धेरैले बिर्सिएको हुलाक, हुलाकले नबिर्सिएको कर्म 

हल्कारा अर्थात् हुलाकी देख्नेबित्तिकै गाउँलेले अड्कल काट्थे, ‘कतै मेरो छोरा/श्रीमान्‌को पत्र पो आयो कि ।’ जसको पत्र आउँथ्यो, उसको आँगनमा खबर सुन्न छिमेकीको भीड लाग्थ्यो । हुलाकीले दूरदराजका गाउँमा पत्र मात्रै पुर्‍याउँदैन थिए । पत्रसँगै पुर्‍याउँथे प्रतीक्षा, आशा, भरोसा र समाचार ।

भाद्र ७, २०८२

रञ्जना बिसी

What you should know

कैलाली — कुनैबेला सञ्चारको एकमात्र माध्यम थियो हुलाक । परदेश गएको श्रीमान् होस या सहर बसेका छोराछोरी, यी सबैलाई आपसमा जोड्ने एक मात्र सेतु हुलाक थियो । हल्कारा अर्थात् हुलाकी देख्नेबित्तिकै गाउँलेले अड्कल काट्थे, ‘कतै मेरो छोरा/श्रीमान्‌को पत्र पो आयो कि ।’ जसको पत्र आउँथ्यो, उसको आँगनमा खबर सुन्न छिमेकीको भीड लाग्थ्यो । उसो त गाउँमा हुलाकीको प्रवेशले नै खुसीयाली छाउँथ्यो । आफ्नो पत्र नआए पनि ‘कतै मेरो पत्र पो आयो कि’ भन्ने आस सबैलाई हुन्थ्यो । हुलाकीले दूरदराजका गाउँमा पत्र मात्रै पुर्‍याउँदैन थिए । पत्रसँगै पुर्‍याउँथे प्रतीक्षा, आशा, भरोसा र समाचार । बैंकहरु नपुगेका ठाउँमा आफन्तले पठाएको पैसा र चिनोसमेत पुर्‍याउँथे । र, पुर्‍याउँथे प्रतीक्षामा बसेका आफन्तले परदेशमा संसार छाडेको खबर पनि । 

गाउँ–सहरदेखि देश–विदेशसम्म सूचना आदानप्रदान गर्ने सञ्चारको जीवन रेखा नै हुलाक थियो । लोकसेवाको परीक्षा दिएर नतिजाको पर्खाइमा बसेकाहरूको घरमा जब पत्र पुग्थ्यो, परीक्षार्थी पत्र नै नखोली खुसीयाली मनाउँथे । किनभने हुलाक मार्फत लोकसेवा पास भएकालाई मात्र पत्र जान्थ्यो । त्यो समयमा सूचना पाउन र पठाउन सबैका लागि सजिलो, भरपर्दो र एकमात्र माध्यम हुलाक नै थियो । मानिस मानिसबीच मात्र होइन सरकार र जनतालाई जोड्ने काम पनि हुलाकले नै गर्थ्यो । सरकारी अड्डामा सूचना आदान प्रदानको काम पनि हुलाक मार्फत नै हुन्थ्यो । 

नेपालमा विसं १९३५ मा नेपाल हुलाक घरको नामबाट स्थापना भई हुलाक सेवा प्रारम्भ भयो । जसको प्रमुख काम नै चिठ्ठीपत्र एक ठाउँदेखि अर्को ठाउँसम्म पुर्‍याउनु थियो । हुलाकले आफ्ना सेवालाई स्तरीय र सुदृढ बनाउन सन् १९५६ विश्व हुलाक संघको सदस्यता लिएको थियो । जुन संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले खुलेको संस्था हो । सन् १८७४ मा स्थापना भएको यो संस्था संयुक्त राष्ट्र संघको विशेषीकृत निकाय हो ।

सञ्चार जगत्मा ऐतिहासिक महत्त्व बोकको हुलाकबारे हाल कैलालीको धनगढीमा बस्दै आएका ७८ वर्षीय रंगलाल उपाध्याय २०२० सालतिरको कुरा सम्झिन्छन् । ‘मेरो जेठा र माइला दाइले भारतको उडिसा, मधुरास र बम्बैबाट चिठी पठाउँथे । एक दुई महिनापछि डोटीको सिलगडी पुग्थ्यो । त्यहाँबाट हुलाकीले चिठी बोकेर सायल हाम्रो घरमै पुर्‍याउँथे ।’ चिठीमा दाइले सोधेका कुराको जवाफी पत्र पठाएको स्मृति उनमा ताजै छ । त्यतिबेला भारतलगायतका अन्य ठाउँबाट पठाएका चिठी धनगढीबाट डोटी हुँदै अन्य जिल्लामा पुग्थे । डोटीको सायलमा जन्मिएका उपाध्याय २०२८ सालमा कैलाली झरे । त्यतिबेला व्यक्तिगत सञ्चारका अन्य माध्यम आइसकेका थिएनन् । डोटीमा केही खबर पठाउन परे विकल्प हुलाकको पत्र नै थियो । २०३४ सालमा उनकी आमाको अकस्मात् निधन भयो । यो खबर भने उनले पत्र होइन आकाशवाणीबाट सुने । त्यो दिन सम्झिँदै उपाध्याय भन्छन्, ‘सिलगडीको दुरसञ्चारले आकाशवाणीबाट आमा बितेको खबर पठायो । त्यो मलाई धनगढीको आकशवाणीले सुनायो । त्यहीँ दिन हिँडेर म धनगढीबाट पाँच दिनमा डोटीको मुडभरा पुगे ।’ उपाध्यायका अनुसार त्यतिबेला चिठ्ठीलाई दुई प्रकारमा बाँडिन्थ्यो । एउटा सामान्य हालखबर लेखिएको र अर्को विशेष अर्थात् रजिस्टार । रजिस्टरी चिठ्ठीलाई विशेष प्रकारले राखिएको हुन्थ्यो, त्यसमा पैसा र केही चिनो पनि पठाइएको हुन्थ्यो । 

प्रविधिको विकाससँगै रेडियो, टेलिफोन, टेलिभिजन हुँदै मोबाइल प्रयोगमा आए । मानिसहरूले अब पत्रको लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्यो । क्षणभरमै टेलिफोनबाट जुनसुकै ठाउँमा भएका आफन्तसँग कुरा गर्न सकिन्थ्यो । यद्यपि टेलिफोन एकदमै कम मात्रामा र विशेष मानिससँग मात्रै हुन्थ्यो । यी सबै कालखण्डबाट गुज्रिएका उपाध्याय प्रविधिमा आएको परिवर्तन देखेर चकित पर्छन् । ‘हुलाक त सबैले बिर्सिसके । अहिलेका पुस्तालाई हुलाक के हो भनेर पनि थाहा नहुन सक्छ,’ उनी भन्छन्, ‘सबै कुरा मोबाइलमै आउँछ अरू के चाहियो । अमेरिका बसेका छोराबुहारीसँग म यहीँबाट भिडियो कल गरेर सबै देख्छु ।’ बिस्तारै इन्टरनेट र डिजिटल प्रविधिमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर हुलाकलाई नै पर्‍यो । उन्नत प्रविधिको विकास, कम्प्युटर, मोबाइल प्रयोग र इमेल, फेसबुक, ह्वाटस्याप, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालले विश्वलाई नै एक गाउँमा परिणत गर्‍यो । अब सूचना आदानप्रदान गर्न समय कुर्नु पर्दैन । पलभरमै संसारको जुनसुकै कुनामा भएको मानिससँग पनि कुरा गर्न सकिन्छ । यी प्रविधिसँगै हुर्किएको पुस्ताले सामाजिक सञ्जाल बिनाको जीवन कल्पना पनि गर्न सक्दैन । न हुलाक र पत्र मात्रै सञ्चारमाध्यम भएको त्यो समयलाई बुझ्न सक्छ । 

हुलाकले नबिर्सिएको कर्म 

हुलाकमा आजकाल व्यक्तिगत पत्र प्रायः शून्य हुन्छन् । मानिसले हुलाक बिर्सिए पनि हुलाकले आफ्नो कर्म बिर्सिएको छैन । पत्र पुर्‍याउने माध्यम, शैली, बाटो र पत्रहरू फरक होलान्, तर आफ्नो काम गरिरहेकै छ । हुलाक मार्फत आउने व्यक्तिगत पत्र घटे पनि हुलाकको काम भने बढेको हुलाक निर्देशनालय कैलालीका हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेय बताउँछन् । उनका अनुसार अहिले हुलाक मार्फत सरकारी कागजपत्र, बैंक तथा वित्तीय संस्था र अदालतका पत्रहरू बढी आउने गर्छन् । यस सँगै काम पनि थपिएको छ । ‘व्यक्तिगत पत्रले हुलाकको २० प्रतिशत काम घटाएकै हो । तर त्यो भन्दा बढी ३० प्रतिशत काम हुलाकमा थपिएको छ,’ निर्देशक पाण्डेयले भने । 

पहिले चिठ्ठीपत्र आदान प्रदान गर्ने हुलाक अहिले सँगै सामान पार्सल, टिकट व्यवस्थापन, सञ्चार गृह तथा सञ्चारकर्मीसँग सम्बन्धित काम पनि गर्छ । सरकारले सञ्चार माध्यमलाई दिने लोककल्याणकारी विज्ञापन वितरणको जिम्मा पनि हुलाकलाई नै दिएको छ । आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन हुलाकले अहिले पिआईटीएस प्रणाली प्रयोगमा ल्याएको छ । यो प्रणालीले चिठ्ठी पत्र तथा कुरियर कुन ठाउँमा छन् भनेर लोकेसन पत्ता लगाउने काम गर्छ । सेवाहरुलाई प्रविधिमैत्री बनाउन हुलाकले विभिन्न प्रयास गरिरहेको उनले बताए । 

हुलाक निर्देशक पाण्डेय पहिलेको तुलनामा कम भए पनि चिठ्ठीपत्रको काम नरोकिएको बताउँछन् । उृनका अनुसार हुलाक निर्देशनालय कैलालीले आर्थिक वर्ष ०८१/०८२ मा ६५ हजार ९ सय ५८ वस्तु आदान प्रदान गरेको छ । जसबाट ६६ लाख २९ हजार भन्दा बढी राजश्व संकलन भएको छ । अहिले प्रत्येक दिन धनगढीबाट मात्रै ४ सयको हाराहारीमा र सुदूरपश्चिमभरि दैनिक १५ सय भन्दा बढी चिठीपत्र आदान प्रदान हुने गर्छन् । ‘अतिरिक्त हुलाक नियमावली’ आइसकेपछि ५८ वर्षे उमेर हदबन्दीका कारण उमेर पुगेका कर्मचारीको अनिवार्य अवकाशसँगै अतिरिक्त हुलाक पनि खारेज भएका छन् । सँगै हुलाक संगठनको पुनर्संरचना पनि भएको छ । ‘अतिरिक्त हुलाक नियमावली’ आउनु पूर्व हुलाक सेवा विभागको देशभर १७ हजार दरबन्दी थियो । त्यसमध्ये सात हजार निजामती र झन्डै १० हजार भन्दा बढी अतिरिक्त हुलाकतर्फका कर्मचारी थिए ।

आर्थिक वर्ष २०८०/८१ को बजेटले सरकारले जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने र प्रत्येक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । यही घोषणाअनुसार जिल्ला र इलाका हुलाक कार्यालयसहित हुलाक निर्देशनालयहरुको पुनर्संरचना गर्दै स्थायी दरबन्दीको पुनरावलोकन गरेको थियो । हुलाक सेवा विभागका निर्देशक एवम् सूचना अधिकारी ध्रुवराज आचार्यका अनुसार २०८०/८१ मा ३ हजार ७४ अतिरिक्त हुलाक, ८४२ इलाका हुलाक, ७० जिल्ला हुलाक, ४ हुलाक निर्देशनालय र एउटा गोश्वारा हुलाक गरी झन्डै ४ हजार कार्यालय थिए । त्यस्तै, साढे ६ हजार जिल्ला तथा इलाका हुलाकतर्फ र साढे १० हजार अतिरिक्त हुलाकतर्फको दरबन्दीमा गरी १७ हजार कर्मचारी थिए । अहिले ६ प्रदेशमा ६ निर्देशनालय, ७० जिल्ला हुलाक एक गोश्वारा गरी ७७ हुलाक कार्यालय छन् । देशैभर ७७ जिल्ला हुलाक र हुलाक निर्देशनालयका साथै ६७६ स्थानीय हुलाक कार्यालय गरी पुनर्संरचनापछि ७५३ हुलाक कार्यालय छन् । जसमा साढे ४६ सयको हाराहारीमा कर्मचारी दरबन्दी छ ।

निजी क्षेत्रको प्रभाव

पछिल्लो समय हुलाक जस्तै निजी क्षेत्रले पनि चिठ्ठीपत्र, पार्सल आदान प्रदान गर्ने काम गर्छ । उनीहरु हुलाक भन्दा छिटो, स्तरीय र भरपुर प्रविधिको प्रयोग गरेर काम गर्ने दाबी गर्छन् । नेपालमा लामो समयसम्म हुलाक सेवा सरकारकै हातमा थियो । २०५५ सालमा हुलाक ऐन संशोधन भएपछि निजी क्षेत्रले कुरियरको काम गर्ने स्वीकृति पाएका हुन् । १९९० को दशकमा काठमाडौं उपत्यकामा केही निजी कुरियर कम्पनी सुरु भए । व्यवसाय बढ्दै जाँदा छिटो, सुरक्षित र विश्वसनीय ढुवानीको माग बढ्यो । निजी क्षेत्रले छिटो र विश्वसनीय सेवा दिन थालेपछि परम्परागत हुलाक सेवा पछि पर्‍यो । निजी क्षेत्रबाट ग्राहकले ट्रयाकिङ, होम डेलिभरी, क्यास–अन–डेलिभरी जस्ता सुविधा पाए ।

सरकारी चिठ्ठीमा अझै हुलाकको एकाधिकार रहे पनि निजी कुरियरहरूले आकस्मिक र महत्त्वपूर्ण कागजपत्र ओसारपसारको काम गरिरहेका छन् । यद्यपि निजी कुरियरले दुई किलोभन्दा कम तौलका सामग्री ओसारपसार गर्न नपाउने प्रावधान छ तर पनि तिनले चिठ्ठी र कागजपत्र बोकिरहेका छन् । यसको प्रत्यक्ष असर हुलाकलाई परेको छ । ग्रामीण क्षेत्रमा अझै सरकारी हुलाक प्रमुख भए पनि सहरी क्षेत्रमा निजी कुरियरको हाबी छ । यसको कारण निजी कुरियर कम्पनीहरूले छिटो, आधुनिक र ग्राहकमैत्री सेवा दिनु हो । पछिल्लो समय हुलाकले पनि आफ्ना सेवाहरुलाई बिस्तार गर्दै आधुनिक र ग्राहकमैत्री बनाइ रहेको छ । यसले हुलाकलाई थप प्रभावकारी र जीवन्त बनाएको छ । 

हुलाक सेवा विभागका सूचना अधिकारी ध्रुवराज आचार्य निजी क्षेत्र र हुलाक बिच प्रतिस्पर्धा रहेको बताउँछन् । ‘अन्य क्षेत्रमा जस्तै हुलाक सेवामा पनि सरकारी र निजी क्षेत्र बिच प्रतिस्पर्धा छ,’ उनले भने । हुलाकले निजी क्षेत्रलाई आफ्नो प्रतिस्पर्धी माने पनि निजी क्षेत्रले भने यो कुरा स्विर्कादैन । नेपाल कुरियर सेवा संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष नवराज भट्ट हुलाकलाई कुरियरको प्रतिस्पर्धी मान्दैनन् । बरु आवश्यक परेको खण्डमा हुलाक र कुरियरबीच सहकार्य हुने गरेको बताउँछन् । भट्ट सन् २००४ देखि धनगढीमा कोर्टियर वल्डवाइड एक्सप्रेस कुरियर चलाइरहेका छन् । पछिल्लो समय कुरियर सेवामा केही बेथिति बढेको भन्दै सरकारले नीतिगत रूपमा यसलाई नियमन गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार सुदूरपश्चिममा अहिले झन्डै ८० को हाराहारीमा कुरियर सेवा सञ्चालनमा छन् । 

हुलाक र निजी कुरियरले चिठ्ठी र कागजपत्र पठाएबापत लिने शुल्कमा ठूलो अन्तर छ । हुलाकले सामान्यतया एक पत्रको ४० देखि ७० रुपैयाँसम्म लिने गर्छ । पत्रको तौल २० ग्राम भन्दा बढी छ भने पैसा प्रत्येक १० ग्राममा पाँच रुपैयाँका दरले बढ्दै जान्छ । तर निजी कुरियरमा कुन सामानको कति शुल्क लिने भन्ने कुनै मापदण्ड छैन । कुरियरले सामान्यतया कागजात वा पत्र पठाएबापत १५० देखि ३०० रुपैयाँसम्म लिने गर्छन् । हुलाक निर्देशनालय कैलालीका निर्देशक पाण्डेय हुलाक सरकारी निकाय भएकाले यसबाट सेवाग्राहीलाई केही जोखिम नहुने बताउँछन् । पठाएका कुरियर सुरक्षित साथ पुग्ने तथा आफ्नो कुरियर कहाँ पुग्यो भनेर पिआईटीएस प्रणालीबाट आफैले हेर्न सकिने उनले बताए । ‘हामी प्रविधिलाई अंगाल्दै आफ्ना सेवा विस्तार गर्दैछौँ । हुलाकले सेवाग्राहीलाई सस्तो, छिटो र स्तरीय सेवा दिइरहेको छ,’ पाण्डेयले भने । 

रञ्जना

Link copied successfully