विद्यालय जाने उमेरका छोराछोरीसहित अभिभावकहरू कामको खोजीमा भारतका विभिन्न स्थान पुग्ने गरेका छन् । यसले गर्दा बालबालिकाको पढाइ मात्रै छुटेको छैन उनीहरूको नतिजा पनि कमजोर छ ।
What you should know
वीरेन्द्रनगर — वीरेन्द्रनगर–१ का विश्व विकका १२, ७ र ४ वर्षका गरी तीन सन्तान छन् । उनका तीनै छोराछोरीले नियमित विद्यालय जान भने पाएका छैनन्, त्यसको मूल कारण विश्व सन्तान र श्रीमतीसहित भारतको कालापहाड पुगेका छन् । आर्थिक अवस्था कमजोर भएपछि उनको परिवारै कामको खोजीमा भारत पुगेको हो । उनी बेलाबेला बालबच्चा बोकेर केही महिना घरमा बसेर जाने गर्छन् । घरमा भएका बेला गाउँकै दीपमाला आधारभूत विद्यालयमा पढ्ने उनका छोराछोरीको भारतमा हुँदा पढाइ रोकिने गरेको उनले बताए । वर्षमा केही महिना मात्र विद्यालय जान पाउँदा छोराछोरीको पढाइ निकै कमजोर हुन पुगेको विश्व बताउँछन् ।
पढाइको समस्या देखिएपछि केही समयअघि उनी छोराछोरी र श्रीमतीलाई घरमै छोडेर भारत गए । घरखर्च धान्न मुस्किल परेपछि पुनः परिवारै लिएर भारतर्फ भासिनुपरेको उनले सुनाए । ‘साँझ बिहान हातमुख जोर्नै गाह्रो भएपछि परिवारसहित भारत गयौं,’ उनले भने, ‘सबै मिलेर परिवारको गुजारा त गरिरहेका छौं, तर छोराछोरीको पढाइ छुट्यो । आफूले पढ्न नपाएको पिर एकातिर थियो । छोराछोरीलाई पढाउन नसकेको चिन्ता अर्कोतिर छ ।’
बिरामी भइरहने श्रीमतीलाई मात्र लिएर पनि उनी भारत पुगेका थिए । यता छोराछोरी विद्यालय नजाने, गाउँ र बजार डुल्ने भएपछि छोराछोरीलाई पनि सँगै लिएर गएको उनले सुनाए । भारतमा सबैले क्षमता अनुसारको काम गर्दै आएको उनी बताउँछन् । सानो घरबाहेक कमाइ खाने जग्गाजमिन केही नभएकोले पनि सपरिवार भारत जान बाध्य भएको उनले सुनाए । विश्वले मात्र हैन आर्थिक अवस्था कमजोर भएका कर्णालीका अधिकांश अभिभावकले छोराछोरी पनि आफूसँगै भारत लैजान्छन् । विद्यालय जाने उमेरका छोराछोरीसहित अभिभावकहरू कामको खोजीमा भारतका विभिन्न स्थान पुग्ने गर्छन् । यसले गर्दा विद्यार्थीको पढाइ मात्रै छुटेको छैन उनीहरूको नतिजा पनि कमजोर छ ।
वीरेन्द्रनगर–१ स्थित दीपमाला आधारभूत विद्यालयकी प्रधानाध्यापक मञ्जु सुनारका अनुसार अघिल्लो शैक्षिक सत्रको सुरुवातमा विद्यालयमा झन्डै १ सय ४३ जना हाराहारी विद्यार्थी भर्ना भएका थिए । तीमध्ये दैनिक २५ देखि ३० विद्यार्थी विद्यालय नै आउँदैनन् । ‘धेरैजसो बालबालिका अभिभावकसँगै भारत जान्छन्, कोही विद्यार्थी भारतबाट फर्किँदैनन्,’ उनी भन्छिन्,‘कतिपय त भर्ना भएको एक/दुई महिनामा बुबाआमासँग जाने र परीक्षा दिन मात्रै आउँछन्, कोही वर्षपछि फर्किने पनि छन् ।’ यसले कसैको पढाइ पूर्णरुपमा छुट्ने गरेको उनले सुनाइन् । परीक्षा दिनका लागि मात्र आएकाहरू माथिल्लो कक्षामा जान सक्दैनन्, उनीहरू पनि उमेर बढ्दै गएपछि विद्यालय छाड्छन् ।
प्रधानाध्यापक सुनारका अनुसार दुई जना विद्यार्थी कक्षा ३ मा पढ्दा पढ्दै भारत पुगे । २ वर्षअघि उतै बसेर फेरि पुनः कक्षा ३ मै भर्नाका लागि गत वर्ष विद्यालय पुगेका थिए । उनीहरूको विद्यालयको सिस्टममा नाम नभएकोले भर्ना लिनै नसकिएको उनले बताइन् । ‘सिस्टममा ड्रपआउट भएका विद्यार्थीहरूलाई पुनः भर्ना गर्न गाह्रो हुने गरेको छ,’ उनले भनिन्, ‘१ सय ५४ दिनभन्दा कम हाजिरी भएको विद्यार्थीलाई कक्षा चढाउनै मिल्दैन, उनीहरूले परीक्षा दिए पनि प्रणालीले लिँदैन ।’
दैलेखको दुल्लु नगरपालिकाकी कविता खड्का ७ र ४ वर्षका दुई छोरा पढाउन वीरेन्द्रनगरमा कोठा भाडामा लिएर बस्थिन् । श्रीमान् रोजागरीको लागि भारत जान्थे । जीविकोपार्जनको समस्या भएपछि कविता पनि श्रीमान्सँगै २ छोराको पढाइ छुटाएर भारतको चण्डिगढ गइन् । त्यहाँ श्रीमान्सँगै आफू पनि काम गरिरहेको उनले बताइन् । ‘पढाइ, खान बस्नका लागि एक जनाको कमाइले पुगेन,’ उनले भनिन्, ‘एक्लै बस्न नसकिने भएपछि बच्चाहरू ल्याएर भारत पुगे ।’ स्थानीय विद्यालयमा छोराहरूलाई भर्ना गरे पनि भाषाको समस्याका कारण पढ्न नसकेको उनले सुनाइन् । दुवै जनाले मजदुरी गर्दा छाक टार्न सहज भए पनि बच्चाहरूको पढाइ छुटेको पछुतो लागिरहेको उनले बताइन् ।
पारिवारिक समस्याले परदेशतिर
पारिवारिक समस्याले गर्दा नै बालबालिकाहरू अभिभावकसँगै कामको खोजीमा भारत वा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने गरेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत रिहान केसी बुवासँगै भारत गएको विद्यालयका शिक्षक झुपलाल केसीले बताए । आमाको मृत्युपछि उनको हजुरआमा र बुवा भारतको सिमला पुगेका छन् । उनी पनि अभिभावकसँगै परदेश पसेका हुन् । विद्यालयका अरू विद्यार्थी पनि मजदुरी गर्ने अभिभावकसँगै भारतका विभिन्न स्थान गएको उनले बताए ।
प्रधानाध्यापक केसीका अनुसार कक्षा २ का ३ जना विद्यार्थी अभिभावकसँगै भारत पुगेका छन् । कक्षा ४ मा पढ्ने १ जना, कक्षा ६ का २ जना विद्यार्थी भारत पुगेको जानकारी पाएको उनले बताए । उनीहरू कोही दसैँको समयमा घर फर्किने गरे पनि धेरैजसो परीक्षाका बेला मात्र आउने गरेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका परिवारसँगै भारत पस्ने गरेको उनले बताए । ‘परिवारै कमाउन भारत जाने र बालबालिकालाई पनि सँगै लैजाने गरिएको छ,’ उनले भने,‘कोही बालबालिका उता गएर पनि विद्यालय जान्छन् । यताबाट कागजात मागिरहेका हुन्छन् । तर उता भाषा नमिल्ने भएका कारण बीचमै पढाइ छाडेको सुनिन्छ ।’ पढाइ कमजोर भएर माथिल्लो कक्षामा जान नसक्ने भएकोले पनि विद्यालय छाड्ने गरेका उनले बताए । उनले भने,‘उमेर बढ्दै जान्छ । कक्षा बढ्न सक्दैन । आर्थिक अवस्था कमजोर हुन्छ । पढाइ छोडेर यतै वा भारत जान्छन्, यो विपन्न परिवारको नियति नै बनेको छ ।’
कामको खोजीमा अधिकांश मानिस भारत जाँदा बालबालिका पनि सँगै लैजाने चलन रहेको दैलेखको गुराँस गाउँपालिका–२ की वडा सदस्य रामशिला विकले बताइन् । ‘हाम्रो वडामा पनि यस्तै समस्या छ । धेरै बालबालिकाले पढ्न पाएका छैनन् । आमाबुबासँगै भारत गएका छन्,’ उनले भनिन्, ‘दलित समुदायको बाहुल्य भएका बस्तीबाट रोजगारीका लागि भारतमा जाने चलन पुरानै हो । हाम्रोमा विपन्न परिवार धेरै छन् । दलित समुदायको अवस्था दयनीय छ । कामको खोजीमा भारत जानुपरे छोराछोरीलाई पनि साथै लैजान्छन् ।’ वडादेखि गाउँपालिकालाई समेत जानकारी दिए पनि समस्या निस्किन नसकेको उनले बताइन् ।
सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने चौकुने गाउँपालिकाका–१, २ र ३ सेवा क्षेत्र रहेको नेरा मावि चौकुने–२ लगामका प्रधानाध्यापक लालबहादुर थापा स्थानीय बासिन्दा भारततिर जान नपाए रोजगारीको उपाय नभएको बताउँछन् । उनी भन्छन्,‘आर्थिक अवस्था राम्रो भएकाहरू वीरेन्द्रनगर वा कैलालीतिर झरेर बालबालिका उतै पढाउँछन् पनि । गरिबीको कारण १५ देखि २० प्रतिशत बालबालिका अभिभावकसँगै भारत पुग्ने गरेका छन् ।’
भारत पुगेका केही बालबालिका परीक्षा दिन आउने गरे पनि विद्यालय सूचना व्यवस्थापन प्रणाली लागू भएपछि उनीहरूलाई परीक्षामा सामेल गराउन समस्या हुने गरेको उनले बताए । ११ र १२ कक्षामा त भर्ना भएका केही विद्यार्थी मात्र पढ्न आउने गरेको उनले बताए । पहिले पुरुष मात्र रोजगारीको लागि भारत जाने गरे पनि पछिल्लो समय महिला पनि जाने गरेका छन् । महिला पनि जान थालेपछि बच्चा सँगै लैजाने गर्छन् । यसले विद्यालयहरूमा विद्यार्थीको उपस्थिति पनि न्यून देखिने गरेको छ । पालिकामा शैक्षिक सत्र २०८१ को समीक्षामा विद्यालयको उपस्थिति कम हुने गरेको प्रतिवेदन आएको उनले बताए । विद्यालयमा गत शैक्षिक सत्रमा कक्षा ११ मा १७ विद्यार्थी भर्ना भएकोमा ७ जना र १२ कक्षामा ३९ भर्ना भएकोमा १२ जना भारत आउने जाने भएकाले कक्षामा नियमित नआउने गरेको उनले बताए । अन्य कक्षाको समस्या पनि यस्तै भएको उनले सुनाए ।
७ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीका ७.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । मन्त्रालयका अनुसार डोल्पा र जुम्लामा सबैभन्दा बढी १३.६ प्रतिशत बालबालिका विद्यालय जान पाएका छैनन् ।
सुर्खेतमा सबैभन्दा कम ६.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । यसैगरी, हुम्लामा ११.६ प्रतिशत, मुगुमा ९.३ प्रतिशत, दैलेखमा ६.९ प्रतिशत, सल्यानमा ६.८ प्रतिशत, जाजरकोटमा ६.७ प्रतिशत, कालिकोट र रुकुमपश्चिममा ६.२ प्रतिशत बालबालिका विद्यालय गएका छैनन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीका ५ देखि १२ वर्ष उमेरका १८ हजार ५ सय ४३ बालबालिका विद्यालय नै जाँदैनन् । जसमा ८ हजार ९ सय ९५ बालिका र ९ हजार ६ सय ६ बालक छन् । यसले पनि सामुदायिक विद्यालयमा पढ्ने बालबालिका विभिन्न कारण विद्यालय जानबाट वञ्चित रहेको देखाउँछ ।
आर्थिक हिसाबले निकै कमजोर परिवारका बालबालिका नै बढीजसो सामुदायिक विद्यालयमा पढ्छन् । कर्णालीमा विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको दर पनि धेरै छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कक्षा १ मा भर्ना भएका १ सय विद्यार्थीमा कक्षा ५ सम्म पुग्दा ८० जना मात्र हुन्छन् । हरेक तहमा २० प्रतिशतका दरले विद्यालय ‘ड्रपआउट’ भइरहेको मन्त्रालयको तथ्यांक छ ।
बालबालिकाको पढाइ निरन्तरतामै कठिन
कर्णालीका बालबालिका अभिभावकसँगै परदेशिने चलन जस्तै बनेको छ । यसले गर्दा विद्यार्थी बीचमै पढाइ छोडेर पढ्ने उमेरमै भारतमा काम गर्दै छन् । विपन्न परिवारका छोराछोरी पढ्दै गर्दा अभिभावसँगै भारत जानुपर्ने बाध्यता भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथ्यांक तथा अनुसन्धान शाखाका अधिकृत बलवीर सुनार बताउँछन् ।
‘यो समस्या समाधानका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । उनले भने,‘दलित अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं । विभिन्न संघसंस्थासँगको समन्वयमा सचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौं । भर्ना अभियान पनि चलाउँछौ ।’ तर पनि बालबालिकालाई रोक्न नसकिएको उनको भनाइ छ । अभिभावक शिक्षा र आयआर्जनको गर्ने माध्यम खोज्न आवश्यक रहेको उनले बताए । यसरी भारत जाने बालबालिकाको संख्या साह्रै धेरै नभए पनि उनीहरूलाई रोक्न नसकिएको सुनारको भनाइ छ ।
रोजगारीका लागि भारत जाँदा बालबच्चाको रेखदेख गर्ने कोही नहुँदासँगै लिएर जानुपर्ने अवस्था रहेको स्थानीय पीताम्बर ढकालले बताउँछन् । उनले भने,‘श्रम गर्न जाँदा अभिभावकले धेरै समस्या झेल्नुपर्छ । बालबालिका पनि मारमा परिरहेका छन् । पढाइ छुट्नुका साथै पोषणमा पनि समस्या छ ।’ यसमा सरकारले तत्काल केही गर्न सक्ने अवस्था नदेखिएको उनले बताए ।
मौसमी बसाइसराइको रूपमा रहेको यो समस्या कर्णालीमा व्याप्त रहेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइराला बताउँछन् । गरिबी र स्थानीय स्तरमा रोजगारीको अभावले गर्दा यो अवस्था सिर्जना भएको उनले कोइराला बताउँछन् । अभिभावक कमाउन कालापहाड गएपछि बालबालिका गाउँमै छोड्न सकिने नभएकोले लिएरै जानुपर्ने बाध्यता रहेको छ । उनले भने, ‘परीक्षाको मुखमा मात्र फर्किन्छन्, कोही फर्किँदैनन् पनि । यसले कर्णालीका विद्यार्थीको सिकाइ र नतिजा दर कमजोर बनाएको छ, विद्यालय छाड्ने दर पनि यसले बढाउँछ ।’
यो समस्या समाधानको लागि स्थानीय तह बढी जागरुक हुनुपर्ने तर्क उनको छ । सरकारले मौसमी बसाइँ सराइ रोक्नका लागि स्थानीय स्तरमै रोजगारीका कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ । यसैमा अभिभावक शिक्षाको कार्यक्रमलाई पनि अघि बढाउनुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । ‘कर्णालीमा अभिभावक काममा गएपछि विद्यालय नजाने बालबालिका पनि छन्,’ उनी भन्छन् ‘भाइबहिनीको हेरालु भएर बस्दा विद्यालय छुट्ने बालबालिका पनि यहाँ छन्, यसका लागि तीनै तहका सरकार र सरोकारवाला निकायले ठोस कदम चल्नुपर्छ ।’
