पारि खेत, वारि घर : डुंगाकै भर, नदीको डर !

असार ३०, २०८२

शिव पुरी

Across the field, across the house: across the boat, fear of the river!

रौतहट — दुर्गाभगवती गाउँपालिका-५ स्थित बडहर्वाका ५७ वर्षीय सरोज दास दिनहुँजसो डुंगा चढेर बागमतीपारि खेतमा काम गर्न जान्छन् । बर्खाका बेला नदीमा आउने बाढीले यसै पनि डुंगा यात्रा जोखिमपूर्ण हुन्छ, तर उनलाई रहरले होइन, बाध्यताले बागमती तर्नु परेको छ । नदीपारि उनको ७ कठ्ठा खेत छ । 

सर्लाही–रौतहट जोड्ने बडहर्वा पुल समयमा बनेको भए दासजस्तै धेरैले बर्खाको बेला डुंगा चढ्नुपर्ने बाध्यताको अन्त्य हुने थियो । डरैडरमा उनी डुंगामा सवार हुन्छन् । उनी डराउनुको मुख्य कारण हो : यही क्षेत्रमा तीन पटक डुंगा दुर्घटना भइसकेको छ । जोखिम मोलेर डुंगा तरिरहेको पनि १५ वर्ष भइसकेको छ । ‘हामीले पुल छिट्टै बनाइदेऊ, डुंगा चढ्न बर्खामा मुस्किल भयो भन्दै आएका छौँ,’ उनले भने, ‘अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । पुल नबनेपछि डुंगाकै भर पर्न बाध्य छौँ ।’

बडहर्वा गाउँ पूर्व बागमती नदीमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६७ सालमा पुलको शिलान्यास गरेका थिए । पुल बन्ने भएपछि स्थानीय खुसी भए । अब डुंगाको यात्रा समाप्त हुने भयो भनेर गाउँलेले खुसियाली मनाएको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सुनाए । ‘डुंगा चढ्नु आफैंमा पनि जोखिम हो,’ उनले भने, ‘यहाँ हिउँदमा बाँसको डाइभर्सन र बर्खामा डुंगा चढ्न बाध्य छन्, जनताको पीडा कसले सुन्ने ?’

बागमतीले धार परिवर्तन गरेपछि दुर्गाभगवती गाउँपालिकाको ५ नम्बर वडाका झन्डै ४ सय घर सर्लाहीको बलरा नगरपालिकाको सीमाक्षेत्रमा परेको छ । बडहर्वा गाउँका मानिसलाई आउजाउमा कठिनाइ हुन्छ । राजदेवी नगरपालिकाको सेहर्वा गाउँलाई पनि बागमतीले छुट्याएको छ । दुवै गाउँका मानिसहरू पारि जान डुंगाको सहारा लिनुपर्छ ।

२०५० सालमा आएको बाढीले बडहर्वाका अधिकांशको घर-खेत कटान गरेको थियो । नदी पूर्वबाट बग्न थालेपछि अहिले धेरैको जमिन छुट्टिएको छ । दुर्गाभगवतीको ५ नम्बर वडाका ४ सय घर नदीपारि परेका छन् । बीचमा बागमती नदी बगिरहेको छ । धेरैको घर/खेत पारि पर्छ । उनीहरूको बसोबास वारि बडहर्वामै पनि छ । केहीले वारि बडहर्वामा पनि घर बनाएका छन् । पालिकाको कामले आउनु पर्दा डुंगा चढ्न बाध्य हुनुपर्ने बडहर्वापारिका सुभाष साहले सुनाए । ‘हाम्रो पीडा धेरै छ, सुनाएर साध्यै छैन,’ उनले भने, ‘बागमतीले उठिबास लगायो, वारि घर छ, पारि खेत छ । वारपार गर्न अरू विकल्प छैन।’ हिउँदमा बाँसको अस्थायी पुल नै नदी वारपार गर्ने सहारा बन्छ । तर बर्खा लागेपछि त्यही पुल पनि बगाइदिन्छ ।

Across the field, across the house: across the boat, fear of the river!बागमती घाटमा डुंगा चढ्न अधिकांश डराउँछन् । २०७१ भदौ ६ गते प्रिपा रजवाडा-७ स्थित बागमती नदीमा डुंगा दुर्घटनामा ३ जना बेपत्ता भएका थिए । दुई जनाको शव दुर्घटनास्थलबाट १ किलोमिटर दक्षिणमा भेटिएको थियो । बेपत्तामध्ये सर्लाहीतर्फको नदी किनारमा २५ वर्षीया सुखनीदेवी सहनी र ३५ वर्षीया दुखनी पण्डितको शव भेटिएको थियो । दुर्घटनामा बेपत्ता महादेव दासको अवस्था अझै अज्ञात छ । सर्लाहीको बैरियाबाट रौतहटको रजवाडा आउँदै गरेको डुंगा बागमती नदीमा पल्टिएको थियो । नदीपारि घाँस लिन र खेती गर्न गएका स्थानीय सवार सो डुंगा दुर्घटना भएको हो । डुंगामा झन्डै पचास जना चढेका थिए र नदीको भेलमा परेपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

बागमती नदी वारपार गर्न डुंगामा झन्डै ४ मिटर दूरी पार गर्नुपर्छ । हिउँदमा बागमतीमा पानीको सतह घट्छ, तर गहिरो भएकाले पैदलै पारी जान भने सकिन्न । बाँसको अस्थायी पुल बनाएर मानिसहरू वारपार गरे पनि केही दूरी पार गर्न डुंगाकै भर पर्नु पर्छ । काम विशेषले सर्लाही जानेहरू पनि डुंगामा मोटरसाइकल, साइकल राखेर तर्छन् ।

डुंगाको ठेक्का पाएका अजय सहनीले मानिसलाई निःशुल्क चढाउने गरेको बताए । सवारीको हकमा मोटरसाइकल तारेर २० देखि ३० रुपैयाँसम्म खुसीले दिने गरेको सुनाउँछन् । सबैभन्दा बढी बर्खाको बेला समस्या हुने स्थानीयको भनाइ छ । बडहर्वाका स्थानीयको दबाबपछि त्यहाँ पुल बन्न लागेको हो । २०६७ सालमा शिलान्यास भएको पुलको अवस्था अहिले पनि उस्तै छ । निर्माणकै क्रममा नदीले धार बदलेपछि १५ वर्षदेखि काम रोकिएको थियो । अहिले नयाँ ठेक्काबाट काम सुरु गरिएको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।

पुल बनेको भए रौतहट र सर्लाहीका मानिसलाई आवतजावत गर्न सहज हुने थियो । अहिले दुवै जिल्लाका मानिस डुंगा चढेर वारपार गर्छन् । वारि बसतपुर, बडहर्वा, राजदेवीलगायतका स्थानीय डुंगा चढेर पारि खेतमा काम गर्न जान्छन् । बालीनाली भित्र्याउन पनि स्थानीयले डुंगाकै सहारा लिन्छन् ।

Across the field, across the house: across the boat, fear of the river!तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजनाअन्तर्गत बागमतीको पुल बन्न लागेको हो । गौर नगरपालिका-४ स्थित टिकुलियाघाटमा डुंगा चल्न थालेको एक दशक भइसकेको छ । पारि ईशनाथका बासिन्दा सदरमुकाम गौर आउन असहज हुन थालेपछि स्थानीयको अनुरोधमा २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । अहिलेसम्म पुल बन्न नसकेर अलपत्र छ ।

समयमा पुल नबनेपछि वारि टिकुलिया र पारि ईशनाथका स्थानीयलाई डुंगाकै भर पर्नुपर्छ । उनीहरू वर्षाका बेला डुंगा चढ्न डराउँछन् । हिउँदमा ह्युमपाइप लगाएर डाइभर्सन बनाए पनि वर्षा सुरु भएपछि बगाएर फेरि डुंगा चढ्न बाध्य हुन्छन् । अहिले फेरि स्थानीय डुंगा चढेर वारपार गर्न थालेका छन् । यो त्यही घाट हो, जहाँ २०७४ भदौ ९ मा डुंगा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका थिए । घाँस काट्न, खेतमा काम गर्न र पर्व मनाउन आएकाहरू चढेको डुंगा दुर्घटना भएको थियो । पुल नबनेकै कारण स्थानीयले मानवीय क्षति बेहोर्नुपर्‍यो ।  पुल बनेको भए लालबकैयापारी बन्जरहा, औरैया, मठिया, जोकहा, बैरिया, अकोलवा, रामपुर खाप दर्जनौं गाउँका स्थानीयलाई सहज हुन्थ्यो । अहिले जोखिमपूर्ण डुंगा यात्रा गर्नु बाध्यात्मक अवस्था छ ।

टिकुलियाका भरत राउतले पुलकै कारण डुंगा दुर्घटना भएको सुनाए । ‘समयमा पुल बनेको भए मानिसहरू डुंगा चढ्दैनथे, आज पनि पुल सपनामात्र भएको छ,’ उनी भन्छन्, ‘बर्सेनि डुंगाको भर पर्दा बर्खामा निकै जोखिम हुन्छ, अरू विकल्प पनि छैन ।’ ७ वर्षअघि डुंगा दुर्घटना हुँदा भरतले श्रीमती इन्दु देवीलाई गुमाएका थिए ।  ५ जनाको ज्यान जाने गरी भएको ठूलो दुर्घटनाको यत्तिका वर्ष भइसक्दा पनि यो पुल अझै बन्न सकेको छैन ।

अहिले टिकुलियाघाटमा बर्खाको समयमा डुंगा र हिउँदमा डाइभर्सनको मद्दतले मानिसहरू वारपार गर्छन् । टिकुलियाघाटमा पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले २०७४ माघ २९ मा पुल निर्माणको काम सक्ने गरी २०७१ असार २९ मा सम्झौता गरेका थिए । ठेकेदारले निर्माणकै अवधिमा काम छाडेर गएपछि पुल अलपत्र पर्‍यो ।

एक दशकभन्दा बढी समयदेखि बाग्मतीको बडहर्वा, ब्रह्मपुरी, गडैयाघाट र लालबकैयाको टिकुलियाघाटमा डुंगा चल्न थालेको छ। डुंगा यात्रा जोखिमपूर्ण हुने र पटक-पटक पल्टिन थालेपछि स्थानीयको दबाबमा सरकारले बागमतीको बडहर्वा र लालबकैयाको टिकुलियाघाटमा पुल बनाउन ठेक्का लगाएको हो । घाटमा चल्ने डुंगा पुरानो र थोत्रो हुँदा दुर्घटनाको जोखिम बढी हुने गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले बताए । ‘हामीले टिकुलियाघाटमा पुरानो थोत्रो डुंगा चलाउन दिएका छैनौँ,’ उनले भने, ‘नयाँ र क्षमताभन्दा बढी मानिस नराख्न डुंगा चालकलाई भनेका छौँ ।’

सिरहा र धनुषा जोड्ने कमला नदीमा समयमा पुल निर्माण नहुँदा स्थानीय डुंगाको साहारामा जोखिम मोलेर नदी तर्न बाध्य छन् । ढल्केबरदेखि पूर्व सप्तरी र सिरहासहित पूर्वबाट हुलाकी राजमार्ग भएर आउने जो–कोहीलाई कमला नदी तर्न डुंगा चढ्नुपर्छ । डुंगामा मानिससँगै दुईपाङ्ग्रे सवारी मोटरसाइकल, साइकलसमेत राखेर वारपार गर्दै आएका छन् । खोलामा पानीको बहाव बढेको बेला मोटरसाइकलसहित डुंगामा नदी तर्नु निकै जोखिम भए पनि अन्य विकल्प नरहेको स्थानीय किरण यादवले सुनाए । ‘डुंगा चढ्दा कुनै लाइफ ज्याकेट वा कुनै सुरक्षाको विकल्प अपनाइँदैन,’ उनले भने, ‘डुंगा यात्रा गर्नु भनेको भगवान् भरोसा हो ।’

कमला नदीमा पुल नबनेपछि अहिले एउटै डुंगामा १०/१२ जना मानिससहित ७/८ वटा मोटरसाइकल, साइकलसमेत लोड गरेर वारपार गर्नुपर्छ । पानीको बेगमा अनियन्त्रित भई डुंगा दुर्घटना हुने गरेको चालकहरू बताउँछन् । वर्षाको बेला कमला नदीको बीच भागमा ठूलो बहाव हुन्छ । त्यसको वरिपरि ठूला भंगाल छन् । त्यस क्षेत्रमा डुंगा पर्‍यो भने पल्टिने, डुब्ने खतरा हुने स्थानीयले सुनाए । पैदल, मोटरसाइकल, साइकलबाट यात्रा गर्नेहरू पैसा तिरेर डुंगा चढेर वारपार गरिरहेका हुन्छन् । हुलाकी राजमार्गबाट सप्तरीको राजविराजदेखि जनकपुरसम्मको दूरी झन्डै १२० किलोमिटरको छ । दुईपाङ्ग्रे सवारीबाट दुई घण्टामा पुग्न सकिन्छ ।

Across the field, across the house: across the boat, fear of the river!हुलाकी राजमार्गस्थित कमला नदीमा यात्रुलाई वारपार गर्न अहिले चिक्नाघाटमा दुई वटा डुंगा सञ्चालनमा छन् । डुंगा चलाउनेहरू पैसा कमाउनभन्दा सेवा दिइरहेको दाबी गर्छन् । सिरहाका धेरैको कमलापारि धनुषामा जग्गा छ । उनीहरूलाई खेती गर्न, गाईवस्तु चराउन जान डुंगा चढ्नुको विकल्प छैन । सुक्खा मौसममा थोरै पानी बगिरहेको अवस्थामा स्थानीयले चचरी (काठे पुल) बनाएका थिए । पुलबाट मोटरसाइकल तर्न पनि ५० रुपैयाँ लिने गर्थे । अहिले बाढीले चचरी पनि बगाएकाले डुंगा चढ्नुपर्छ । कमला नदीमा १३ वर्षदेखि पुल निर्माणको काम भइरहेको छ । नदीमा बन्दै गरेको पुल भासिएपछि निर्माण कार्य पेचिलो बन्दै गएको छ।

Across the field, across the house: across the boat, fear of the river!टिकुलियामा दुर्घटना भएको डुंगा पनि पुरानो भएको स्थानीयले सुनाए । एउटा डुंगाको क्षमता २५ देखि ३५ जना मानिस चढाउन सकिन्छ। ५/५ वटा मोटरसाइकल राखेमा मानिस कम अट्ने डुंगा चालक शंकर सहनीले बताए । ‘कहिलेकाहीँ साँझ परेपछि मानिसहरू जबर्जस्ती चढ्न खोज्छन्, डुंगामा अटेन भने पनि कोचाकोच गरेर चढ्छन्,’ उनले भने, ‘त्यस्तो बेला नबस्न भन्न सकिन्न, मानिसको भार बढी हुँदा डुंगा पल्टिने खतरा धेरै हुन्छ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully