रौतहट — दुर्गाभगवती गाउँपालिका-५ स्थित बडहर्वाका ५७ वर्षीय सरोज दास दिनहुँजसो डुंगा चढेर बागमतीपारि खेतमा काम गर्न जान्छन् । बर्खाका बेला नदीमा आउने बाढीले यसै पनि डुंगा यात्रा जोखिमपूर्ण हुन्छ, तर उनलाई रहरले होइन, बाध्यताले बागमती तर्नु परेको छ । नदीपारि उनको ७ कठ्ठा खेत छ ।
सर्लाही–रौतहट जोड्ने बडहर्वा पुल समयमा बनेको भए दासजस्तै धेरैले बर्खाको बेला डुंगा चढ्नुपर्ने बाध्यताको अन्त्य हुने थियो । डरैडरमा उनी डुंगामा सवार हुन्छन् । उनी डराउनुको मुख्य कारण हो : यही क्षेत्रमा तीन पटक डुंगा दुर्घटना भइसकेको छ । जोखिम मोलेर डुंगा तरिरहेको पनि १५ वर्ष भइसकेको छ । ‘हामीले पुल छिट्टै बनाइदेऊ, डुंगा चढ्न बर्खामा मुस्किल भयो भन्दै आएका छौँ,’ उनले भने, ‘अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । पुल नबनेपछि डुंगाकै भर पर्न बाध्य छौँ ।’
बडहर्वा गाउँ पूर्व बागमती नदीमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६७ सालमा पुलको शिलान्यास गरेका थिए । पुल बन्ने भएपछि स्थानीय खुसी भए । अब डुंगाको यात्रा समाप्त हुने भयो भनेर गाउँलेले खुसियाली मनाएको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सुनाए । ‘डुंगा चढ्नु आफैंमा पनि जोखिम हो,’ उनले भने, ‘यहाँ हिउँदमा बाँसको डाइभर्सन र बर्खामा डुंगा चढ्न बाध्य छन्, जनताको पीडा कसले सुन्ने ?’
बागमतीले धार परिवर्तन गरेपछि दुर्गाभगवती गाउँपालिकाको ५ नम्बर वडाका झन्डै ४ सय घर सर्लाहीको बलरा नगरपालिकाको सीमाक्षेत्रमा परेको छ । बडहर्वा गाउँका मानिसलाई आउजाउमा कठिनाइ हुन्छ । राजदेवी नगरपालिकाको सेहर्वा गाउँलाई पनि बागमतीले छुट्याएको छ । दुवै गाउँका मानिसहरू पारि जान डुंगाको सहारा लिनुपर्छ ।
२०५० सालमा आएको बाढीले बडहर्वाका अधिकांशको घर-खेत कटान गरेको थियो । नदी पूर्वबाट बग्न थालेपछि अहिले धेरैको जमिन छुट्टिएको छ । दुर्गाभगवतीको ५ नम्बर वडाका ४ सय घर नदीपारि परेका छन् । बीचमा बागमती नदी बगिरहेको छ । धेरैको घर/खेत पारि पर्छ । उनीहरूको बसोबास वारि बडहर्वामै पनि छ । केहीले वारि बडहर्वामा पनि घर बनाएका छन् । पालिकाको कामले आउनु पर्दा डुंगा चढ्न बाध्य हुनुपर्ने बडहर्वापारिका सुभाष साहले सुनाए । ‘हाम्रो पीडा धेरै छ, सुनाएर साध्यै छैन,’ उनले भने, ‘बागमतीले उठिबास लगायो, वारि घर छ, पारि खेत छ । वारपार गर्न अरू विकल्प छैन।’ हिउँदमा बाँसको अस्थायी पुल नै नदी वारपार गर्ने सहारा बन्छ । तर बर्खा लागेपछि त्यही पुल पनि बगाइदिन्छ ।
बागमती घाटमा डुंगा चढ्न अधिकांश डराउँछन् । २०७१ भदौ ६ गते प्रिपा रजवाडा-७ स्थित बागमती नदीमा डुंगा दुर्घटनामा ३ जना बेपत्ता भएका थिए । दुई जनाको शव दुर्घटनास्थलबाट १ किलोमिटर दक्षिणमा भेटिएको थियो । बेपत्तामध्ये सर्लाहीतर्फको नदी किनारमा २५ वर्षीया सुखनीदेवी सहनी र ३५ वर्षीया दुखनी पण्डितको शव भेटिएको थियो । दुर्घटनामा बेपत्ता महादेव दासको अवस्था अझै अज्ञात छ । सर्लाहीको बैरियाबाट रौतहटको रजवाडा आउँदै गरेको डुंगा बागमती नदीमा पल्टिएको थियो । नदीपारि घाँस लिन र खेती गर्न गएका स्थानीय सवार सो डुंगा दुर्घटना भएको हो । डुंगामा झन्डै पचास जना चढेका थिए र नदीको भेलमा परेपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
बागमती नदी वारपार गर्न डुंगामा झन्डै ४ मिटर दूरी पार गर्नुपर्छ । हिउँदमा बागमतीमा पानीको सतह घट्छ, तर गहिरो भएकाले पैदलै पारी जान भने सकिन्न । बाँसको अस्थायी पुल बनाएर मानिसहरू वारपार गरे पनि केही दूरी पार गर्न डुंगाकै भर पर्नु पर्छ । काम विशेषले सर्लाही जानेहरू पनि डुंगामा मोटरसाइकल, साइकल राखेर तर्छन् ।
डुंगाको ठेक्का पाएका अजय सहनीले मानिसलाई निःशुल्क चढाउने गरेको बताए । सवारीको हकमा मोटरसाइकल तारेर २० देखि ३० रुपैयाँसम्म खुसीले दिने गरेको सुनाउँछन् । सबैभन्दा बढी बर्खाको बेला समस्या हुने स्थानीयको भनाइ छ । बडहर्वाका स्थानीयको दबाबपछि त्यहाँ पुल बन्न लागेको हो । २०६७ सालमा शिलान्यास भएको पुलको अवस्था अहिले पनि उस्तै छ । निर्माणकै क्रममा नदीले धार बदलेपछि १५ वर्षदेखि काम रोकिएको थियो । अहिले नयाँ ठेक्काबाट काम सुरु गरिएको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
पुल बनेको भए रौतहट र सर्लाहीका मानिसलाई आवतजावत गर्न सहज हुने थियो । अहिले दुवै जिल्लाका मानिस डुंगा चढेर वारपार गर्छन् । वारि बसतपुर, बडहर्वा, राजदेवीलगायतका स्थानीय डुंगा चढेर पारि खेतमा काम गर्न जान्छन् । बालीनाली भित्र्याउन पनि स्थानीयले डुंगाकै सहारा लिन्छन् ।
तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजनाअन्तर्गत बागमतीको पुल बन्न लागेको हो । गौर नगरपालिका-४ स्थित टिकुलियाघाटमा डुंगा चल्न थालेको एक दशक भइसकेको छ । पारि ईशनाथका बासिन्दा सदरमुकाम गौर आउन असहज हुन थालेपछि स्थानीयको अनुरोधमा २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । अहिलेसम्म पुल बन्न नसकेर अलपत्र छ ।
समयमा पुल नबनेपछि वारि टिकुलिया र पारि ईशनाथका स्थानीयलाई डुंगाकै भर पर्नुपर्छ । उनीहरू वर्षाका बेला डुंगा चढ्न डराउँछन् । हिउँदमा ह्युमपाइप लगाएर डाइभर्सन बनाए पनि वर्षा सुरु भएपछि बगाएर फेरि डुंगा चढ्न बाध्य हुन्छन् । अहिले फेरि स्थानीय डुंगा चढेर वारपार गर्न थालेका छन् । यो त्यही घाट हो, जहाँ २०७४ भदौ ९ मा डुंगा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका थिए । घाँस काट्न, खेतमा काम गर्न र पर्व मनाउन आएकाहरू चढेको डुंगा दुर्घटना भएको थियो । पुल नबनेकै कारण स्थानीयले मानवीय क्षति बेहोर्नुपर्यो । पुल बनेको भए लालबकैयापारी बन्जरहा, औरैया, मठिया, जोकहा, बैरिया, अकोलवा, रामपुर खाप दर्जनौं गाउँका स्थानीयलाई सहज हुन्थ्यो । अहिले जोखिमपूर्ण डुंगा यात्रा गर्नु बाध्यात्मक अवस्था छ ।
टिकुलियाका भरत राउतले पुलकै कारण डुंगा दुर्घटना भएको सुनाए । ‘समयमा पुल बनेको भए मानिसहरू डुंगा चढ्दैनथे, आज पनि पुल सपनामात्र भएको छ,’ उनी भन्छन्, ‘बर्सेनि डुंगाको भर पर्दा बर्खामा निकै जोखिम हुन्छ, अरू विकल्प पनि छैन ।’ ७ वर्षअघि डुंगा दुर्घटना हुँदा भरतले श्रीमती इन्दु देवीलाई गुमाएका थिए । ५ जनाको ज्यान जाने गरी भएको ठूलो दुर्घटनाको यत्तिका वर्ष भइसक्दा पनि यो पुल अझै बन्न सकेको छैन ।
अहिले टिकुलियाघाटमा बर्खाको समयमा डुंगा र हिउँदमा डाइभर्सनको मद्दतले मानिसहरू वारपार गर्छन् । टिकुलियाघाटमा पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले २०७४ माघ २९ मा पुल निर्माणको काम सक्ने गरी २०७१ असार २९ मा सम्झौता गरेका थिए । ठेकेदारले निर्माणकै अवधिमा काम छाडेर गएपछि पुल अलपत्र पर्यो ।
एक दशकभन्दा बढी समयदेखि बाग्मतीको बडहर्वा, ब्रह्मपुरी, गडैयाघाट र लालबकैयाको टिकुलियाघाटमा डुंगा चल्न थालेको छ। डुंगा यात्रा जोखिमपूर्ण हुने र पटक-पटक पल्टिन थालेपछि स्थानीयको दबाबमा सरकारले बागमतीको बडहर्वा र लालबकैयाको टिकुलियाघाटमा पुल बनाउन ठेक्का लगाएको हो । घाटमा चल्ने डुंगा पुरानो र थोत्रो हुँदा दुर्घटनाको जोखिम बढी हुने गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले बताए । ‘हामीले टिकुलियाघाटमा पुरानो थोत्रो डुंगा चलाउन दिएका छैनौँ,’ उनले भने, ‘नयाँ र क्षमताभन्दा बढी मानिस नराख्न डुंगा चालकलाई भनेका छौँ ।’
सिरहा र धनुषा जोड्ने कमला नदीमा समयमा पुल निर्माण नहुँदा स्थानीय डुंगाको साहारामा जोखिम मोलेर नदी तर्न बाध्य छन् । ढल्केबरदेखि पूर्व सप्तरी र सिरहासहित पूर्वबाट हुलाकी राजमार्ग भएर आउने जो–कोहीलाई कमला नदी तर्न डुंगा चढ्नुपर्छ । डुंगामा मानिससँगै दुईपाङ्ग्रे सवारी मोटरसाइकल, साइकलसमेत राखेर वारपार गर्दै आएका छन् । खोलामा पानीको बहाव बढेको बेला मोटरसाइकलसहित डुंगामा नदी तर्नु निकै जोखिम भए पनि अन्य विकल्प नरहेको स्थानीय किरण यादवले सुनाए । ‘डुंगा चढ्दा कुनै लाइफ ज्याकेट वा कुनै सुरक्षाको विकल्प अपनाइँदैन,’ उनले भने, ‘डुंगा यात्रा गर्नु भनेको भगवान् भरोसा हो ।’
कमला नदीमा पुल नबनेपछि अहिले एउटै डुंगामा १०/१२ जना मानिससहित ७/८ वटा मोटरसाइकल, साइकलसमेत लोड गरेर वारपार गर्नुपर्छ । पानीको बेगमा अनियन्त्रित भई डुंगा दुर्घटना हुने गरेको चालकहरू बताउँछन् । वर्षाको बेला कमला नदीको बीच भागमा ठूलो बहाव हुन्छ । त्यसको वरिपरि ठूला भंगाल छन् । त्यस क्षेत्रमा डुंगा पर्यो भने पल्टिने, डुब्ने खतरा हुने स्थानीयले सुनाए । पैदल, मोटरसाइकल, साइकलबाट यात्रा गर्नेहरू पैसा तिरेर डुंगा चढेर वारपार गरिरहेका हुन्छन् । हुलाकी राजमार्गबाट सप्तरीको राजविराजदेखि जनकपुरसम्मको दूरी झन्डै १२० किलोमिटरको छ । दुईपाङ्ग्रे सवारीबाट दुई घण्टामा पुग्न सकिन्छ ।
हुलाकी राजमार्गस्थित कमला नदीमा यात्रुलाई वारपार गर्न अहिले चिक्नाघाटमा दुई वटा डुंगा सञ्चालनमा छन् । डुंगा चलाउनेहरू पैसा कमाउनभन्दा सेवा दिइरहेको दाबी गर्छन् । सिरहाका धेरैको कमलापारि धनुषामा जग्गा छ । उनीहरूलाई खेती गर्न, गाईवस्तु चराउन जान डुंगा चढ्नुको विकल्प छैन । सुक्खा मौसममा थोरै पानी बगिरहेको अवस्थामा स्थानीयले चचरी (काठे पुल) बनाएका थिए । पुलबाट मोटरसाइकल तर्न पनि ५० रुपैयाँ लिने गर्थे । अहिले बाढीले चचरी पनि बगाएकाले डुंगा चढ्नुपर्छ । कमला नदीमा १३ वर्षदेखि पुल निर्माणको काम भइरहेको छ । नदीमा बन्दै गरेको पुल भासिएपछि निर्माण कार्य पेचिलो बन्दै गएको छ।
टिकुलियामा दुर्घटना भएको डुंगा पनि पुरानो भएको स्थानीयले सुनाए । एउटा डुंगाको क्षमता २५ देखि ३५ जना मानिस चढाउन सकिन्छ। ५/५ वटा मोटरसाइकल राखेमा मानिस कम अट्ने डुंगा चालक शंकर सहनीले बताए । ‘कहिलेकाहीँ साँझ परेपछि मानिसहरू जबर्जस्ती चढ्न खोज्छन्, डुंगामा अटेन भने पनि कोचाकोच गरेर चढ्छन्,’ उनले भने, ‘त्यस्तो बेला नबस्न भन्न सकिन्न, मानिसको भार बढी हुँदा डुंगा पल्टिने खतरा धेरै हुन्छ।’
