‘हुण्डी’ कारोबारको ‘ट्रान्जिट’ बन्दै मधेश

असार २४, २०८२

शिव पुरी

Madhesh is becoming a 'transit' of 'hundi' business

रौतहट — मधेश प्रदेशमा सीमावर्ती नाकाबाट अवैध रुपमा रकम ओसारपसार (हुण्डी) गर्ने क्रम रोकिन सकेको छैन । प्रदेश प्रहरी कार्यालयकै पछिल्लो तथ्यांकबाट मौलाउँदै गएको हुण्डी कारोबारमा गिरोह नै सक्रिय रहेको देखिन्छ । सीमा क्षेत्रमा हुने गैरकानुनी काम नियन्त्रण गर्न सुरक्षाका लागि खटिएका सशस्त्र तथा नेपाल प्रहरीले निगरानी बढाउँदै आएको दाबी गरे पनि यो रोकिएको छैन । प्रहरीले विभिन्न समयमा रकमसहित पक्राउ गर्दै आएपनि उनीहरु भरियामात्रै रहेको र मुख्य कारोबारीसम्म पुग्न नसकेको दाबी छ । 

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको मोबाइलमा असार १८ गते बिहानै अपरिचित व्यक्तिले फोनमा भने, ‘आज भारतको रक्सौलबाट केही मानिस हुण्डीको पैसा बोकेर नेपाल प्रवेश गर्दैछन् । पक्रनु होला ।’ एसपी गौतमले फोन गर्ने व्यक्तिको पहिचान सोध्न नपाउँदै फोन काटिदिए ।

वीरगन्ज महानगरपालिका–८, १० र १६ नम्बर वडाको नाका हुँदै रकमसहित मानिस आउने सुराकीका आधारमा सीमा पारीबाट आउने मानिसको जाँच थाल्दा बेग्लाबेग्लै मोटरसाइकलमा आएका तीन जना स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित पक्राउ परे । असार १८ मा बाराको परवानीपुर गाउँपालिका–४ का  दीपककुमार सोनारलाई ३ लाख, पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई ९ लाख ४७ हजार र वीरगञ्ज महानगर आर्दशनगरबाट विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजारसहित पक्राउ गरिएको एसपी मिश्रले जनाए ।

‘उनीहरूलाई हुण्डी कारोबारमा संलग्न भएको आरोपमा मुद्दा चलाइएको छ । हामीले सीमा क्षेत्रमा हुने रकम ओसारपसारमा क–कसको संलग्नता छ भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘उनीहरु भरिया हुन सक्ने अनुमान गरेका छौं । मुख्य व्यक्ति फेला पर्दैनन् । पक्राउ परेकाहरुले मुख्यको नाम पनि भन्दैनन् ।’

पर्सा प्रहरीले असार १ यता २३ दिनको अवधिमा स्रोत नखुलेको (हुण्डीको रकम) ३१ लाख ७४ हजार रुपैयाँ बरामद गरेको छ भने पक्राउ परेका ४ जनालाई मुद्दा चलाएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालेको जनाएको छ । 

पर्सा प्रहरीले गएको माघ १७ गते दिउँसो वीरगन्ज महानगरपालिका– १० आदर्शनगरमा बीआर ०५ क्यू ४३८४ नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिको तलासी गर्दा ६ लाख रुपैयाँसहित भारत विहारको सीमावर्ती रक्सौल–१४ का २७ वर्षीय ओमकुमार रौनियारलाई पक्राउ गर्‍यो ।

रौनियारले चलाएको मोटरसाइकल जाँच गर्दा बायाँपट्टिको लेगगार्डमा प्लास्टिकको बोरामा लुकाइ राखिएको अवस्थामा ५ सय रुपैयाँ दरका १२ सय थान नोट बरामद भएको हो । रौनियारलाई हुण्डीसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । रौनियार पक्राउ परेको एक सातापछि स्रोत नखुलेको ७ लाख रुपैयाँसहित वीरगन्ज–१० आदर्श नगरमा जाँच गर्ने क्रममा पर्सा बिन्दवासिनी गाउँपालिका–३ झौवाका ४३ वर्षीय अजयकुमार साहलाई पक्राउ गर्‍यो । पक्राउ परेका साह पटके हुन् ।

यसअघि पनि अजयमाथि प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । उनी पटके हुण्डी कारोबारमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले वैशाख २० गते वीरगन्ज भन्सार कार्यालको जाँचबिन्दुभन्दा ५० मिटरअगाडि नेपालतर्फ त्रिभुवन राजपथ सडकखण्डको वीरगन्जतर्फ जाने बाटोमा नेपाल आउँदै गरेको बीआर २२ पी ८३०० नम्बरको गाडीलाई जाँच गर्दा ९ लाख ५९ हजार नेपाली रुपैयाँसहित भारत बिहार पश्चिम चम्पारण बेतिया ग्राम पञ्चायत–७ का ५९ वर्षीय विजयप्रसाद, बिहार पश्चिम चम्पारण जौकटिया ग्राम पन्चायत–१२ का ४६ वर्षीय मनोजकुमार सहनी र बिहार पश्चिम चम्पारण छाउनी चोक ग्राम पञ्चायत–२७ का ४३ वर्षीय सन्तोषकुमार श्रीवास्तवलाई पक्राउ गर्‍यो ।

उनीहरुले रकम कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भन्ने प्रहरी समक्ष खुलाएनन् । मुख्य मानिसको नाम समेत भनेन् । गत वर्ष पर्सा प्रहरीले स्रोत नखुलेको ४ लाख २० हजारसहित एक जनालाई पक्राउ गरेको थियो ।  

रौतहट सदरमुकाम गौर–१ स्थित भन्सार गेटनजिक असार १२ गते विभिन्न सवारी र पैदल यात्रीलाई रोकेर जाँच गर्ने क्रममा गौर–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय मोहम्मद करमानलाई स्रोत नखुलेको १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गर्‍यो । भारतको बैरगनियाबाट नेपाल आउने क्रममा करमानले चलाएको बिआर ०५ एई ७०५ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा सिटमुनि र हेल्मेटमा लुकाइ राखेको अवस्थामा उक्त रकम फेला परेको डीएसपी दिपककुमार रायले बताए ।

पक्राउ परेका करमानले रकम कसको र कहाँबाट ल्याएको भन्ने बताएनन् । गत माघ २० गते सशस्त्र प्रहरीले जाँचको क्रममा ईशनाथ नगरपालिका–४ महुलियास्थित सडक खण्डमा चेक प्वाइन्ट राखेर आवतजावत गर्ने सवारी साधन तथा पैदलयात्रीलाई चेक गर्ने क्रममा स्रोत नखुलेको १७ लाख ४९ हजार रुपैयाँसहित राजपुर नगरपालिका–४ का ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको थियो ।  

रौतहट प्रहरीले गत आर्थिक वर्षमा स्रोत नखुलेको ३० लाख ६५ हजार ६६० रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको थियो । महोत्तरी प्रहरीले स्रोत नखुलेको रकमसहित रामगोपालपुर नगरपालिका–७ का ३६ वर्षीय जमसेद अन्सारी र ४४ वर्षीय दुखा अन्सारीलाई असार १५ गते दिउसो पक्राउ गर्‍यो । सम्सी गाउँपालिका–४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली र ७ हजार भारतीय रुपैयाँसहित भारतको कन्हमा बोर्डरबाट नेपाल आउँदै गरेको बिआर ३० एपी १५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

Madhesh is becoming a 'transit' of 'hundi' business

महोत्तरी प्रहरीले गत वर्ष १ करोड ९ लाख ६ सय स्रोत नखुलेको रकमसहित ९ जनालाई पक्राउ गरेको थियो । धनुषामा यहीँ असार १९ गते सहिदनगर नगरपालिका–३ यदुकूहाबाट स्रोत नखुलेको ८ लाख ५० हजार रूपैयाँसहित भारत बिहार मधुवनी बासोपट्टी ग्राम पञ्चायतका ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेशकुमार झालाई पक्राउ गर्‍यो । इलाका प्रहरी यदुकूहाबाट खटिएको प्रहरीले बीआर ३२ वाई ९२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । धनुषामा गत वर्ष स्रोत नखुलेको ५५ लाख ४३ हजार ६ सय सहित ३ जना पक्राउ परेका थिए । 

सिरहा प्रहरीले यहीँ जेठ ४ गते लहान नगरपालिका–२२ लबटोलीका ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी वर्ष २६ की किरणकुमारी यादवको कोठबाट ५५ लाख नगद, २ सय १ ग्राम ब्राउन सुगर, डिजिटल तराजु र ६ थान मोबाइल बरामद गरेको थियो ।

हुण्डी कारोबारमा संलग्न रहेको सूचनाका आधारमा जाँच यसअघि प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई सिरहा–२ स्थित महावीर चोकबाट १६ लाख ३८ हजार ३ सय ७० रुपैयाँसहित पक्राउ गरेको थियो । सिराहामा प्रहरीले गत वर्ष स्रोत नखुलेको ७३ लाख ३० हजार १३० रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको थियो ।

०००

मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक हेर्दा स्रोत नखुलेको रकमको कारोबारमा मुख्य व्यक्ति पक्राउ परेको देखिँदैन । प्रहरी अहिलेसम्म मुख्य व्यक्ति र यसको कारोबारस्थलसम्म पुग्न सकेको छैन । 

सर्लाहीमा २७ लाख ७५ हजार ९ सय ७० रुपैयाँको स्रोत नखुलेपछि रकमसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । सर्लाहीमा गत वर्ष स्रोत नखुलेको ४१ लाख ८५ हजार ९७० रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको थियो । 

Madhesh is becoming a 'transit' of 'hundi' business

बाह्य मुलुकबाट आर्जन गरेको रकम कानुनी माध्यमबाट नपठाइ एजेन्ट, निजी व्यापारी, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् नेपाल पठाउने वा नेपालबाट बाहिरी देशमा अवैध रुपमा रकम ओसारपसार गर्ने क्रम रोकिन सकेको छैन । नेपालमा हुण्डीमार्फत् रकमान्तर वा विप्रेषण गर्नु गैरकानुनी मानिन्छ ।

यस्तो कारोबारमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा चतुर्वेदीले बताए । ‘बाहिरबाट पठाउने रकम घरमै पुर्‍याइदिने भएपछि मानिस हुण्डीमा आकर्षित हुने गरेको पाइएको छ,’ उनले भने, ‘मधेश प्रदेशका सबै जिल्लाका सीमा क्षेत्रमा निगरानी बढाउन र हुण्डीको कारोबारीको पहिचान गरी कारबाही गर्न निर्देशन दिएको छु ।’ प्रदेश प्रहरी कार्यालय जनकपुरले हुण्डीको कारोबार नियन्त्रणलाई प्राथमिकतामा रोखेको दाबी गर्दै डिईआजी चतुर्वेदीले मुख्य कारोबारीले कमिसन प्रयोग गरेका भरिया मात्रै पक्राउ परेको बताए । ‘उनीहरुले फोनसमेत अर्कैको प्रयोग गर्ने हुँदा मुख्य कारोबारीसम्म पुग्न सकिएको छैन । केही कमिसन दिएर प्रयोग गरिएका भरियामात्रै पक्राउ परिरहेका छन्,’ उनले भने । 

हुण्डीमार्फत रकम पठाउँदा पैसाको स्रोत खुलाउनु नपर्ने र अन्य प्रक्रियागत झन्झट नहुने भन्दै हुण्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय सीमा क्षेत्रमा यस्तो कारोबार फस्टाएको प्रहरीले स्वीकारेको छ ।

सुरुमा पैदल हिँडेरहेकाबाट रकम ओसारपसार हुने गर्थ्यो । प्रहरीले पक्राउ गर्न थालेपछि साइकलको प्रयोग गर्न थाले । अहिले मोटरसाइकलमा रकम ओसारपसार गर्दै आएको प्रहरीको भनाइ छ । हुण्डी कारोबारमा महिला समेत सलग्न भएको पाइएको छ । मधेश प्रदेशका आठ जिल्लाबाट मात्रै आर्थिक वर्ष २०७९/८०, २०८०/०८१ र २०८१/०८२ को जेठसम्मको तथ्यांक हेर्दा हुण्डीको ७ करोड २० लाख ७६ हजार ३३ रुपैयाँ बरामद भएको छ भने अवैध रकम ओसारपसारमा संलग्न ५ महिलासहित ८१ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

हुण्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको प्रहरी अधिकारी बताउँछन् । नेपालबाट लागूऔषधलगायतको महँगा समान अर्को देश लग्दा हुण्डीमार्फत रकम पठाउने गरेको प्रहरीको ठम्याइ छ । रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले सीमा क्षेत्रबाट हुने हुण्डी कारोबारलाई निगरानी गर्दै आएको बताए । ‘सीमा क्षेत्रमा हुण्डीको कारोबार डरलाग्दो रुपमा मौलाएको छ,’ उनले भने, ‘हामीले हरसम्भव रोक्न प्रयास गरिरहेका छौं ।’ 

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था खुकुलो हुँदा यस्ता कामले प्रशय पाइरहेको भन्दै सुरक्षाकर्मीको आलोचना पनि हुने गरेको छ । पछिल्लो समय मधेश प्रदेशका जिल्लामा सीमा क्षेत्रमा तस्कर र हुण्डी कारोबार बढेको पाइएको प्रहरीको भनाइ छ । भरिया पक्राउ पर्ने र मुख्य मालिकसम्म प्रहरीको अनुसन्धान र पहुँच पुग्न नसकेको अनुसन्धानबाट देखिन्छ । प्रहरीको तथ्यांक हेर्दा स्रोत नखुलेको कारोबारमा भारतीय भरियासमेत सलग्न रहेको पाइएको छ । 

ooo

२०८१/०८२ जेठसम्म

जिल्ला–  मानिस पक्राउ– हुण्डीको रकम बरामद

सप्तरी –   १ जना           रु ४,००००० ।

सर्लाही–   २ जना            रु १००००० ।

रौतहट –  ४ जना–           रु ११,५१,८४० ।

बारा–     १ जना            रु १,३७,५०० ।

पर्सा– ४ जना                रु ३१,७४,००० ।

स्रोत : मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully