रात्रिबजार चलाउन रुपन्देहीका व्यवसायी उत्साहित

रात्रिकालीन बजार सञ्चालन गर्ने विषय बुटवल उपमहानगरपालिका नगरसभामा वाचन गरेरै पारित गरेको छ । व्यवसायीले पर्यटकलाई आकर्षित गर्न रात्रिकालीन बजारको आवश्यकता रहेको जनाउँदै जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयमा बुँदागत पत्र नै पठाएका छन् ।

भाद्र ११, २०८२

सन्जु पौडेल

Businessmen of Rupandehi are excited to run the night market

What you should know

लुम्बिनी — तीव्र सहरीकरण भइरहेको रुपन्देहीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । सीमापारिबाट आउने र आन्तरिक पर्यटकको राम्रो उपस्थिति हुने भएकाले रात्रिकालीन बजार सञ्चालनको माग गर्दै स्थानीय व्यवसायीले प्रशासन, सुरक्षा निकाय तथा स्थानीय सरकारसँग पटक पटक छलफल गर्दै आएका छन् । 

गृह मन्त्रालयले तय गरेको रात्रिकालीन बजार सञ्चालनको परिधिबारे स्थानीय प्रशासनले व्यवसायीलाई बजार सञ्चालनमा सघाउने छलफल हुँदै आए पनि ठोस निष्कर्ष भइसकेको छैन । रात्रिकालीन बजार सञ्चालन व्यवसायीका लागि मात्र नभई पर्यटकीय क्षेत्रको पहिचान झल्काउनका लागि आवश्यक रहेको रेस्टुरेन्ट तथा बार एसोसिएसन बुटवलका उपाध्यक्ष कमलजंग कुँवर बताउँछन् । 

देशका विभिन्न जिल्लामा गरी १८ बढी क्याफे (ड्याडीज किचन) का सञ्चालकसमेत रहेका उनले रात्रिकालीन बजार रोजगारी सृजना, मानिसले काम सकाएर लिन चाहेको आनन्द प्राप्तिको माध्यम हुने उल्लेख गरेर आफूले जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयमा बुँदागत पत्र नै बुझाएको सुनाए । ‘गर्मी धेरै हुने जिल्ला भएकाले यहाँ साँझपख नै मानिस परिवार, साथीभाइसँग रमाउने वातावरण खोजिरहेका हुन्छन्, स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दा पनि रात्रिकालीन बजार चलाउनुपर्छ भन्ने लाग्छ,’ उनले भने, ‘यसका लागि सुरक्षा चुनौती हुन सक्छ, त्यसमा प्रशासनले सहयोग गरेमा व्यवसायी रातभरि सेवा प्रवाह गर्न तत्पर देखिन्छन् ।’ कुँवरले बिहानको ३ बजेसम्म प्रशासनकै अनुमति लिएर घरघरमा खाजा, खाना पुर्‍याउने सुविधा प्रदान गरिरहेका छन् । उनी भन्छन्, ‘यो सुविधा क्याफे खोलेरै दिन सक्ने हो भने बत्तीको झिलिमिली, मानिसको ओहोरदोहोरले पनि पर्यटकीय हब जसरी विकास गर्न टेवा पुर्‍याउँछ ।’

दिनभरिको काम पछि बाहिर जाने, गफ गर्दै खाने, पिउने भनेर निस्कँदा ९ बजेपछि प्रहरीले सिठी फुक्ने हुँदा भागाभाग गर्नुपर्ने स्थिति रहेको बुटवल उपमहानगरपालिका–८ का मनोज ध्वजूको गुनासो छ । उनले आफू जस्ता व्यवसायी दिनभरि सेवा प्रवाहमा व्यस्त रहने भएकाले कर्मचारी, परिवार र बाहिरबाट आउने पाहुनालाई राति बुटवल घुमाउन नपाएर सहरको बेग्लै छाप देखाउन नसकिएको बताए । ‘भारतीय पर्यटकलाई त्यहाँको जस्तो नेपाली बजारमा पनि राति पनि घुम्न मिल्ने बनाउन सकिए पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सहज हुने छ,’ उनले भने, ‘यसले आर्थिक गतिविधि चलायमान पनि हुने छ ।’ सुरुआतमा होटल, रेस्टुराँ क्षेत्रमा यो सेवा लागू गर्न सकिए बिस्तारै कपडा पसल, कस्मेटिक्स, अन्य बजारसमेत सञ्चालन गर्न सकिने उनले बताए ।

रात्रिकालीन बजार सञ्चालन गर्ने विषय नगरसभामा वाचन गरेरै पारित गरेको बुटवल उपमहानगरपालिकाले यसका लागि प्रयास गरिरहेको प्रमुख खेलराज पाण्डेयले बताए । उनले यसको व्यवस्थापन, व्यवसायीको चाहना र प्रशासनिक विषयमा छलफल भइरहेको बताए । ‘हामीले कुन व्यवसायीले कसरी सञ्चालन गर्न चाहन्छ भन्ने खाकासहित छलफलमा डाँक्न भनेका छौं । यसबारे व्यवसायीको उत्सुकता आवश्यक छ, हामी सहकार्यमा अघि बढ्न तयार छौं,’ उनले भने । रात्रिकालीन बजार चल्ने बित्तिकै पर्यटक आगमन बढ्ने मात्र नभई बुटवल गुल्जार बनेर देशभरि पर्यटकीय सहर बनेको सन्देश जाने पाण्डेयले जनाए । 

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बजार सञ्चालन गर्नका लागि व्यवसायीहरू सामूहिक रूपमा नआएर कोहीले बजार चलाउन पाए हुन्थ्यो भनेर आग्रह मात्रै गरेको बताए । ‘हामीले एयरपोर्ट एरिया, अस्पताल एरियामा त्यो अनुमति पनि दिएका छौं, आवश्यकता अनुसार खाना, खाजाका पसल खुला रहन्छन्,’ उनले भने, ‘हरेक दिन बजार चल्नुपर्छ भन्ने आस व्यवसायीको हो भने छलफल गरेर सहकार्य गर्न सकिन्छ ।’ व्यवसायी तयार भए सुरक्षाको व्यवस्थापन गर्न तयार गरेको उनले बताए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully