पूर्वाधार र बस्ती विकासको चपेटामा चुरे, संरक्षणको लगानी खोला नियन्त्रणमै सीमित  

६ वर्षमा चुरे संरक्षणमा मात्र १ अर्ब ४८ करोड बढी खर्च भएको छ भने केबुलकार, सिँचाइ र सडकका ठूला संरचना निर्माणले भू–क्षय बढ्दो छ ।

श्रावण २६, २०८२

घनश्याम गौतम

Under the pressure of infrastructure and settlement development, conservation investment is limited to river control

What you should know

बुटवल — अनियन्त्रित बस्ती विकास र अव्यवस्थित पूर्वाधार निर्माणले चुरे क्षेत्र अतिक्रमणको चपेटामा पर्दै गएको छ । चुरे पहाडको टुप्पामा केबुलकारदेखि सडक, सिँचाइ, विद्युत्‌लगायतका ठूला पूर्वाधारका संरचना निर्माण भइरहेका छन् । लुम्बिनी प्रदेशका दर्जनौँ ठूला सहर पनि चुरे पहाडको फेँदमै विकास भएको र त्यही बस्तीको सुविधाका लागि निर्माण गरिएका विकासका पूर्वाधारले पनि चुरे पहाडमा भू–क्षय बढेको छ ।

रूपन्देहीमा पर्ने चुरे संरक्षित क्षेत्र र चुरे पहाडको फेँदीमा पुर्जाविहीन बस्ती बढ्दै छन् । सरकारले जग्गाधनी पुर्जा वितरण गर्ने आशामा अहिले पनि चुरेको जंगल फडानी गरेर बस्ती विकास गर्ने, डोजर प्रयोग गर्दै सडक निर्माण भइरहेका छन् ।

रूपन्देहीका देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका झन्डै डेढ दर्जन बजार चुरे फेँदीको ऐलानी जग्गामा छन् । देवदह नगरपालिका क्षेत्रको केउली, सरनटारी, सटाकखोला गाउँमा डोजर नै लगाएर स्थानीयले जंगल फडानी गर्ने, खेती जमिन सम्याउने, सडक खन्ने काम गर्ने गरेका छन् । चरंगे क्षेत्रमा जंगल हुँदै आएको घोडाहा खोलामा पनि गिट्टी बालुवा निकाल्न चुरेसम्मै डोजर र एक्स्काभेटर पुग्ने गरेका छन् । देवदहका दाउन्ने, खैरेनी, चरंगे, शितलनगर, केउलीका बस्तीमा पनि चुरे खोतल्ने क्रम निरन्तर छ । 

दाङको भालुबाङका झन्डै १ हजार ३ सय घर राष्ट्रिय वन र चुरे पहाडको जग्गामा छन् । रूपन्देहीको सैनामैना पनि चुरेको फेंदलाई आधार बनाएर बस्ती विकास भएको सहर हो । सैनामैनाको ४५ प्रतिशत बस्ती ऐलानी र चुरेकै फेँदमा छ । मुर्गिया, पर्रोहा, झारबैरा, सोरौली, कलौनी लगायतका बस्ती चुरे फेँदमै छ । चुरेको ऐलानी जग्गामै बस्दै आएका सैनामैनाका ४० प्रतिशत बढी घरधुरी अहिले पनि जग्गाधनी पुर्जाविहीन छन् ।

चुरे पहाडमै सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन् गर्दा चुरे छियाछिया पर्न थालेको छ । बुटवल उपमहानगरपालिकाभित्र पर्ने चुरे संरक्षित क्षेत्र बसन्तपुर र नुवाकोट डाँडामा बस्ती विकास हुन थालेको छ । दुवै डाँडामा डोजर र एक्स्काभेटर प्रयोगले जमिन छियाछिया भइरहेको छ । 

Under the pressure of infrastructure and settlement development, conservation investment is limited to river control

दुवै डाँडामा संघीय सरकारको स्वीकृति लिएरै जंगल मासेर संरचना निर्माण भइरहेका छन् । बुटवलबाट निर्माण सामग्री पुर्‍याउने उद्देश्यले नुवाकोटसम्म चुरेकै जंगल फडानी गरेर ८ किलोमिटर सडक निर्माण गरिएको छ । त्यसले यस क्षेत्रका चुरे प्रतिदिन दोहन र अतिक्रमणको चपेटामा पर्दै गएको वातावरण संरक्षण अभियन्ता युवराज कँडेलले बताए ।

‘चुरेका छेउमा जंगल फडानी गरेर बस्ती बस्ने, त्यो बस्तीको सुविधाका नाममा सडक खन्ने र गाउँ बस्तीमा प्रयोग हुने डोजरले चुरे छियाछिया भइरहेको छ,’ उनले भने, ‘चुरेको संरक्षणमा तीन तहकै सरकार संवेदनशील देखिएनन् ।’ चुरे क्षेत्रमा जंगल फडानी पनि बढ्दो छ । जंगल फडानीपछि त्यही क्षेत्रमा बस्ती विकास हुन्छ । त्यसको प्रत्यक्ष असर चुरे विनाशमै पर्ने उनले बताए ।

सैनामैनाको वनकट्टीबाट चुरेको जंगल फडानी गरेरै पाल्पाको तिनाउ गाउँपालिकाको झिंगामारासम्म सडक निर्माण भइरहेको छ । सडक निर्माणसँगै चुरेमा वन विनाश बढ्दो छ । चुरेमा सडक निर्माण, बस्ती विकासले बर्सेनि वातावरणीय प्रदूषणदेखि भू–क्षयका घटना बढ्न थालेका छन् ।

सैनामैनाका पुराना राजनीतिज्ञ रामवली चौधरीले सरकारले समयमै चुरे क्षेत्रमा बस्ती विकासको काम रोक्नुपर्ने बताए । ‘हामीले ५०/६० वर्षदेखि जंगल संरक्षण गर्नुपर्छ भन्दै आएका छौं,’ उनले भने, ‘तर, अहिले त्यही जंगल छेउछाउमा बस्ती बसाएर पुर्जा वितरण गर्ने प्रयास हुन थालेको छ ।’ त्यसले चुरेको विनाश थप बढ्ने र जंगल फडानी गरेर बस्ती बसाउनेकै मनोबल बढ्ने छ । रूपन्देहीको देवदहदेखि पूर्वपश्चिम राजमार्गको सैनामैनासम्मको उत्तरी क्षेत्रको अधिकांश जमिन चुरे संरक्षित क्षेत्रमा पर्छ । त्यसलाई अहिले स्थानीय सरकारले ऐलानी, चुरे उखडा क्षेत्र, सुकुम्बासी, ८ नम्बर ब्लक, वन क्षेत्र, नदी उकास क्षेत्रका नाममा वर्गीकरण गरेर जग्गाधनी पुर्जा वितरणको तयारी गरेका छन् । 

Under the pressure of infrastructure and settlement development, conservation investment is limited to river control

१ सय ३६ वर्ग किलोमिटरमा फैलिएको देवदहको झन्डै ५० प्रतिशत जमिन वन र चुरे क्षेत्रमै छ । त्यही वन छेउछाउ अतिक्रमण गर्दै बस्ती बसाउने क्रम अहिले पनि जारी छ । देवदहको उत्तरी क्षेत्रमा रहेको पाल्पाको माथागढी गाउँपालिकामा पाल्पा सिमेन्ट उद्योगले चुनढुंगा खानी सञ्चालन गरिरहेको छ । चुरे क्षेत्रकै हात्तिलुङ डाँडाबाट दैनिक सयौं टिपरले चुनढुंगा ओसारपसार गर्छन् । त्यही क्षेत्रमा बर्सेनि सडक निर्माण र विस्तार हुने गरेको छ । सिमेन्ट उद्योगले निर्माण गरेको सडकले जंगलसम्मै बस्ती विकास भइसकेको छ । चुरेको जंगल हरेक वर्ष अतिक्रमणको चपेटामा पर्दै गएको देवदहका वन क्षेत्र र अव्यवस्थित बसोबासीका विषयमा अध्ययन गरिरहेका स्थानीय सिद्धिचरण भट्टराईले बताए । ‘छिटोभन्दा छिटो अव्यवस्थित बसोबास व्यवस्थापन नगरे चुरेको जंगल सिद्धिन्छ,’ उनले भने, ‘राज्यले चुरे क्षेत्र संरक्षण गर्ने गरी बस्ती विकास र व्यवस्थापन गर्नु जरुरी छ ।’ तर, सरकारका पछिल्लो निर्णय र कार्यक्रमले चुरे संरक्षण भन्दा अतिक्रमणमै लाग्नेलाई बल पुग्न थालेको उनले बताए । 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय बुटवलले लुम्बिनी प्रदेशका ७, गण्डकी प्रदेशका २ र कर्णाली प्रदेशको १ गरी १० जिल्लाको चुरे क्षेत्रमा संरक्षणका काम गर्दै आएको छ । तर, कार्यालयलाई पूर्वाधार निर्माण र मानवबस्तीका कारण चुरेमा भइरहेको क्षति नियन्त्रणभन्दा पनि चुरेबाट उत्पन्न भएका खोलाहरुले पुर्‍याइरहेको क्षति नियन्त्रणमा मात्र कामको जिम्मेवारी प्रदान गरिएको छ । त्यसले चुरे संरक्षणका नाममा बर्सेनि भइरहेको करोडौं रकम उपलब्धीविहीन देखिएको छ ।

तर, कार्यालयलाई सिँचाइ, तटबन्ध, गल्छी, पहिरो रोकथाम, भूमिगत जलपुनर्भरण र सतहमुनिको पानी उपयोग, पोखरी संरक्षण तथा व्यवस्थापन, तालतलैया संरक्षणलगायतका कामको जिम्मेवारी मात्र रहेको कार्यालयका प्रमुख अणनाथ बरालले बताए ।

‘अनियन्त्रित बस्ती, पूर्वाधार विकास, खानीजन्य उत्खनन्, नदी दोहन र चुरे अतिक्रमण प्रमुख चुनौती हुन्,’ उनले भने, ‘तर, त्यसको नियमन र नियन्त्रणको अधिकारसमेत चुरे संरक्षण कार्यालयलाई छैन ।’ कार्यालयले समस्या देखिए स्थानीय प्रशासनलाई जानकारी दिने उनले बताए । तीन तहकै सरकारबाट चुरे संरक्षण क्षेत्र र चुरे पहाडमा हुने विकासका योजना निर्माण गर्दा प्राविधिक अध्ययन, स्थान अनुसारको आवश्यकता नहेरी र हुन सक्ने क्षयीकरणको अध्ययन नगरी काम अतिक्रमण र भू–क्षय बढ्दै गएको उनले बताए । 

Under the pressure of infrastructure and settlement development, conservation investment is limited to river control

चुरे संरक्षण योजना कार्यान्वयन इकाइ कार्यालयका प्रवक्ता एवं वैज्ञानिक अधिकृतका अनुसार कार्यालयले चुरे क्षेत्रको संरक्षणमा गत वर्ष मात्र पुँजीगत तर्फ १५ करोड १७ लाख ७९ हजार खर्च गरेको थियो । त्यसबाट तटबन्ध, बाँध निर्माण, सिँचाइ संरचना निर्माण, वन तथा वातावरण संरक्षण, अन्य सार्वजनिक निर्माण गरी ७८ वटा क्रियाकलाप गरिएको थियो ।

चुरे संरक्षणका लागि बुटवलमा २०७६ सालमा इकाइ कार्यालय स्थापना गरिएको थियो । त्यसयता अहिलेसम्म १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ खर्च भइसकेको पाण्डेले बताए ।

‘नवलपरासीलाई दुई जिल्ला गन्दा १० जिल्लामा अहिलेसम्म झन्डै १ अर्ब ४९ करोड खर्च भएको देखिन्छ,’ उनले भने, ‘जिल्लागत रूपमा सबैभन्दा बढी दाङमा ४९ करोड १५ लाख र सबैभन्दा कम तनहुँमा ६४ लाख रुपैयाँ खर्च भएको छ ।’

कपिलवस्तुमा ३१ करोड, रूपन्देहीमा २४ करोड १३ लाख, पूर्वी र पश्चिम दुवै नवलपरासीमा १९ करोड, अर्घाखाँचीमा १४ करोड ६३ लाख, सल्यानमा ४ करोड ४४ लाख, पाल्पामा ४ करोड ४४ लाख र प्यूठानमा ८६ लाख खर्च भएको कार्यालयले जनाएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully