण्डको पूर्ण कार्यान्वयन र अनुगमन, पर्यटक प्रहरीको सशक्तीकरण लगायत सुझाव व्यवसायीको छ । 

जिल्ला प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया पोखरालाई २४ घन्टा सुरक्षित बनाउन प्रहरीले सक्दो प्रयास गरेको उल्लेख गर्दै व्यवसायीको तर्फबाट पनि लगानी गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा सुरक्षित रहेको सन्देश दिन नीति, कानुन, मापदण्ड, सुरक्षाका हिसाबले सजग हुनुपर्ने बताइन् । 

पोखराभित्र चल्ने सार्वजनिक यातायात गर्मी महिनामा सामान्यतया ७ बजे र हिउँदमा ६ बजे बन्द हुन्छन् । त्यसको प्रत्यक्ष मार होटल तथा रेस्टुरेन्टमा काम गर्ने मजदुरलाई पर्छ । सिटी क्षेत्रका होटल तथा रेस्टुरेन्टमा मात्रै करिब ४५ सय कर्मचारी छन् । सबै होटल कर्मचारीलाई यातायातको सुविधा दिनसक्ने क्षमताका छैनन् । कम्तीमा राति १० बजेसम्म यातायातको व्यवस्था हुने हो भने अन्य पेशा व्यवसायमा आवद्ध र आफ्नै साधन नभएकाहरु पनि लाभान्वित हुनेछन् । लेकसाइडमा हुने विभिन्न महोत्सवहरु रातभर चल्छन् । ती महोत्सव अवधिभर राति १२ बजेसम्म नगर बस गुड्छन् । त्यसबाहेक पोखरामा हालसम्म नियमित रात्रि बस चलाउने प्रयासको थालनी भएको छैन । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully