साँझसँगै सुस्ताउँछन् अधिकांश सहर

उपत्यका बाहिरका अधिकांश बजारहरु रात परेपछि सुस्ताउन थाल्छन् । प्रशासनले सुरक्षाको कारण देखाउँदै जारी गरेका सूचनाहरु र रात्रिकालीन बजार सुरु गर्न निजी क्षेत्रले देखाएको उदासिनताले अधिकांश सहर रातसँगै निदाउन थाल्छन् ।

भाद्र ११, २०८२

इकान्तिपुर टिम

Most cities slow down in the evening

What you should know

काठमाडौँ — काठमाडौं उपत्यका बाहिरका मुख्य सहरहरु साँझ ढल्किन थालेपछि एउटै दृश्य र ध्वनि आउँछ । त्यो हो– हतार हतार घरतिर जाने तयारीमा रहेका यात्रुहरु अनि बिस्तारै बिस्तारै एकपछि अर्को गर्दै सटर बन्द गर्दा आउने आवाज र रात गाढा हुन नपाउँदै सुनसान बनिसक्ने बजार । पूर्वको धरानदेखि विराटनगरसम्म अनि चितवनदेखि पर्यटकीय नगर पोखरासम्म र लुम्बिनी प्रदेशको बुटवल भैरहवादेखि नेपालगन्जसम्म सबैतिर देखिन साझा दृश्य हो सुनसान रात ।

मलेसियास्थित खजाना रिसर्च सेन्टरले २०२५ अप्रिलमा प्रकाशित गरेको रिसर्च पेपरले रात्रिकालीन व्यापार फस्टाउँदा साना भेन्डरदेखि ठूला व्यवसायसम्मले एकैसाथ लाभ लिन सक्ने निष्कर्ष निकालेको छ । अध्ययनले सरकारी प्रोत्साहन र सजिलै प्रवेश गर्न सकिने वातावरणका कारण रात्रिकालीन बजारमा सानादेखि मझौलासम्मका उद्योगहरु फस्टाएको उल्लेख छ । डिजिटल भुक्तानी प्रणालीको प्रयोग, वित्तीय पहुँच, र पर्यटन-आधारित प्रचारात्मक अभियानजस्ता पहलहरुले रात्रि बजारको सम्भावनालाई थप सबल बनाउने तथ्य पनि अनुसन्धानमा उल्लेख छ । 

तर नेपालमा यस्तो छैन । एकाध सहरमा डान्सबार र दोहोरी राति ढिलासम्म खुलेको देखिन्छ । तर त्यसका निम्ती पनि स्थानीय प्रशासनले बदलिराख्ने नियमहरु र सुरक्षाको कारण देखाउँदै समय तोक्ने प्रवृत्तिले सहरहरु रात पर्नासाथ सुनसान बन्ने गरेका छन् । उदाहरणका लागि स्थानीय प्रशासनले विराटनगर र धरानका डान्सबारलाई राति १२ बजेसम्म मात्रै सञ्चालन गर्ने अनुमति दिएको छ । तर धेरैजसो डान्सबार त्यसअघि नै बन्द भइसक्छन् । 

जिल्ला प्रशासन कार्यलय मोरङले पनि ढिलोमा १२ भित्र व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘डान्स बारहरूका हकमा राति १२ बजे र अन्य व्यवसायमा १० बजेभित्र पसलको सटर लगाउनु पर्ने प्रावधान छ ।’ उनले खासगरी अवाञ्छित गतिविधि बढ्न सक्ने भन्दै प्रशासनले रात्रिकालीन बजारलाई नियमन गरेको बताए । 

योभन्दा फरक कथा छैन, चितवनको पनि । होटल व्यवसायी संघ चितवनमा आवद्ध भएका र नभएकासमेत गरेर चितवनमा ९ सय हाराहारीमा होटल छन् । तर राति ११ बजेपछि यी होटलहरु बन्द भइसक्ने नियम नै रहेको होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष यज्ञबहादुर कार्कीले बताए । उनले चितवनको बजार क्षेत्रका सटर साँझ नछिप्पिँदै बन्द हुने गरेको बताउँदै प्रशासनका कारण पनि यस्तो नियम बसेको बताए । 

सीमावर्ती भैरहवादेखि नेपालगन्जको अवस्था पनि यस्तै छ । साँझ झिप्पिन नपाउँदै सहर सुनसान भइसक्छ । नेपालगन्जको रात्रिकालीन बजार चलायमान बनाउन यहाँका व्यवसायीले प्रयास गरेका पनि थिए । उनीहरुले ‘स्ट्रिट फुड लेन’ लाई मध्यनजर गर्दै राति ११ बजेसम्म बजार खोल्ने अभ्यास थालेका थिए तर यस्तो प्रयासले निरन्तरता पाएन ।

लाहुरेको सहरको साझा परिचय पाएको धरान झट्ट हेर्दा आधुनिक सहरकै स्वरुपमा फेरिँदै छ । नयाँ नयाँ रेस्टुरेन्ट र कफीसपदेखि बारसम्म । पूर्वी पहाडको केन्द्र भएपनि धरान रात पर्न नपाउँदै सुस्ताउन थाल्छ । साँझ ढल्किँदै गर्दा धरानको मुख्य बजार भानुचोक सुनसान हुँदै जान्छ । रातको ९ नबन्दै धरानको यहाँ सुनसान हुन थालिसक्छ । न पसल खुला देखिन्छन् न सवारीसाधन नै पाइन्छ । बरु एकाध यात्रुहरु हतार हतार गन्तव्यतिर कुदिरहेको दृश्य सधैं दोहोरिन्छ । 

पर्यटकीय नगरको परिचय पाएको पोखरा पनि रातभर जाग्राम देखिन्न । एकाध रात्रिक्लब, नाइट बार र दोहोरीले पोखरालाई राति अबेरसम्म चलयमान बनाएपनि यहाँका रेस्टुरेन्ट र कफीसप राति ८-९ बजेपछि विस्तारै बन्द हुँदै जान्छन् । सार्वजनिक सवारी साधन त गर्मी महिनामा सामन्यतया ७ बजे र हिउँदमा ६ बजे बन्द हुन्छन् । जसको सोझो मार होटल तथा रेस्टुरेन्टमा राति अबेरसम्म काम गरेर घर फर्किने कर्मचारीलाई पर्छ । जबकी सिटी क्षेत्रका होटल तथा रेस्टुरेन्टमा मात्रै करिब ४५ सय कर्मचारी कार्यरत छन् । 

२०८० चैत ४ मा पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको थियो । त्यतिबेलै पोखरालाई चौबिसै घन्टा खोल्ने घोषणा पनि भएको थियो । तर यस्तो घोषणाले पनि सहरलाई रातभर जाग्राम राख्न सकेन ।एक दशक अघि नै लेकसाइडका केही क्लबले सोझै गृह मन्त्रालयबाट २४ घन्टा सञ्चालनको अनुमति पनि ल्याएका थिए । तर एकीकृत प्रयासको अभावमा यस्तो अभ्यास लामो समय चल्न सकेन । 

होटल एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी २४ घन्टा खोल्ने घोषणा हतारोमा भएको बताउँछन् । ‘प्रहरीको जनशक्ति सीमित छ, जनशक्ति थप्ने अवस्था छैन,’ उनी भन्छन्, ‘रात्रि व्यवसायकै कारण नजिकका होटलले पाहुना गुमाइरहेको अवस्था छ ।’ रात्रिकालीन व्यवसायकाबारे प्रहरी र प्रशासन मात्रै नभएर स्थानीय तह पनि प्रस्ट छैनन् । अनि यही अस्पष्टताका कारण रात्रिकालीन व्यवसायमा लागेकाहरु हैरानी भोग्न बाध्य छन् । पोखराको लेकसाइडमा झन्डै २५ करोड रुपैयाँ लगानीमा २ हजार जना क्षमताको क्लब क्याटवाक चलाइरहेका गुप्त लामाको अनुभवले भन्छ, रात्रिकालीन बजार चलाउनका निम्ती हाम्रै प्रशासनहरु तयार छैनन् । ‘प्रहरी, प्रशासन, कर कार्यालय सबैको आँखा रात्रि व्यवसायमा हुन्छ,’ उनले सुनाए, ‘कसरी हुन्छ गल्ती देखाउने चलनले गर्दा कैयन व्यवसायी पलायन पनि भएका छन् ।’

होटल व्यवसायी संघका उपाध्यक्ष यज्ञबहादुर कार्की चितवन सबै जिल्लाको केन्द्र भएपनि प्रशासनका कारण बसपार्क क्षेत्रकै होटल राति ११ बजे बन्द गर्न बाध्य हुनुपरेको बताए । उनले भने, ‘देशभरका यात्रु आएर रोकिने ठाउँमा ११ बजेपछि कोही नारायणगढ या भरतपुर झरेर बस्न खोजे होटल पाउन सक्दैन ।’ 

दोहोरी गीत प्रतिष्ठान चितवनका पूर्वध्यक्ष आनन्द रञ्जितले रात परेपछि सुस्ताउन थाल्ने बजारका कारण दोहोरी रेस्टुरेन्टहरु सोझो मर्कामा परेका बताए । उनले नारायणगढ, भरतपुर र रत्ननगर क्षेत्रमा गरेर चितवनमा ११ वटा दोहोरी रेस्टुरेन्ट रहेको बताउँदै भने, ‘१०/११ बजेपछि मान्छे दोहोरी छिर्छन्, १२ बजे बन्द गर्नुपर्छ । समय बढे हाम्रो व्यापार पनि बढ्थ्यो ।’ 

रात्रि बजार भनेको रेस्टुरा, बार र क्याफे खोल्ने कुरा नभई यो त सहरलाई गतिशील बनाउने र आर्थिक चक्र चलायमान बनाउने अभ्यास पनि हो । कोशीका पर्यटन व्यवसायी भाविशकुमार श्रेष्ठ रात्रि बजारले होटल व्यवसाय, चिया पसल, सुरक्षागार्ड, क्लिनिङ सेवा, ट्याक्सी सेवालगायतका क्षेत्रमा रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने बताउँछन् । भन्छन्, ‘राज्यले सुरक्षा ग्यारेन्टी दिने हो भने व्यवसायीहरू रातभरि पसल थापेर बस्न तयार छन् । तर, राज्यबाट सहयोगचाहिँ जरुरी छ ।’

इकान्तिपुर टिम

Link copied successfully