कोरोनाले मुर्झाएको धरानको रात्रिबजार फर्काउने प्रयास

धराशयी बन्दै गएका क्लब, होटलहरु राति पनि सञ्चालन गर्न सके व्यवसायलाई चलायमान बनाउन सकिने होटल व्यवसायीको भनाइ छ ।

भाद्र ११, २०८२

एलिना राई

An attempt to bring back the night market of Dharan, which was withered by Corona

What you should know

धरान — बिहान ६ बजेदेखि चहलपहल हुने धरानको मुटु बजार भानुचोकमा राति ८ नबन्दै मानिसको चहलपहल कम हुँदै जान्छ । ९ बजेसम्म यहाँका सबै सटर बन्द भइसकेका हुन्छन् । पूर्वी पहाडी जिल्ला जाने मुख्य सडकमा पर्ने भानुचोक धरानको मुख्य बजार हो । रातको ९ बजेपछि यहाँ न मानिसको चहलपहल न सवारीसाधन गुडेका देखिन्छन् ।

धरानको बगरकोटमा भने रातको ११ बजेसम्म सञ्चालनमा आउने कफी सप, होटलले मानिसको चहलपहल हुन्छ । एक समय बगरकोट पूर्वकै ठमेलको रुपमा चिनिन्थ्यो । बगरकोटमा रहेका होटल, रेस्टुरेन्ट, दोहोरी साँझमा मानिसको रमझम हुने गर्थ्यो । साँझ परेपछि बगरकोटमा चहलपहल बढ्ने गर्थ्यो । मध्यरातसम्म त्यहाँ ट्याम्पु, सिटी सफारीका लस्करले रात्रीकालीन मेला लागिरहेको भान पार्थ्यो । यहाँको झिलिमिली, मानिसको भीड र म्युजिकले धरान निदाएको देखिँदैनथ्यो भने व्यवसायीको आम्दानी उकालो लागिरहेको हुन्थ्यो । 

दिनभर सुनसान हुने ती गल्ली रातको समयमा झिलिमिली हुन्थे । त्यहाँको होटल रेस्टुरेन्टका मानिसहरु दिनभरि निदाउने र रातभरि उठ्ने गर्थे । पूर्व घुम्न आएका मानिस राति बगरकोटमा मनोरञ्जन लिने गर्थे । विभिन्न लोकल ब्यान्ड, संगीत, डान्स, म्युजिकले मानिसको ध्यान खिच्ने गर्थ्यो । 

कुनै समय बगरकोटको क्लबहरुमा लोकल गीत र ब्यान्ड बनाएर गायन सुरुवात गरेका जोन चाम्लिङ र पूर्ण राई आज युवा पुस्तामा लोकप्रिय बनेका छन् । बगरकोट पूर्वकै एउटा सान थियो जुन रातको समयमा मात्र सञ्चालन हुने गर्थ्यो ।  

An attempt to bring back the night market of Dharan, which was withered by Corona

कोरोना महामारीपछि धरानको होटल, रेस्टुरेन्टमा पनि प्रभाव पर्‍यो र त्योसँगै धरानको बगरकोटमा पनि । अहिले यहाँ पहिलेको जस्तो रमझम नभएको सुनसरीका होटल व्यवसायी संघका अध्यक्ष सरोज भट्टराई बताउँछन् । कोरोना पछाडि व्यापार व्यवसाय धरापमा पर्न थालेको उनले बताए । पछिल्लो समय आर्थिक मन्दीले व्यापार व्यवसाय डामाडोल भएको छ । अहिले बगरकोट एरियाका अधिकांश होटल–क्लब बन्द भएको उनले बताए । त्यस समय बगरकोट एरियाका मात्र २५ भन्दा बढी होटल, ५ वटा क्लब र एउटा दोहोरी रेस्टुरेन्ट थियो । कोभिड र सञ्चालनको समय तोकिएपछि व्यवसाय बन्द भएको अध्यक्ष भट्टराईले बताए । अहिले बगरकोट एउटा क्लब एमएचलज एन्ड बार मात्र छ जुन रातको १ बजेसम्म सञ्चालन हुन्छ । अरु सबै ११ बजे बन्द हुने गरेको उनले बताए ।

धरान एउटा पर्यटकीयस्थल र पूर्वी पहाडी जाने मुख्य रुट भएकोले पनि पर्यटकहरुको चहलपहल भइनैरहन्छ । नाइट क्लबहरुले यसलाई झन् आर्कषण गर्न सक्छन् तर स्थानीय सरकार र प्रशासनले दिएको निश्चित समयले व्यवसाय चलायमान राख्न गाह्रो हुने गरेको उनले बताए । नाइट क्लबहरु साँझ मात्र खोल्ने भएकोले ३/४ घन्टा चलाएर बन्द गर्नुपर्ने अवस्था भएको व्यवसायी बताउँछन् । होटल व्यवसाय राति ११ बजेसम्म मात्र खोल्न पाउने पर्ने नियमले क्लबहरुमा प्रभाव पारिरहेको भट्टराई बताउँछन् । व्यवसायको प्रकृति अनुसार क्लब, होटलहरु राति पनि चलाउन सके राज्यको अर्थतन्त्र र व्यवसायीको आम्दानीमा सहयोग पुग्ने उनले बताए । धराशयी बन्दै गएका क्लब, होटलहरु राति पनि सञ्चालन गर्न सके व्यवसायलाई चलायमान बनाउन सकिने उनले बताए । 

रात्रिकालीन बजारले व्यवसायमा पार्न सक्ने सकारात्मक प्रभावप्रति भने व्यवसायीहरु बीच मतभेद छैन । धरानको व्यवसायिक साख खस्कदै गएको यो समयमा रात्रिकालीन बजारले फेरि धरानलाई आर्थिक हबका रुपमा उभ्याउने कुरामा उनीहरु सहमत छन् । होटल व्यवसायी संघका अध्यक्ष भट्टराईले भन्छन्, ‘रात्रिकालीन बजारकै कारण धरानको बजार चलायमान भयो भने होटल ब्यवसायीलाई मात्र नभई सबै व्यवसायीलाई फाइदा पुग्छ । धरानको अर्थतन्त्रलाई पनि यसले चलायमान बनाउँछ ।’

An attempt to bring back the night market of Dharan, which was withered by Corona

कोरोनाभन्दा अगाडि होटल, क्लबहरु मज्जाले चल्ने गरेको होटल व्यवसायी हेमा राईले स्मरण गर्छन् । तर  अहिले होटल चलाउन हम्मेहम्मे हुने गरेको उनले बताए । स्थानीय सरकारले रातको ११ बजेसम्म मात्र होटल खोल्ने अनुमति दिएकोले व्यवसाय धराशयी बनेको उनले बताए । बगरकोटमा रातिको समयमा मात्र मान्छेको चहलपहल हुन्छ । राति ८/९ बजेदेखि आउने ग्राहक ११ बजेसम्म मात्र समय दिएकोले बस्न मान्दैनन् । ‘मानिसहरु मज्जाले बसेर खान खोज्छन्, अबेर आउने भएकोले छिट्टै होटल बन्द गर्नु पर्दा ग्राहक झर्किने गर्छन् । खोल्ने समय अलिक बढाएको भए हामीलाई सहज हुने थियो,’ उनी भन्छन्, ‘स्थानीय सरकारले यस विषयमा चासो देखाउन जरुरी छ । रात्रिकालीन होटल व्यवसाय गर्ने वातावरण बनाइदिए घाटामा व्यवसाय गर्ने सिर्जना हुने थिएन होला ।’  

धरानको बगरकोट, भ्युपोइन्ट र धरानका गल्लीगल्लीमा कफी सप, होटलहरु छन् । तर निर्धारित समयसम्म मात्र सञ्चालन गर्न पाउने भएकोले धरान बेलैमा सुनसान हुने गर्छ । क्याफे सञ्चालक प्रतीक राई भन्छन्, ‘निश्चित समय तोकेकोले बेलैमा सप बन्द गर्नुपर्ने अवस्था छ ।’

धरानमा रात्रीकालीन बजार बनाउने भनेर चुनावी एजेण्डा नै बनेको थियो । केही समय रात्रीकालीन बजार बनाउने चर्चा भए पनि अहिले सेलाएको छ । स्थानीय सरकार, सम्बन्धित निकायहरु अहिले मौन छन् । धरानको भानुचोकस्थित ट्याम्पु स्ट्यान्डमा रात्रिकालीन बजार बनाउने भनिए पनि अहिले त्यहाँ साँझ ६ बजेदेखि ९ बजेसम्म ठेलामा खाजाका परिकार राखिन्छ । ९ बजेसम्म मात्रै चहलपहल हुने गर्छ । ९ बजेदेखि धरानको मुटु भानुचोक एरिया सुनसान हुने गर्छ । 

अहिले धरानका गल्लीगल्लीमा क्याफे, होटल खुल्ने क्रम जारी छ । यद्यपि बजार सुनसान हुने र सटर खाली हुने क्रम नरोकिँदा व्यवसायीमा उत्साह छैन । एक समय रात्रिकालीन बजार खोल्नेभन्दा व्यावसायी हौसिएका थिए तर यसले मूर्तरुप नपाउँदा व्यवसायीहरु निरुत्साहित छन् । यसो त सुरक्षाको ग्यारेन्टी बिना रात्रिकालीन बजार सञ्चालन गर्न सकिँदैन भन्ने कुरामा व्यवसायी सहमत छन् ।  

भानुचोकमा स्ट्रिट फुड बेच्ने सरल राई ९ बजेदेखि ठेला उठाउन आइपुग्ने नगर प्रहरीले रातिसम्म बेच्न दिएको भए व्यवसाय राम्रो हुने बताए । मुख्य बजार नै १० नबन्दै सुनसान हुने गर्दा होटल व्यवसायमा असर पुगेको उनले बताए । ‘मानिसहरु दिनमाभन्दा साँझ परेपछि बजार आउँछन्, चहलपहल हुने गर्छ तर निश्चित समय भएकोले छिट्टै बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘रात्रिकालीन बजार भएको भए रातभरि सामान बेच्न सकिन्थ्यो, रोजगारी र जीविकोपार्जन सजिलो हुने थियो ।’ 

An attempt to bring back the night market of Dharan, which was withered by Corona

सुनसरी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विजय श्रेष्ठ रात्रिकालीन बजार बनाउन सके धरानको अर्थतन्त्र मात्र नभएर धराशयी बन्दै गएका होटल व्यवसायलाई पनि चलायमान बनाउन सकिने बताउँछन् । ‘रात्रिकालीन बजार बनाउने भनेर निर्णय भएको थियो तर वडा नं. २ ले बनाउने भनेर हामीलाई बनाउन दिएन र अहिले यो कुरा हरायो पनि,’ उनले भने, ‘कोरोना महामारीपछि व्यवसाय डामाडोल छन्, देशभर आर्थिक मन्दी भएको बेला रात्रिकालीन बजार बनाउन सके अर्थतन्त्र, रोजगारी, धराशयी बन्दै गएका व्यवसाय चलायमान भएर सम्रग धरानको विकास हुने छ ।’

मुख्य कुरा सुरक्षामा चुनौती र स्थानीय सरकारले पनि यस विषयमा चासो नदिँदा रात्रिकालीन बजार अलपत्र परेको उनको भनाई छ । धरान एउटा पर्यटकीय सहर भएकोले पनि रात्रिकालीन बजार र अबेरसम्म होटल, क्लब सञ्चालन गर्न सके पर्यटकलाई आर्कषण गर्न मात्र नभएर यसले समग्र धरानको अर्थतन्त्रमा टेवा पुग्ने उनले बताए । आर्थिक संकटका कारण व्यवसायमा सुस्तता आइरहेको भाष्यकाबीच राम्रै चलिरहेको होटल व्यवसाय समय नै बन्द गर्नु परे पछि व्यवसायी भने खुसी छैनन् । धरानमा बढिरहेको जनघनत्वले पनि रात्रिकालीन बजारको माग गरिरहेको निर्वतमान अध्यक्ष श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘धरानमा जसरी जनसंख्याको चाप बढिरहेको छ, त्यो हिसाबले रात्रिकालीन बजारको आवश्यकता अत्यन्तै धेरै छ ।’

An attempt to bring back the night market of Dharan, which was withered by Corona

व्यवसायीले धरानलाई रात्रिकालीन सहरको रुपमा विकास गर्नुपर्छ भनेर आवाज उठाएको धेरै समय बितिसकेको छ । व्यवसायीकै आवाज सुनेर धरान उपमहानगरपालिकाले पनि रात्रिकालीन अवधारणालाई अगाडि सारेको थियो । तर यो अवधारणाले भने मूर्तरुप लिन सकेको छैन । धरान बजार सुनसान हुँदै गएकाले कतिपयले धरानको भविष्य संकटमा परेको भन्न थालिसकेका छन् । धरान उपमहानगरपालिका भने सुनसान धरानको भाष्यलाई तोड्दै गुल्जार धरान बनाउन लागिपरेको जनप्रतिनिधिहरु बताउँदै आएका छन् ।

धरान उपमहानगरपालिका उपमेयर आईन्द्रविक्रम बेघा भन्छन्, ‘रात्रिकालीन बजारका लागि सबैभन्दा धेरै सुरक्षा प्रबन्धको आवश्यकता पर्छ । व्यवसायी र ग्राहकको सुरक्षा पनि हेर्नुपर्छ । सरकारले सुरक्षाको ग्यारेन्टी गरेर मात्र रात्रिकालीन बजार सञ्चालन गर्न दिनुपर्ने भएकोले रात्रिकालीन बजार बनाउने निणर्यले मूर्तरुप पाउन सकेको छैन् । यद्यपि हामीले प्रयास गरिरहेको छौं । रातमा अपराधिक घटना बढी हुने भएकोले रात्रिकालीन बजार सञ्चालन गर्न चुनौती छ ।’ रात्रिकालीन बजार र होटल क्लबहरुको समय अलिक बढाउन सके बजार चलायमान बनाउन सकिने देखिए पनि सुरक्षाको चुनौतीले अन्योल भएको उपमेयर बेघाले बताए । तर रात्रिकालीन बजारलाई मूर्तरुप दिने प्रयास जारी रहेको उनले बताए । 

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully