आर्थिक वर्ष २०८१/०८२ को सुरुदेखि चालु आर्थिक वर्षको साउन १० गतेसम्म मधेश प्रदेशमा करेन्ट लागेर २९ जना किसानको मृत्यु भएको छ ।
What you should know
रौतहट — खडेरीको सामना गरिरहेका मधेशका किसान मध्य साउनसम्म रोपाइँ गर्न नपाएर सिँचाइको वैकल्पिक जोहोमा लागिरहेका छन् । खेत बाँझो हुने अवस्था आएपछि आत्तिएका किसानहरू भ्याएसम्म खेतमा बोरिङ जडान गर्न थालेका छन् । तर, प्रक्रिया र सावधानी नअपनाउँदा करेन्ट लागेर अनाहकमै ज्यान जाने घटना बढिरहेका छन् ।
सिँचाइका लागि खेतमा विद्युतीय मोटर जोड्ने क्रममा साउन ७ गते दिउँसो कटहरिया नगरपालिका–२ का ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर मृत्यु भयो । सोही दिन माधवनारायण नगरपालिका–४ का ४० वर्षीय रामबाबु मुखियाको पनि करेन्ट लागेर मृत्यु भयो । खेतमा सिँचाइका लागि मोटरबाट पानी पटाउने क्रममा राति करेन्ट लागेर घाइते भएका मोक्तारलाई उपचारका लागि गरुडास्थित ग्रान्डी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बिजुलीको पोलमा खुला तार राखेर बोरिङ सञ्चालन गर्दा करेन्ट लागेर उनको मृत्यु भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए ।
२०८१ साउन १ देखि २०८२ साउन १० गतेसम्म करेन्ट लागेर मधेश प्रदेशमा मृत्यु भएको तथ्यांक
स्रोत : मधेश प्रदेश प्रहरी कार्यलय
साउन पहिलो साता सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा रोपाइँका लागि विद्युतीय मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर स्थानीय करिब ६२ वर्षीय वृद्ध रामप्रित पण्डितको मृत्यु भयो । मोटर जडान गरी रातिदेखि पानी पटाइरहेका पण्डित बिहानसम्म घर नआएपछि छोरा खेतमा पुग्दा मृत फेला परेको प्रहरीले जनायो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
धनुषाको हंसपुर नगरपालिका–३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर साउन ८ गते मृत्यु भएको थियो । दिउँसो खेतमा सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते भए । उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिएकोमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण सिंहले जानकारी दिए । सोही दिन बाराको सुवर्ण गाउँपालिका–७ बहुअर्वा बस्ने ५७ वर्षीय धतु रायभरको करेन्ट लागेर बेलुकी मृत्यु भयो । आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भए । उनलाई तत्कालै स्थानीय एसआरपी अस्पताल कबहीमा लगियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनायो ।
खडेरीले खेत रोप्न ढिलाइ हुँदा किसानले विद्युत प्राधिकरणसित समन्वय, प्रक्रिया पूरा नगरी हुकिङबाट बोरिङ सञ्चालन गर्दा करेन्ट लागेर मृत्यु हुने घटना बढ्न थालेका हुन् । गत आर्थिक वर्षमा मधेश प्रदेशमा बोरिङबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर २९ जना किसानको ज्यान गएको छ । जथाभावी हुकिङ गर्दा ज्यान जान्छ भन्ने हेक्का नराख्दा करेन्ट लागेर मृत्युका घटना बढिरहेका हुन् । विद्युत प्राधिकरणले हुकिङ नगर्न सम्झाउँदै आए पनि किसानले अटेरी गर्दै आएको जनाएको छ । किसानहरू खेतमा मोटर, बोरिङबाट सिँचाइ गर्दा ११ हजार भोल्टको तल ४०० भोल्टको खम्बामा सिधै तार अड्काएर बोरिङ मेसिनमा जडान गरेको पाइएको छ । यसरी लापरबाहीपूर्ण तरिकाले प्रयोग गर्नु अत्यन्तै जोखिम भएको विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा प्रमुख धीरेन्द्रकुमार यादव बताउँछन् । ‘हामीले किसानलाई सम्झाई बुझाई यसरी तार राख्ने काम नगर्नुस् त भन्छौं । तर उनीहरूले भनेको नटेर्दा अवस्था गम्भीर बन्न जान्छ । करेन्ट लागेर अकालमा ज्यान गइरहेको छ,’ उनले भने । विद्युत कर्मचारीका अनुसार खेतमा पानी पटाउने निहुँमा किसानले नांगो तारमा सामान्य प्लास्टिक बेरेर लैजाने गर्छन् । त्यस्तो तार पानीमा परे पछि बाहिर करेन्ट सप्लाई भएर मानिसको मृत्युका घटना भएका हुन्छन् ।
करेन्ट लागेर किसानको मृत्यु हुने घटना बढे पछि जिल्ला प्रशासन कार्यालयले साउन १२ गते सावधानी अपनाउने सम्बन्धी सूचना नै जारी गरेको छ । कृषि कार्यमा प्रयोग हुने विद्युतीय मोटर सञ्चालन गर्दा असावधानीका कारण घाइते र मृत्युको संख्या अत्यधिक बढेकोले घटना न्यूनीकरणका लागि विद्युत प्राधिकरणसित समन्वय गरेर सावधानी अपनाउन अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले बताए । ‘किसानलाई यतिखेर पानीको आवश्यकता छ । उनीहरूले जसरी पनि खेतमा पानीको व्यवस्था गर्नुपर्ने छ,’ उनले भने,‘बोरिङ सञ्चालन गर्दा प्राधिकरणसित समन्वय गर्ने र नियमानुसार गर्दा घटना हुँदैनथ्यो होला । तर जथाभावी हुकिङ गर्दा मृत्युका घटना बढे ।’
सामान्यतया साउन १५ सम्म रोपाइँ सक्ने पर्थ्यो । तर पानी नपरे पछि मधेशका अधिकांश किसानको खेत बाँझो छ । यस वर्ष जमिनमुनिको पानी समेत सुक्दै जान थालेको छ । जेठ, असारमा रोपाइँ गरेका धानका बोट धमाधम सुक्न थालेका छन् । जमिनमा धाँजा फाँटेको छ । रोपाइँ हुन नसकेका किसान छटपटिएका छन् । साउन १५ सम्म जिल्लामा ६० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ । मौलापुर र फतुवा विजयपुर नगरपालिकाले किसानलाई घरायसी र सिँचाइका लागि विद्युत महसुल तिरिदिने गरेको छ । यसरी विद्युत खपत गरे बापत मौलापुरले गत वर्ष प्राधिकरणलाई ४ करोड रकम तिरेको थियो । फतुवाविजयपुरले पनि २ करोड माथिको रकम बुझाएको छ । पालिकाले नै महसुल तिरे पनि किसानले हुकिङ गरेको देख्दा अचम्म लाग्ने विद्युत प्राधिकरणको मौलापुर शाखा प्रमुख रामबिनेश यादवले बताए । ‘हुकिङ नगर्नुस् भनेर सम्झाउँदै आएका छौँ । न किसानले मानेका छन् । न अरूले नै,’ उनले भने,‘जब नगरपालिकाले नै महसुल तिरेको छ भने चोरी गर्नुपर्ने कारण नै छैन । किसानको अवस्था देखेर हामी आफै परेसान छौँ ।’ खेतमा हुकिङ गरेको अवस्थामा प्राधिकरणले धेरै किसानको मोटर झिकेर ल्याएको जनाएको छ । प्राधिकरणले उनीहरूलाई जरिवाना समेत गरेको छ । खेत रोप्न नपाएपछि पानीको जोहो गर्न बोरिङ गरेको फतुवाविजयपुरका किसान सुखल साहले सुनाए । ‘मिटर जडान गर्ने समय नभएकाले जोखिमपूर्ण हो भन्ने थाहा भए पनि मैले हुक लगाएर बोरिङ चलाएको छु,’ उनले भने, ‘अब रोपाइँ सके लगत्तै मिटर जडान गरेर बोरिङसम्म पुर्याउँछु ।’
लापरबाहीले मृत्यु भएको खण्डमा प्राधिकरणले पीडितको निवेदन दर्ता पछि छानबिन समिति गठन गर्छ । जिल्ला प्रशासन र स्थानीय तहका प्रतिनिधिसहितको समितिले घरमा पुगेर वास्तविक पत्ता लगाउँछ । प्राधिकरणको लापरबाही हो भन्ने यकिन भएपछि मात्र ५ लाख क्षतिपूर्ति दिने विद्युत प्राधिकरण प्रदेश कार्यालय जनकपुरले जनायो । कार्यालयका अनुसार करेन्टबाट गोरु मरे १५ र भैंसी मरेको हकमा २० हजार क्षतिपूर्ति दिइन्छ । पोल ढलेर, तार झरेर वा आफ्नो हेलचक्र्याइँ मानिसको ज्यान गएको छ भने मात्र प्राधिकरणले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।
प्राधिकरणले वार्षिक कार्यक्रमको बेला विद्युतको जोखिमबाट जोगिन भन्दै र्याली निकाल्ने गरेको छ । करेन्ट लागेर मृत्युको घटना पछि प्रहरीले पीडितबाट भवितव्यको जाहेरी लिएर दर्ता गर्दै आएको छ । जाहेरी दर्ता पछि कसैले करेन्ट लगाइदिएको हो वा आफै लागको भन्ने गहिरिएर अनुसन्धान गरिने जिल्ला प्रहरी रौतहटका डिएसपी दीपककुमार रायले बताए । अधिकांश घटनामा मृतकको लापरबाहीकै कारण देखिने गरेको प्रहरी अनुसन्धानमा पाइएको छ । प्राधिकरणले पनि बिजुली उपयोगमा अपनाउनुपर्ने सावधानीबारे गाउँस्तरमा सचेतना कार्यक्रम गरेको छैन । प्राधिकरणको मधेश प्रदेश कार्यालयका अनुसार २०७५ सालयता सप्तरीदेखि पर्सासम्मका ८ जिल्लामा ५ वर्षको अवधिमा ३८ जनाले क्षतिपूर्ति पाएका छन् । प्राधिकरणका अनुसार सिराहामा ३, धनुषामा १४, महोत्तरीमा ५, सर्लाहीमा ४, रौतहटमा ६, बारामा ५ र पर्सामा १ जनाको करेन्ट लागेर मृत्यु भए पछि प्राधिकरणको लापरबाही भन्दै ५ लाख क्षतिपूर्ति लिएका हुन् ।
यो समाचारसँग सम्बन्धित अन्य समाचारहरु
