५ वर्षदेखि बन्द चिनी मिल सञ्चालनको आश 

असार २१, २०८२

शिव पुरी

Hope to operate a closed sugar mill for 5 years

रौतहट — लामो समयदेखि बन्द गरुडा नगरपालिका–५ स्थित श्रीराम सुगर मिल सञ्चालन हुनेमा किसान आशावादी छन् । पछिल्लो समय मिल सञ्चालकले बैंक, कर्मचारी, सप्लायर्सको दायित्व व्यवस्थापन गर्न सकेको खण्डमा मिल सञ्चालन गर्न सकिने बताएपछि किसान आशावादी भएका हुन् ।

व्यापारिक घराना गोल्छा समूहको स्वामित्वमा रहेको मिल व्यवस्थापन पक्षले करोडौं घाटामा गएको र बाध्यात्मक परिस्थिति जनाउँदै २०७७ साउन १० गतेदेखि मिल बन्द गरेको थियो । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, उखु किसानको निरन्तर आन्दोलन र सरकारी तवरबाट समेत मिल सञ्चालनको लागि पहल भएपछि व्यवस्थापन पक्षले दायित्व मिलानको समस्या हल भएपछि मात्र मिल सञ्चालनको प्रक्रिया अघि बढाइने बताएको छ ।

‘अहिलेकै अवस्थामा मिल सञ्चालन गर्न सकिँदैन । अब नयाँ प्रविधिमा गएर मात्र सञ्चालन गर्नुपर्छ । त्यसका लागि करोडौं खर्च हुन्छ,’ मिलका प्रतिनिधि रमेश दाहालले भने, ‘तत्कालै सञ्चालन हुने भन्ने केही छैन । तर दायित्वको समस्या हल गर्न सकियो भने निकट भविष्यमा सञ्चालन गरिने योजनामा मालिकहरू छन् । यसका लागि सबै कुरा मिल्नु पर्छ ।’ मिल बन्द भएपछि ऋणको अवस्था देखाउँदै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले डेढ वर्षअघि ४३ करोडमा लिलाम निकालेको थियो ।

Hope to operate a closed sugar mill for 5 years

उक्त मिलको पार्टपूर्जा लिलाम सकारेर अवस्था बुझ्न केन्द्रको कर्जा असुली विभागका प्रबन्धक यज्ञमूर्ति बस्यालसहितको टाली आएका थिए । टोली श्रीराम सुगर मिल परिसर पुग्नासाथ किसानले घेराबन्दी गरे । बैंकले समानको अवस्था बुझेर लैजाने तयारी गर्नुपर्ने थियो । तर टोलीले सोचेको जस्तो समय अनकूल भएन । मिल परिसरमा बैंकको टोली पुगेको थाहा पाउनासाथ किसानको समूह घेर्न पुगे । बैंकको टोलीलाई भित्र छिर्नै दिएन ।

इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर बैंकको प्रतिनिधिहरूलाई तत्कालै उद्धार गरेर कार्यालयमा लग्यो । मिलको समान कुनै हालतमा लैजान नदिने अडानमा किसान थिए । उनीहरूले बैंकले गरेको लिलाम बदरको माग अघि सारे । बैंकको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार अहिले लिलाम प्रक्रिया बदर गरेर सकार गर्ने व्यक्तिको रकम समेत फिर्ता दिइसकेको छ । 

Hope to operate a closed sugar mill for 5 years

बैंकले लिलाम बदर गरेको र मिल सञ्चालकहरू सकारात्मक देखिएकाले पनि आफूहरू आशावादी भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । ‘अझै पनि हामीहरू मिल सञ्चालकलाई कुन हिसाबले सहयोग गर्ने पर्ने हो, त्यो गर्न तयार छौँ,’ उनले भने,‘मिल सञ्चालन गर्न यहाँका किसानहरू सहयोग गर्न तयार छन् । हामी अब खुसी छौँ ।’ मिल बन्द भए पछि जिल्लाका किसानहरू एकजुट छन् । उनीहरूले प्रधानमन्त्री, विभिन्न राजनीतिक दल, सांसद, मन्त्री, र जनप्रतिनिधिहरू गुहार्दै आएका छन् । उखु उत्पादक संघ रौतहटको अगुवाइमा जिल्लाभरिका किसानले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर गरुडा मिल सञ्चालनका लागि पहल थाल्न अनुरोध गरेका थिए । 

Hope to operate a closed sugar mill for 5 years

२०४९ सालमा शिलान्यास भई २०५१ सालबाट मिलले उखु क्रसिङ थालेको हो । मिल स्थापना भएदेखि जिल्लामा १६ हजार उखु किसान रहेको उखु उत्पादक संघले जनाएको छ । गोल्छा समूहको स्वामित्वमा रहेको मिल करोडौंको घाटा र बाध्यात्मक परिस्थिति जनाउँदै व्यवस्थापन पक्षले बन्द गरे पछि किसानहरूले पुन: सञ्चालनका लागि आन्दोलन गर्दै आएका छन् ।

Hope to operate a closed sugar mill for 5 years

हरेक वर्ष उद्योगले करोडौं घाटा बेहोर्दै आएको र उद्योगमा कार्यरत श्रमिक, कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिन समेत आर्थिक अभाव रहेको भन्दै व्यवस्थापन पक्षले मिल बन्द गर्नु परेको जानकारी दिएको छ । २६ वर्ष निरन्तर सञ्चालनमा रहेको मिल बन्द हुँदा सिजनल, रेगुलर र करार गरी ३ सय २५ जना कर्मचारी, मजदुरको रोजगारी गुमेको उखु उत्पादक संघका अध्यक्ष यादवले सुनाए । उनी मिल बचाउ संघर्ष समितिका संयोजक समेत हुन् ।

Hope to operate a closed sugar mill for 5 years

संघको अगुवाइमा केही दिनअघि सदरमुकाम गौरमा हातमा उखुको बोट बोकेर जिल्लाभरिका किसानले जिल्ला प्रशासन पुगेर मिल सञ्चालन र अनधिकृत रूपमा गरिएको टेन्डर रद्दको माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । मधेश प्रदेशका सांसद कृष्ण यादवले गरुडास्थित चिनी मिल सञ्चालनको लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक/पटक भेटेर कुरा राखेको बताए । ‘हामी अहिले पनि मिल चल्नु पर्छ भन्नेमा छौँ,’ उनले भने,‘किसानको कारणले बन्द भएको होइन । व्यवस्थापनकै कारणले हो । अब सरकारले पनि चाडै सञ्चालनमा ल्याउन पहल थाल्नु पर्छ ।’ 

Hope to operate a closed sugar mill for 5 years

बारा, पर्सा र रौतहटका किसानको एक सिजनामा ३० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने मिलको लक्ष्य थियो । तर पछिल्लो १० वर्षयता १५/२० भन्दा कम क्रसिङ गर्न थाले पछि घाटा सुरु भएको मिल व्यवस्थापन पक्षको दाबी छ ।

Hope to operate a closed sugar mill for 5 years

गत वर्ष मिलको अवस्था बुझ्न संघीय संसद्को श्रम हित उपभोक्ता तथा उद्योग समितिका तत्कालीन सभापति एवम् पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सरिताकुमारी गिरी, उमाशंकर अरगरिया लगायतका पदाधिकारी रौतहट आएका थिए ।

टोली स्थानीय किसान, कर्मचारी युनियन, मजदुर संघका पदाधिकारीलगायतलाई भेटेर फर्कियो । त्यसपछि मिल सञ्चालन हुने आशा पलाएको भन्दै स्थानीय किसान खुसी थिए । मिल बन्द पछि मेसिनरी समान दिनप्रतिदिन खिया लाग्दै गएको छ । मिल वरपर झाडी पलाएर फोहोर देखिन थालेको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully