व्यवस्थित र भरपर्दो छेकबार नहुँदा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैंडा, हात्ती, बँदेलबाट खेती जोगाउन किसानले आफ्नै सुरले राखेको विद्युतीय धरापले दुर्लभ वन्यजीवको मात्रै हैन मान्छेकै ज्यान लिन सुरु गरेको छ ।
What you should know
चितवन — निकुञ्जबाट निस्कने जंगली हात्ती र एकसिंगे गैंडाबाट धान, मकै, गहुँलगायतका मुख्य बाली जोगाउन किसानले खेतलाई नाङ्गो तारले घेरेर त्यसमा बिजुली छाड्दा विगतमा करेन्ट लागेर दुर्लभ वन्यजीब गैंडा मर्ने घटना पटक–पटक भएका छन् ।
तर यो पटक त्यस्तो जोखिमयुक्त धरापमा परेर मान्छेकै ज्यान गयो । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रको दुई ठाउँमा यस्तो धरापमा परेर एकै दिन गैंडा र मान्छेको निधन भएको छ ।
चितवन राप्ती नगरपालिका–१ घर भएका ३३ वर्षीय लालबहादुर मोक्तान बुधबार बिहान मकवानपुर मनहरी गाउँपालिका–६ जोगीतालको आफ्नो धान खेतमा मृत भेटिए । गैंडा लगायतका जनावरलाई खेतमा छिर्नबाट छेक्नका लागि धानखेत बारेर अनियन्त्रित रुपमा छाडेको करेन्टका कारण उनको ज्यान गएको चितवन निकुञ्जले जनाएको छ । सो क्षेत्र चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्दछ ।
मान्छे मृत फेला परेको यो खबर आउँदा नआउँदै चितवनको दक्षिणी क्षेत्र पाँचपाण्डब मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने माडी नगरपालिका–२ भैरवपुरमा बुधबार बिहानै धानबारीमा गैंडा मृत भेटियो । स्थानीय हरिभक्त श्रेष्ठले धान जोगाउन गरेको विद्युतसहितको तारबारमा परेर करेन्ट लाग्दा गैंडा मरेको निकुञ्जको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
जंगली जनावरलाई छेकबार लगाउने बैधानिक उपाय पनि छन् । तर यी घटनामा मान्छे र गैंडाको ज्यान लिने विद्युतीय छेकबार बैधानिक उपाए हैन । नियन्त्रित रुपमा बिजुली पठाएर जनावरलाई झट्का मात्रै दिने विद्युतीय तारबार मध्यवर्ती क्षेत्रमा लामो समयदेखि प्रयोगमा छ । तार छुँदा झट्का लागेपछि जनावर भाग्छन्् । ‘झट्कामा परेको गैंडा बिना करेन्टको तार देखे पनि नजिक नपर्ने रहेछ,’ माडीको वन्यजन्तु प्रभावित अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले सुनाए ।
तर यस्तो झट्का तारले जंगली हात्तीलाई रोक्न गाह्रो छ । बुधबार घटना भएका दुवै ठाउँमा जंगली हात्ती र गैंडा दुवैले बालीनाली खाएर सताउने गर्छन् । हरियो हुँदै गर्दा धान खान गैंडा आउँछ भने पसाएर छिप्पिने बेला भएपछि जंगली हात्तीको समूह आएर नोक्सान गर्दछ । हात्ती रोक्न कंक्रिटको पर्खाल केही क्षेत्रमा लगाए पनि माडी र मनहरी दुवै ठाउँमा यस्तो पर्खाल छैन । नियन्त्रिन विद्युतीय तारबार पनि पुरानो भएर प्रभावकारी छैन ।
मनहरी जोगीताल क्षेत्रमा पहिला मध्यवर्ती उपभोक्ता समितिले नै झट्का मात्रै दिने व्यवस्थित र नियन्त्रित विद्युतीय तारबार गरेको थियो । ‘त्यो पुरानो भयो, काम गरेन । फेरि पछि वडाले पनि गरेको थियो । त्यसले पनि काम गर्न छाड्यो । अहिले त्यो क्षेत्र छेकबारबिहीन जस्तै थियो,’ चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङबोले भने । बालीनाली नोक्सान गर्नेमा ठूला जनावर धेरै छन् ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नबाली क्षति सम्बन्धी मध्यवर्ती क्षेत्रमा ४ सय ५६ वटा घटना भए । जसमा सबैभन्दा धेरै २ सय ५५ घटना गैंडा र ६७ हात्तीबाट भएको निकुञ्जको सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए । १ सय वटा घटना जंगली बँदेलका कारण पनि भएका थिए ।
चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मकवानपुर र पर्साका १ महानगर, ८ नगरपालिका र ३ गाउँपालिका छन् । खासगरी मध्यवर्ती क्षेत्रका बस्ती बलियो छेकबार नभए किसानलाई वन्यजन्तुबाट बाली जोगाउन सकस हुन्छ । ‘कंक्रिटको पर्खाल लगाउन निकुञ्ज या मध्यवर्तीको बजेटले सकिदैन । हामीलाई बढी आउँदा वर्षमा ४०/४२ लाख रुपैयाँ आएको थियो । अहिले त्यो पनि घट्दो छ । कंक्रिटवाल लगाउँदा करोडौं लाग्छ,’ लोथर उपाभोक्ता समितिका अध्यक्ष स्याङबोले भने ।
मध्यवर्ती क्षेत्रमा ४५ हजार घरधुरीमा ३ लाखभन्दा बढी जनसंख्या बसोबास गर्ने निकुञ्जको तथ्याङ्क छ । ७ सय २८ वर्ग किलोमिटरमा फैलिएको मध्यवर्तीमा मान्छे र खेतीलाई जनावरबाट जोगाउने कार्य निकै चुनौतिपूर्ण बनेको छ । ‘मुख्य बस्ती र खेती क्षेत्रमा कुनै न कुनै रुपको छेकबार पुगेकै छ । कतै कंक्रिट वाल छ । कतै मेस जाली र प्रायः ठाउँमा झट्का मात्रै दिने विद्युतीय तारबार गरेको हो,’ निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले बताए । तर झट्का दिने तारबार मर्मत सम्भारको अभावमा काम गर्न छाडेका छन् । ‘दुई/तीन वर्षयता यस्तो अवैधानिक तरिकाको अनियन्त्रित विद्युतीय धराप राख्ने क्रम बढेर गएको छ,’ निकुञ्जका सूचना अधिकारी थापा मगरले भने । झट्का मात्रै दिने नियन्त्रित विद्युतीय तारबार पनि जोखिमरहित भने छैन । यस्तो तारबारमा अड्केर माडी अयोध्यापुरीमा २०८० असोजमा एक युवकको ज्यान गएको थियो । त्यसमाथि अनियन्त्रित बिजुली प्रवाह हुने धरापहरु पूर्णरुपमा जोखिमयुक्त छन् । चितवन निकुञ्जका अनुसार करेन्ट लागेर गत आर्थिक वर्षमा पनि एउटा गैंडा मरेको थियो । आर्थिक वर्ष ०७३/७४ देखि २०८१/८२ सम्म कम्तीमा आठ वटा गैंडा करेन्ट लागेर मरेको निकुञ्जको विवरणमा उल्लेख छ ।
विश्वमा अतिनै कम संख्यामा रहेको एकसिंगे गैंडा दुर्लभ वन्यजन्तु भएका कारणले यसलाई मारेमा वा यसको अंग खागको कारोबार र ओसार पसार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । खेतमा गैंडा मरेपछि खेतधनीमाथि अनुसन्धान र मुद्दा प्रक्रिया सुरु हुन्छ । कानुनी कारवाही र ज्याननै खतरामा पर्ने गरी किसानले किन अपनाइरहेका छन् यो अवैधानिक धराप ?
बलियो र भरपर्दो छेकबारको अभावमा जनावर पसेर गर्ने नोक्सानीको क्षतिपूर्ति पर्याप्त नहुँदा किसानलाई जे जसरी हुन्छ बाली जोगाउने दवाब परेको छ । निकुञ्जका सूचना अधिकारी थापा मगरले जंगली जनावरबाट बालीनाली क्षति भएमा किसानले एक बालीको बढीमा १० हजार रुपैयाँसम्म राहत पाउने बताए । हुर्कदो या पाक्न लागेको बाली जनावरले खाँदा हुने नोक्सानी योभन्दा ठूलो हुन्छ ।
‘बालीनाली क्षतिमा प्राप्त हुने राहत रकम नोक्सानीको तुलनमा न्यून छ,’ मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले भने । न राहत रकम पर्याप्त पाइन्छ, न जनावर रोक्ने उपयुक्त छेकबारको राम्रो प्रबन्ध हुन सकेको छ । जसले गर्दा किसानले कानुनी कारवाहीको भागीदार हुने मात्रै नभएर आफ्नै ज्यानको पनि जोखिम मोलेर खेतमा विद्युतीय धराप राख्न थालेका छन् । जसमा दुर्लभ वन्यजीवका साथै मान्छे नै पर्न थालेका छन् ।
