What you should know
काभ्रे — बेथानचोक गाउँपालिका–४ का चलाल गणेशस्थानका रामबहादुर तामाङले गत असोजको बाढीपहिरो पछिका नौ महिना त्रासैमा बिताए । उनलाई बाढी पहिरोको जोखिम त छँदैछ, मुसलधारे वर्षा भए ज्यान जोगाउने चिन्ता हुन्छ । खानी उद्योगहरुले जथाभावी उत्खनन् गर्दा चलाल गणेशस्थानका बासिन्दालाई अहिले अर्को त्रास थपिएको छ ।
असार २७ को बिहान चलाल गणेशस्थानमा सञ्चालित गणेशस्थान खनिज उद्योगमा सुक्खा पहिरो झर्यो । गत वर्षको बाढीपहिरोबाट नतंग्रिएका स्थानीयमा त्यो सुक्खा पहिरोले झनै त्रास बढाएको छ ।
सुक्खा पहिरो प्राकृतिक नभइ कृत्रिम रुपमा झारिएको हुँदा स्थानीय झनै त्रसित छन् । खानीको उत्खनन् गर्दा माथिबाट तलतिर झर्दै खन्नुपर्नेमा तलतिर कपेर खन्दा सुक्खा पहिरो खसेको स्थानीयले बताएका छन् । खानी उत्खनन् गर्दा माथिबाट खनेर तलतिर झर्दै खन्नुपर्ने भए पनि तलबाटै कपेर उत्खनन् गरिएको उक्त खानीका सञ्चालक मध्येका एक सेयरधनीले बताए । ‘माथिबाट खनेर तलतिर झर्दा त्यसमा श्रम, लागत र स्रोतसाधनको उपयोग बढी हुन्छ,’ उनले भने, ‘लागत कम गर्न तलतिरबाट कपेर उत्खनन् गरिएको हो ।’ खानीमा शुक्रबार झरेको सुक्खा पहिरो पनि यहीँ प्रक्रियाबाट उत्खनन् गर्दा भएको उनले स्वीकारे ।
बेथानचोक गाउँपालिकाका इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाका अनुसार खानी उत्खनन् गर्दा पहाडको माथिको भागबाट खन्दै स्लोप बनाएर, क्लिएर गर्दै तलतिर झर्दै खन्नुपर्ने प्रावधान छ । त्यसरी उत्खनन् गर्दा त्यहाँ काम गर्ने कामदार, बस्ती, समुदाय सुरक्षित हुने उनले बताए । उनका अनुसार तलबाट कपेर उत्खनन् गर्दा कामदार र बस्ती नै असुरक्षित हुन्छ । ‘त्यसरी उत्खनन् गर्दा पहिरो झर्छ, जसबाट ठूलो क्षति हुने जोखिम हुन्छ,’ उनले भने, ‘यसो गर्दा सञ्चालकलाई सजिलो र फाइदा हुने भए पनि यसले बस्ती र समुदायलाई जोखिममा पार्छ, मानवीय र भौतिक क्षति हुने सम्भावना उच्च हुन्छ ।’ शुक्रबारको पहिरोले मानवीय तथा भौतिक क्षति नभए पनि बस्तीलाई भने जोखिममा पारेको छ । खानी उद्योगबाट यो काम मापदण्ड विपरीत भएको इन्जिनियर तिमिल्सनाले बताए ।
क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्डमा राजमार्ग, खोला, नदी, पुल, तालतलैयाबाट ५ सय मिटर टाढा, शिक्षण संस्था, स्वास्थ्य संस्था, बस्ती, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक स्थान र सुरक्षा निकायबाट २ किलोमिटर टाढा हुनुपर्ने उल्लेख छ । बालुवा तथा ढुंगा प्रशोधन उद्योगमा साइड ड्रेन, हिलो थिग्रने पोखरी, वायु प्रदूषण नियन्त्रणका लागि व्यवस्था गर्ने सम्बन्धित व्यवसायीको हुने उल्लेख छ । तर, उक्त मापदण्ड अनुरुप खानी सञ्चालन भएको देखिँदैन । खानीको आडैमा सामुदायिक भवन र गणेश आधारभूत विद्यालय छ । खानीको सामुन्नेमै वडा कार्यालय, स्वास्थ्य चौकी र बाक्लो बस्ती छ । ‘स्कुल, स्वास्थ्य चौकी, बस्तीनजिकै खानी र क्रसर चलाइएको छ,’ स्थानीय रामबहादुर तामाङले भने, ‘मापदण्ड के–कस्तो छ, हामीलाई थाहा छैन तर बस्तीमाझ क्रसर चल्दा हामीलाई समस्या भइरहेको छ ।’
स्थानीय नक्सलमायाको घरनजिकै उत्खनन् भइरहेको छ । उत्खनन् गर्दागर्दै पहिरो झर्ला कि भन्ने उनलाई सधैंको डर छ । बस्तीमाझ सञ्चालित खानी तथा क्रसर उद्योगका कारण आफूहरू सधैं त्रासमा बस्नुपरेको उनले बताइन् ।
बेथानचोक गाउँपालिका–४ स्थित मापदण्ड विपरीत बस्तीमाझ सञ्चालित चलाल गणेशस्थान खनिज उद्योग । तस्बिर : ज्योती श्रेष्ठ/कान्तिपुर
बस्तीमाझ सञ्चालित खानी तथा क्रसर उद्योगका कारण आफूहरु सधैं त्रासमा बस्नुपरेको बेथानचोक–४ चलाल दोभानकी ५० वर्षीष सुनमाया तामाङले बताइन् । जथाभावी खानी उत्खनन् गर्दा त्रासमा बस्नुपरेको उनले सुनाइन् । ‘वर्षातको समय छ, कुन बेला पानी पर्छ थाहै हुन्न,’ उनले भनिन्, ‘उसै त बाढी र पहिरोको जोखिम छ, त्यहीँमाथि खानीले डस्ट खोलामा हालेका छन्, खोला थुनिएर घरबारी नै बगाउँला भन्ने चिन्ता छ, पोहोरको घाउ अझै ताजै छ, बाढीले घर डुबानमा परेको थियो, यो वर्षामा कसरी ज्यान जोगाउने हो ? डरै–डर छ, जसतसो ज्यान जोगाइएको थियो, जाने ठाउँ कतै छैन ।’
आफ्नै खानीबाट त्रास
बेथानचोक गाउँपालिका–४ स्थित चलाल दोभानका ६७ वर्षीय शेरबहादुर तामाङको दैलो आडैमा रामकृष्ण निर्माण सेवा नामक खानी उद्योग दिनरात चलिरहन्छ । आफ्नै जग्गामा सञ्चालित खानी उद्योगले निम्त्याउन सक्ने जोखिमको त्रासले उनलाई चिन्तित बनाएको छ ।
खानीबाट उत्खनन् भएको सामग्रीबाट प्रत्येक ट्रिप उनले २ हजार रुपैयाँ पाउँछन् । ‘बर्खाको समयमा अलि डर हुन्छ, पानी पर्नै लाग्दा अलि चिन्ता हुन्छ,’ उनले भने, ‘खानीबाट पहिरो खस्ने र छेउकै खोलाबाट बाढी पस्ने डर हुन्छ ।’
बेथानचोक गाउँपालिकामा दर्ता भएका ३ वटा खानी र १ वटा क्रसर उद्योग सञ्चालनमा छन् । अव्यवस्थित तथा मापदण्ड विपरीत सञ्चालित खानी तथा क्रसर उद्योगहरुलाई व्यवस्थित गराउने विषयमा गाउँपालिकाले गएको असार ४ गते खानी तथा क्रसर सञ्चालकसँगको बैठकमा खानीबाट निस्केको डस्टको व्यवस्थापन, खानी तथा क्रसरसँग सम्बन्धित सवारी साधन अव्यवस्थित गरेर पार्किङ गर्न नपाउने, दर्ता तथा नवीकरण, राज्यलाई तिर्नुपर्ने रोल्यटी समयमै बुझाउनुपर्नेलगायत विषयमा छलफल भएको थियो । बैठकले पालिकामा सञ्चालित खानी र क्रसर उद्योगलाई मापदण्ड अनुरुप सञ्चालन गर्न निर्देशन गरेको थियो ।
असार ४ मै खानी क्षेत्रको नापजाँचका लागि र मापदण्ड पालना गर्न भन्दै असार ६ मा पालिकाले उद्योगहरुलाई पत्र काटेको थियो । पालिकामा सञ्चालित खानी तथा क्रसर उद्योगहरुलाई व्यवस्थित एवं मापदण्ड अनुरुप सञ्चालन गर्नको लागि पटक–पटक निर्देशन दिइएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।
जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले भूगर्भविद्ले रिपोर्ट दिएपछि मात्र खानी तथा क्रसर चलाउने भन्ने निर्णय भएपनि कार्यान्वयन नभएको बताए । ‘खानी तथा क्रसर व्यवस्थापनमा पालिकाहरू नै जिम्मेवार हुने र जिल्ला समन्वय समितिको अनुगमन गर्ने काम भएकाले के आधारमा स्थानीय तहले खानी तथा क्रसर सञ्चालन गरे पुनः अनुगमनको कार्य गरिएको छ,’ जिल्ला अनुगमन समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख गौतमले भने, ‘निर्णय अटेर गरेका कारण सम्बन्धित पालिकासँग मिलेर पनौतीमा खानीहरु बन्द गरेका छौं ।’ उनका अनुसार मापदण्ड विपरीत सञ्चालित बेथानचोकका खानीहरुलाई एक साताको अल्टिमेटम दिइएको थियो । आइतबार जिल्ला अनुगमन समितिले मापदण्ड विपरीत सञ्चालित बेथानचोकका खानी तथा क्रसर उद्योग बन्द गराउन स्थानीय तहलाई पत्राचार गरेको छ ।
बाढीपहिरोको जोखिम कायमै भएकाले सरकारले अति प्रभावित घोषणा समेत गरेका पालिकाहरुमा भौगोलिक तथा वातावरणीय मूल्यांकन समेत नगरी सञ्चालन भइरहेका छन् । यो क्षेत्रका प्रायः खानी र क्रसर उद्योगहरु अध्ययनबिनै सञ्चालनमा भइरहेको पाइएको छ । जिल्लामा बाढीपहिरो प्रभावितस्थलको भौगर्भिक अध्ययन गराइ उक्त अध्ययन प्रतिवेदनका आधारमा मात्र खानी तथा क्रसर सञ्चालन गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म प्रतिवेदन नबुझाएको जिल्ला समन्वय समितिले जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख गौतमको अध्यक्षतामा बसेको बैठकले बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्तीहरू जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको र पहिरो गएको, डस्ट र गेग्रानले खोलाहरूको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको थियो । त्यस्तै, गत कात्तिकमै जिल्ला सुरक्षा समितिले कानुन विपरीत सञ्चालित ढुंगा तथा क्रसरबाट ठूलो जनधनको क्षति भएको जनगुनासो आएको ठहर गर्दै अवैध सञ्चालन रहेका ढुंगा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो । तर, दुवै निर्णय कार्यान्वयन नगरी खानी तथा क्रसर उद्योग अनुमतिबिनै पुनः सञ्चालन आएका हुन् ।
त्यस्तै, प्रशासन कार्यालयले गत माघ ३ मा जिल्लाका सबै पालिकालाई गैरकानुनी रूपमा सञ्चालित ढुंगाखानी र क्रसर बन्द गर्न पत्राचार गरेपनि कार्यान्वयनमा गए/नगएको बारेमा कोही जानकारी लिएको पाइएको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग बस्ती, खानी, खोला र वन क्षेत्रको भौगर्भिक तथा वातावरणीय विज्ञ समूहको माग गरेपनि अहिलेसम्म नपठाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार नदीजन्य तथा खानीजन्य क्रसर तथा उद्योग समेतका कारण विपद्जन्य घटनामा बढी क्षति भएको, खोलाको बहावले धार परिवर्तन गरेको, बस्तीहरू जोखिममा परेको, डस्ट र गेग्रानले खोलाहरूको सतह बढेको अवस्था रहेकाले उक्त बस्ती, खानी, खोला र वन क्षेत्रको भौगर्भिक तथा वातावरणीय अनुसन्धानको लागि पटकपटक विज्ञ समूहको माग गरे तर अहिलेसम्म कोही आएका छैनन् ।
