भूकम्पपीडित बस्तीमा खानेपानीको पिरलो

२०८० को भूकम्पले जाजरकोट, सल्यान र रुकुम पश्चिममा ४ सय ८० खानेपानी योजनामा झन्डै ३ अर्बको क्षति, सर्वसाधारण आधादेखि एक घन्टासम्म हिँडेर खोला र भेरी नदीको दूषित पानी उपभोग गर्न बाध्य

श्रावण १२, २०८२

कृष्णप्रसाद गौतम

Water scarcity in earthquake-affected settlements

What you should know

सुर्खेत — जाजरकोटको बारेकोट गाउँपालिका–६ घर्तीगाउँकी तुलसा घर्ती खानेपानीका लागि दिनहुँ आधा घन्टा टाढाको पानीखोला मुहानमा पुग्छिन् । स्थानीय तासे खानेपानी योजनाको मुहान र ट्यांकीमा २०८० कात्तिकको भूकम्पले क्षति पुर्‍याएपछि गाउँमा झन्डै २१ महिनादेखि खानेपानीको पिरलो भएको हो ।

 भूकम्पले बारेकोट–१ स्थित बयाला खानेपानी योजनामा पनि क्षति पुर्‍याएको थियो । ‘बिहान ल्याएको एक गाग्री पानीले खाना पकाउनै पुग्दैन,’ स्थानीय सरस्वती घर्तीले भनिन्, ‘खडेरी लागेपछि गाउँ वरिपरिका मुहान पनि सुके, भोक प्यास नभनी दिनभर एक जनाको काम नै पानी बोक्ने नै हुन्छ, अहिले त अड्कलेर पानी प्रयोग गर्न बाध्य छौं ।’

भूकम्पका कारण मुहान पुरिएपछि अहिले दुई गाउँका झन्डै दुई सय परिवार पनि झन्डै आधा घन्टा हिँडेर पानीखोला, लहरेखोला, जामुनलगायत खोलाको पानी ल्याउन बाध्य छन् । ‘बिहान–बेलुकाको समय खानेपानी जुटाउँदैमा बित्छ,’ तुलसाले भनिन्, ‘चर्पीमा लिने पानी नहुँदा जंगलमा खुला शौच गर्न बाध्य छौं, लुगा धुन र नुहाउन खोलामै झर्नुको विकल्प छैन ।’

०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जिल्लाभरिका १ सय ४३ खानेपानी योजनाको मुहान सुकेको जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको तथ्यांक छ । समितिका अनुसार १ सय ६ खानेपानी योजनाको टंकी, पाइपलाइनलगायत संरचना भत्किएका कारण खानेपानीको आपूर्ति बन्द भएको हो ।

खानेपानीको समस्याका कारण टहराको बसाइ कष्टकर बनेको भेरी–१ रिम्नाकी पूर्णकला रानाले बताइन् । उनका अनुसार पिउनेदेखि शौचालय जान र पशुचौपायालाई खुवाउने पानीको जोहो गर्नै रिम्नाका झन्डै डेढ सय घरधुरीलाई धौ–धौ भएको छ । गाउँमाथिको बुदबुदी खानेपानी मुहानको पानी भूकम्पका कारण भासिएपछि धारामा पानी आउन छोडेको उनले बताइन् । अहिले आधा घन्टा टाढाको भेरी नदी गएर पानी ल्याउनुपर्ने बाध्यता भएको उनको गुनासो छ । ‘पानीको अभावमा आसपासका झाडीहरुका गएर शौच गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘स्थायी आवास बनाउन त सरकारले बेवास्ता गर्‍यो नै खानेपानीको जोहो पनि गरिदिएन ।’

भेरी नदीको दूषित पानीका कारण गाउँमा झाडापखाला, टाइफाइडलगायतका स्वास्थ्य समस्या देखिने गरेको त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर पुनले बताए । उनका अनुसार रिम्नाभन्दा माथिको गाउँ डाँडाटोल करिब ३ सय परिवार पनि झन्डै एक घन्टा हिँडेर भेरीमा आई पानी उपभोग गर्न बाध्य छन् । ४ सय ५० विद्यार्थी अध्ययनरत विद्यालयमा खानेपानी अभाव हुँदा विद्यालयका चार शौचालय प्रयोगविहीन रहेको र विद्यार्थीले घरबाटै बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।

लामो खडेरीका कारण गाउँ वरिपरिका मुहान सुक्दा पानीका लागि ठूलो सास्ती भोग्नुपरेको बारेकोट गाउँपालिका—९ काप्केका का धनबहादुर विकले बताए । उनका अनुसार काप्के खानेपानी योजनाको मुहान भूकम्पले झन्डै एक फिट दबेपछि करिब १ सय २० परिवार आधा घन्टा हिँडेर सिधेरीखोला मुहानमा गई पानी ल्याउन बाध्य छन् । ‘एक गाग्री पानीका लागि आधा रातमै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता भयो, पानी पनि अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता भयो,’ उनले भने, ‘महिला र बालबालिकाको बिहानभरिको कामै पानी ल्याउने नै हुन्छ ।’

जिल्लामा सबैभन्दा बढी नलगाड नगरपालिकामा २३ योजना पूर्ण रूपमा र २६ योजनामा आशिंक क्षति पुगेपछि खानेपानी हाहाकार भएको छ । नलगाडमा हलचौर, काइखोला, तिउरी, ठूलोखोलालगायत खानेपानी योजनामा क्षति पुगेपछि झन्डै ३ हजार परिवार खोला, भेरी नदी र विभिन्न मुहान चहारेर खानी खोज्न बाध्य भएको नगरप्रमुख डम्बरबहादुर रावतले बताए ।

‘भेरी नदी किनारका बस्तीका बासिन्दा नदीकै दूषित पानी उपभोग गर्न बाध्य छन्,’ उनले भने, ‘दूषित पानीका कारण झाडापखाला, आउलगायत स्वास्थ्य समस्या पनि देखिन थालेका छन् ।’ बढ्दो गर्मीसँगै दूषित पानीका कारण ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखाला लगायतका बिरामी बढेको नलगाड नगर अस्पतालका प्रमुख विशाल उप्रेतीले बताए । अस्पतालमा दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ ।

सदरमुकामस्थित भेरी नगरपालिकामा पनि खानेपानीको अभाव चुलिएको छ । ‘एक त हिउँद र गर्मीमा यहाँ बर्सेनि खानेपानी समस्या थियो,’ भेरी नगरपालिका–४ का वडाध्यक्ष वसन्तप्रसाद शर्माले भने, ‘बजारमा पानीको आपूर्ति भएका मुहानहरु पनि भूकम्पले सुके, ३/४ दिनमा एकपल्ट पानी आउँछ, त्यसैले पुर्‍याउनुपर्ने बाध्यता भयो ।’

भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारको विशाल फाँट कुदुका बासिन्दा पनि वर्षौँदेखि खानेपानी अभावमा छन् । झन्डै ३ सय परिवारको लागि डिप बोरिङमार्फत पानी निकालेर एउटा धारा जडान गरिएको छ । ‘बिहान ३ बजे नै उठेर पानी भर्न धारामा पुग्नुपर्छ,’ कुदुस्थित रोकायटोलकी सरिता रोकायले भनिन्, ‘नत्र पानी पाउनै मुस्किल हुन्छ, ३ बजे उठेर पुग्दा पनि कम्तीमा ३०/४० जना सय महिलाहरु जम्मा भइसकेका हुन्छन् ।’

धाराको पानी नपाइएपछि झन्डै आधा घन्टा हिँडेर ३ किलोमिटर टाढाको भेरी नदीमा पुग्न बाध्य हुनुपरेको उनको गुनासो छ । भूकम्पपछि कुदुका झन्डै ८० प्रतिशत स्थानीय अस्थायी टहरामा बसाईं सरेका छन् ।

‘टहरामा झन् सरसफाइका काम गरिरहनुपर्छ,’ स्थानीय कल्पना रोकायले भनिन्, ‘बढ्दो गर्मीले तिर्खा मेटाउनै समस्या भयो ।’ पहिले पनि खानेपानी अभाव रहेको जाजरकोटमा भूकम्पपछि झन् खानेपानी अभाव चुलिएको नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तले बताए ।

‘भूकम्पपछि गत वर्ष र यो वर्ष लामो खडेरी पर्‍यो,’ उनले भने, ‘पानी सुकेपछि भेरी नदीको दुषित पानी पिउनुको विकल्पै भएन ।’ खानेपानी अभावका कारण पशुपालनमा ठूलो असर परेको उनको भनाइ छ । खानेपानी अभावको समस्या समाधान गर्न योजनाहरुको प्राथमिकीकरण गरिएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । ‘भूकम्पले अरु सार्वजनिक संरचनासँगै सबै वडामा खानेपानी योजनाहरु पनि क्षतविच्छेद बनाएको छ,’ उनले भने, ‘गत वर्ष झन्डै २० वटा योजनामा काम भएको छ, चालु वर्षमा पनि खानेपानीलाई प्राथमिकता दिएका छौँ ।’

भूकम्पका कारण जाजरकोट, सल्यान र रुकुम पश्चिममा विभिन्न ४ सय ८० खानेपानी योजनामा क्षति पुग्दा झन्डै ३ अर्ब रुपैयाँको क्षति भएको कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्यांक छ । बजेटको समस्याले भूकम्पपछिको खानेपानी अभावको समस्या हल गर्न नसकिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख मंगल शाहीले बताए । उनका अनुसार यो वर्ष ७ वटा स्थानीय तहबाट १ अर्ब ६ करोड बजेट माग भई आएकोमा झन्डै ८ करोड रुपैयाँ मात्र परेको छ ।

गत वर्ष झन्डै ९ करोड रुपैयाँ बजेटबाट करिब तीन दर्जन खानेपानी योजनाको मर्मत र ३ वटा नयाँ योजना निर्माण गरिएको उनले जानकारी दिए । ‘केही ठाउँमा जनश्रमदानबाट योजना मर्मत भएका छन्, नयाँ योजना बनाउने पैसा नभएपछि हामीले पाइप वितरण गरेर मर्मत गरेका छौं,’ उनले भने, ‘भूकम्पबाट क्षति भएका खानेपानी योजना बनाउन कम्तीमा ५ वर्ष लाग्ला ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully