दाल–भात तथा सामान्य खालकै खुवाउँदा पनि पुग्दैन खर्च
What you should know
गुल्मी — दिउँसोको खाजा समय सुरु हुने घण्टी बज्नै आँटेको छ । कक्षा २ मा पढ्ने महेश खत्री आफ्नो टिफिन लिन बाहिर निस्कँदै छन् । उनलाई आफ्नो मात्रै होइन, कक्षाका सबै साथीको टिफिन लैजाने जिम्मेवारी छ ।
कक्षा अनुसार खाजासहितको टिफिन घण्टी बज्नु अगाडि कक्षाकोठा अघि पुग्छ । त्यसपछि विद्यार्थी आफ्ना टिफिन चिन्दै खाजा खान सुरु गर्छन् । टिफिन चिनाउन र साथीहरु भएकै ठाउँमा खाजा पुर्याउन साथी स्वस्तिका मरासिनीले सघाइरहेकी थिइन् ।
कक्षा ३ पढ्ने रितिक ठाकुर पनि आफ्नो कक्षाको टिफिन चिनेर भित्र लगिरहेका थिए । लगत्तै सबैले आ–आफ्नो टिफिन चिनेर खाजा खान सुरु गर्छन् । यो सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई संघीय सरकारको विद्यार्थी खाजा कार्यक्रम अन्तरगत सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा सोमबार दिउँसोको खाजा समयको दृश्य हो ।
यो विद्यालयमा खाजाको जिम्मेवारी विद्यालयभित्रै संचालित चमेना गृह (क्यान्टिन) ले लिएको छ । हरेक बार फरकफरक खाजा खुवाउने यो विद्यालयमा बिहान आफ्नो रित्तो टिफिन विद्यार्थीले शिक्षक कर्मचारीमार्फत क्यान्टिनमा बुझाउँछन् । त्यसपछि खाजा टिफिनमा राखेर कक्षाकोठामै आउँछ । त्यसपछि उनीहरू खाजा खान्छन् । यो उनीहरुको साताका ६ दिनको दैनिकी नै हो ।
सरकारले ५ कक्षासम्मका विद्यार्थीलाई दिउँसोको खाजा उपलब्ध गर्दै आइरहे पनि यसको दर एकदमै न्यून हुँदा भने समस्या हुँदै आएको छ । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रतिविद्यार्थी २० रुपैयाँका बराबरको खाजा उपलब्ध गराउने घोषणा गरे पनि हालसम्म विद्यार्थीहरुले गत वर्षकै प्रतिदिन १५ रुपैयाँका दरले मात्रै पाइरहेका छन् ।
पत्रु खाना (जंक फुड) निषेध गरेर सन्तुलित पौष्टिक खाजा खुवाइरहेका विद्यालयहरुले बृद्धि गरेकै रकमले पनि विद्यार्थीको खाजा टिकाउन मुस्किल हुने गुनासो गर्छन् । गुल्मीमा कक्षा १२ सम्म जम्मा ६२ हजार ४ सय ६ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षा व्यवस्थापन सूचना प्रणाली (इमिस) को पछिल्लो तथ्यांकले देखाएको छ । जिल्लामा कक्षा ५ सम्म अध्ययनरत ३६ हजार ५ सय १३ विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका विद्यालय प्रशासनका रामप्रसाद पन्थीले बताए । यो तथ्यांक अनुसार जम्मा ४ सय ८९ विद्यालयका जम्मा ३६ हजार ५ सय १३ जना विद्यार्थीले खाजाको सुविधा लिएका छन् ।
कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटस्थित जीवनद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले खाजाले विद्यालयमा आर्थिक भार थपेको बताए । ‘हामीले यसअघि कर्मचारी राख्दा त्रैमासिक २० हजार घाटा भयो,’ उनले भने, ‘अहिले क्यान्टिनबाटै खुवाउँछौं तर अवस्था उस्तै छ ।’ आफूहरुले दाल र भात खुवाउँदा समेत पनि थेग्न नसकेको उनले बताए ।
कालीगण्डकीमा दुई दिन दाल र भातसहित अण्डा, चना अण्डा र फ्राई राइस खुवाउने मेनु बनाएको छ । तर पछिल्ला दिनमा चना, अण्डा खुवाउन नसकिएको थापाले सुनाए । ‘अहिलेसम्म १५ रुपैयाँमा जसोतसो निर्वाह भएको छ, पेटभरि खुवाउन त सकिदैन्,’ उनले भने, ‘खाजाबाट विद्यार्थी सन्तुष्ट नभएको तर गुनासो गर्न नसकेको उनले बताए ।
मालिका गाउँपालिका–२ दर्लिङको नेटा दर्लिङ माध्यमिक विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले खाजाको दर न्यून हुँदा निकै कठिन भएको बताए । ‘हामीले बाहिर जिम्मा दिँदा विद्यालयलाई भार छैन्,’ उनले भने, ‘जिम्मेवारी लिनेले काम मात्रै गरेको छ, परिश्रमको मूल्य पाएको छैन् ।’ खिर, रोटी, हलुवा, मकै–भट्टमास र फलफूल समेत खुवाउने गरिएकोमा उक्त दरले निकै कठिनका साथ जेनतेन पुगेको उनले बताए ।
विद्यार्थीको हाजिरी अनुसार पालिकाबाट भुक्तानी भएपछि खाजाको जिम्मा लिएकाले व्यक्तिले भुक्तानी पाउँछ । सबै जोहो उनैले गर्नुपर्छ । यो विद्यालय विद्यार्थी खाजाबाट गत वर्ष ७ हजारको आर्थिक भारमा थियो । रुरुक्षेत्र गाउँपालिका–४ र ५ मा रहेको जनबोध माध्यमिक विद्यालयले विद्यार्थीलाई पेटभरि खाजा खुवाउँछ । प्रतिविद्यार्थी १५ रुपैयाँका दरले नपुगेर विद्यालयको आफ्नो स्रोतबाट १० रुपैयाँ गरी २५ रुपैयाँमा लगानी भइरहेको प्रधानाध्यापक वामदेव ज्ञवालीले बताए । ‘१५ रुपैयाँको खाजाले केही हुँदैन्, यसमा हामीले खर्च गरेर जोहो गरेका छौं,’ उनले भने, ‘कर्मचारी, ग्यास, र भाँडाकुँडामा विद्यालयबाट थप खर्च भइरहेको छ ।’ विद्यालयले यहीँ खाजाकै लागि भनेर मासिक १२ हजार रुपैयाँमा कर्मचारी राखेको छ । मासिक दुई वटा ग्यासले पुगे पनि प्रतिविद्यार्थी २५ रुपैयाँ खर्च हुन्छ । जसका लागि विद्यालयले प्रतिविद्यार्थी १० रुपैयाँ खर्च गर्नुपरेको ज्ञवालीले बताए । यो रकम विद्यालयलको बचत खाताबाट आउने ब्याजबाट व्यवीस्थापन गरिएको छ ।
खाजाले विद्यार्थीलाई सकारात्मक पंभाव पारेको ज्ञवालीले बताए । ‘भोकै पढ्नु र खाजा खाएर आनन्दले पढ्नु त धेरै फरक कुरा हो,’ उनले भने, ‘खाजाको दर बढाउन सके त विद्यार्थीको सिकाइमा अझै राम्रो प्रभाव पार्न सकिन्छ ।’
सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले खाजाका लागि १५ रुपैयाँ एकदमै न्यून भएको बताए । विद्यालयभित्रै संचालन भएको क्यान्टिन भएकोले जसोतसो खाजा खुवाइरहेको उनले बताए । ‘यही दरअनुसार खाजा खुवाउन निकै मुस्किल परिरहेको छ,’ उनले भने, ‘हामीले आफ्नै क्यान्टिन भएकोले व्यवस्थापन गरेका छौं ।’ उनले विद्यार्थीलाई टिफिन हस्तान्तरण र खाजा व्यवस्थापन समिति बनाएर निगरानी गरिरहेको बताए । विद्यालयमा खाजा अन्तर्गत जंकफुड पूर्णरुपमा निषेध छ । ठाउँअनुसार फरक भए पनि विद्यालयमा बारअनुसार दाल र भात, चना, चना र अण्डा, फलफूल, मकै र भट्टमास, हलुवा, खीर र रोटीलगायतका खाजा पाक्ने गरेका छन् । यी र यस्तै ग्रामीण भेगमै उत्पादन हुने वस्तु आयात गरेर खुवाउन पनि दिवा खाजाको हालको दरप्रति विद्यार्थी १५ रुपैयाँले भने नियमित खाजा टिकाउनै मुस्किल परेको छ । दर सानो भए पनि ठूलो परिमाणमा खर्च हुने भए पनि स्थानीय सरकारले यसप्रति कुनै चासो व्यक्त गरेका छैनन् ।
संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्यार्थी खाजामा ५ रुपैयाँ थप गरेर साउन १ देखिनै प्रतिविद्यार्थी २० रुपैयाँ बनाउने घोषणा गरे पनि यहाँका विद्यालयमा हालसम्म कार्यान्वयनमा आउन सकेको छैन् । विद्यार्थीले अहिले पनि १५ रुपैयाँ बराबरकै खाजा खाइरहेका छन् । बजेटमा घोषणा भए पनि कार्यान्वयनमा लैजान बाँकी रहेको मालिका गाउँपालिका–८ स्थित थानपति आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबी खड्काले बताए । ‘कार्यान्वयनमा आउने भनिए पनि कुनै निर्देशन आएको छैन्,’ उनले भने, ‘बढेको दरले केही सहज भए पनि २० रुपैयाँले मात्रै पर्याप्त हुने अवस्था देखिँदैन ।’ ग्रामीण भेगका आधारभूत विद्यालयमा खाजाका लागि बजेट प्राप्त भए पनि पकाउने सहयोगीको व्यवस्था नहुँदा समस्या देखिएको उनले बताए । आफ्नो आम्दानीको स्रोत नभएका विद्यालयले सहयोगीलगायतका अतिरिक्त खर्च गर्न सक्ने स्थिति नभएको उनले सुनाए ।
रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले विद्यार्थी खाजामा थप गरेको रकम कार्यान्वयन गर्न निर्देशिका आइसकेकाले विद्यालयमा भर्खरै परिपत्र गरिएको बताए । तर, हालसम्म थप भएको रकम कार्यान्वयनमा भने नआएको उनले बताए ।
