२६ वर्षपछि पूरा हुँदै हुम्लीको सडक सपना
सुर्खेत — हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । खार्पुनाथ गाउॅपालिका—५ स्थित चुवाखोला कर्णाली नदीमा बेलीब्रिज निर्माण भएसॅगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । पुलको औपचारिक उद्घाटन असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।
नेपाली सेनाले झण्डै ४ करोड बजेटबाट ३५ दिनमा पुल निर्माणको काम सकेको थियो । योसॅगै हुम्लीको सडक सपना २६ वर्षपछि पूरा भएको छ ।
गत वर्ष चैत अन्तिम साता नेपाली सेनाले सडकको ट्रयाक खोलेपछि २ सय ६९ किलोमिटर सडकमा यातायातका साधन चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन । ‘खार्पुमा पुल बनेसॅगै भारतीय सहर रुपैडिहाबाट चीन सीमास्थित हिल्सासम्म एउटै गाडीमा जान सकिने भएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भने, ‘पुल नहुँदा यसअघि ३ खण्डखण्डमा गाडी सञ्चालन गर्नुपरेको थियो, यात्रुहरु चर्को भाडाको मारमा थिए ।’ उनका अनुसार भारतीय सहर रुपैडिहाबाट चीन सीमासम्मको हिल्सासम्मको दूरी करिब ५ सय ५ किलोमिटर छ । कालीकोटको खुलालुबाट सुरु हुने कर्णाली करिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ ।
२०५४ सालमा हुम्लामा भोकमरीसँगै फैलिएको भाइरल इन्फुन्जाबाट करिब ५० स्थानीयले ज्यान गुमाएपछि खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो । २०५७ सालमा जिविसको आन्तरिक स्रोतको प्रयोग गरी सिमकोट–हिल्सा सडक खन्न सुरु गरिएको तत्कालीन जिविस सभापति एवं कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । उनका अनुसार ०५८ सालबाट सडकलाई बिश्व खाद्य कार्यक्रमले ‘कामका लागि खाद्यान्न कार्यक्रम’ सञ्चालन गरी निरन्तरता दियो भने दुर्गम क्षेत्र विकास समितिले सडकमा ७ लाख रुपैयाँ खर्च गर्यो । त्यस्तै २०५९ सालदेखि ०६५ सालसम्म जिविसले ६ करोड ८० लाख रुपैयाँ खर्च गरी फेरी सडक निर्माणलाई निरन्तरता दिए पनि तीव्र गतिमा काम हुन नसकेपछि स्काभेटर खरिद गरी सडकको काम गरिएको थियो ।
कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवाखोला कर्णाली नदीमा निर्माण भएको बेलीब्रिज । तस्बिर : कान्तिपुर
तत्कालीन जिविसले सडक निर्माण गर्न सुरु गरेको सडकमा १२ वर्षपछि मात्र केन्द्रीय सरकारको आँखा पर्यो । सरकारले २०६९ साल चैत्रमा हिल्सा–सिमकोट सडक आयोजना कार्यालय स्थापना गरी सिमकोट–हिल्सा सडकलाई कर्णाली करिडोरको एक हिस्सा बनाएको थियो । त्यसयता मात्र सडकले गति लिएको शाहीले बताए । उनका अनुसार सरकारले २०७१ साल चैत्र ५ गतेदेखि सडक निर्माणको जिम्मा नेपाली सेनालाई जिम्मा दिएको थियो ।
कर्णाली करीडोरको पूर्णता पाएसॅगै समग्र कर्णाली प्रदेशको विकासमा टेवा पुग्ने अपेक्षा रहेको कर्णाली प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहले बताए । उनका अनुसार सडक बनेसॅगै चीनको हिल्सादेखि कर्णालीका अधिकांश जिल्लाको सम्बन्ध भारतको रुपैडियासम्म जोडिएको छ । ‘अब चीन र भारतसँग सम्बन्ध स्थापित गरी व्यावसायिक फाइदा लिन सकिन्छ,’ उनले भने, ‘अन्य विकासका पूर्वाधार निर्माणमा पनि सहज हुन्छ, रोजगारीसॅगै आर्थिक कारोबार बढ्ने अवस्था छ ।’
कर्णालीको पर्यटन, पूर्वाधार निर्माण, रोजगारी र आर्थिक विकाससॅग यो सडकको महत्व रहेको नागरिक अगुवा चन्दन गिरीले बताए । ‘सरकारले छिट्टै कुटनीतिक पहल थाली यो सडकलाई व्यापारिक मार्गको रुपमा विकास गर्न जरुरी छ,’ उनले भने, ‘जसले पर्याप्त रोजगारीका अवसर सिर्जना गरी स्थानीय उत्पादनको बजारीकरण गर्न सहयोग पुग्छ ।’
स्तरोन्नतिको काम धमाधम
कर्णाली करिडोरअन्तर्गत अहिले दुई योजना कार्यालयमार्फत सडक स्तरोन्नतिको काम भइरहेको छ । दक्षिण खण्ड (खुलालु—सलीसल्ला) मा १ सय २३ र उत्तरखण्डअन्तर्गत सलीसल्ला—हिल्सा सडक योजनामा १ सय ४६ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको हो । आयोजना कार्यालयका अनुसार पिलिचौर—तुम्च, तुम्कोट—हिल्सा, एलबाङ—छ्याछडा, छ्याछडा—हेक्पाखोला, कुवाडी—तुम्च गरी ५ खण्डमा सडक सडक चौडा बनाउने, टेवापर्खाल लगाउने, ग्राभेल र कालोपत्रसम्मका काम जारी छन् ।
तुम्कोट—हिल्सा खण्डको ३५ मिटर सडकमा नालासहित साढे सात मिटटर चौडाइको सडक निर्माणका लागि गजुरमुखी/शिवशक्ति जेभीले आर्थिक वर्ष २०७९/८० मा ठेक्का लिएको थियो । कम्पनीले २ पल्ट म्याद थप गरेकोमा अन्तिम पल्टका लागि साउनसम्म म्याद कायम रहेको योजना कार्यालयका सूचना अधिकारी ओमप्रकाश कोहारले बताए । उनका अनुसार एलबाङ—छ्याछडा खण्डअन्तर्गत १७ किलोमिटरमा सडक स्तरोन्नति गर्न आशिष कन्ट्रक्सनले २ वर्षअघि ठेक्का लिएको थियो । उसको म्याद चैत मसान्तसम्म छ । त्यस्तै छ्याछडा—हेक्पाखोला खण्डको १० किलोमिटरमा सडक स्तरोन्नतिको काम भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा ठेक्का दिइएको उक्त सडकमा साउनसम्म काम सक्नेगरि एक वर्षका लागि म्याद थपिएको थियो । यी दुई खण्डमा झण्डै १० करोड रुपैयाॅको बजेटबाट स्तरोन्नतिको काम भइरहेको हो । उत्तरी खण्डमा सडक स्तरोन्नतिका लागि यो वर्ष ३३ करोड रुपैयाॅ बजेट छुट्याइएकोमा आगामी वर्षका लागि ४० करोड बजेट विनियोजन भएको छ । यो खण्डमा ४ वटा पुल निर्माणको काम सकिएको उनले जानकारी दिए ।
दक्षिण खण्डको खुलालु—सल्लीसल्ला सडकअन्तर्गत ११ किलोमिटरमा ट्रयाक निर्माणको काम भइरहेको छ । अहिले वैकल्पिक सडकमार्फत यातायातका साधन सञ्चालन भइरहेकाले नेपाली सेनाले उक्त खण्डमा ट्रयाक निर्माणको काम गरिरहेको हो । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार ११ किलोमिटर खण्डमध्ये यो वर्ष साढे ७ किलोमिटर सडकमा ट्रयाक खोल्ने काम भइरहेको छ । जसका लागि सरकारले १० करोड रुपैयाँ छुट्याएको छ । सेनाले बोक्चेगौडा, भीइगौडा र याङ्चु भीरमा सडक स्तरोन्नतिको कामसमेत गरिरहेको छ । कडा चट्टान भएका भीरहरु फोडेर सडक चौडा बनाउने र ग्रेड मिलाउने काम भइरहेको छ । कडा चट्टान भएकाले बिस्फोटक पदार्थ प्रयोग गरी सडक स्तरोन्नतिको काम भइरहेको सेनाले जनाएको छ ।
खुलालु—सल्लीसल्ला खण्डको ५० किलोमिटरमा अहिले कालोपत्रसहित सडक स्तरोन्नतिको काम भइरहेको सडक निर्माण आयोजनाका इन्जिनियर तुलाराम शर्माले बताए । उनका अनुसार पिलिचौर—तुम्च खण्डको झण्डै २३ किलोमिटर सडकमा कालोपत्रका लागि पीएस कन्ट्रक्सनले १ अर्ब १० करोड रुपैयाँमा ठेक्का लिएको छ । उसले ३ वर्षभित्र साढे सात मिटर चौडाइको सडकसहित नाला निर्माण, ग्रेड र लेभल मिलानसहित कालोपत्र गर्न असार १५ गते सम्झौता गरिसकेको छ । योजना कार्यालयका अनुसार यो वर्ष ३५ करोड बजेट रहेको यो खण्डका लागि आगामी वर्ष एक अर्ब रुपैयाँ विनियोजन भएको छ । त्यस्तै कुवाडी—तुम्च खण्डको २७ किलोमिटर सडकमा पनि स्तरोन्नतिसहित कालोपत्रे गर्न कन्टेक सिंह एण्ड ब्रदर्श जेभीले १ अर्ब १८ करोड रुपैयाँमा ठेक्का लिएको छ । उसले पनि ३ वर्षभित्र निर्माणको काम सक्नेगरि स्तरोन्नतिको जिम्मा लिएको योजना प्रमुख शर्माले बताए । ‘यी दुई खण्डको कालोपत्र सकिएपछि कर्णाली करिडोरको पहिलो खण्ड कालोपत्र हुन्छ, कालीकोट खण्डमा पनि कालोपत्र गर्नेगरि फाइल अगाडि बढाएका छौ,’ उनले भने, ‘आगामी आर्थिक वर्षदेखि आवश्यक प्रक्रिया सुरु हुन्छ ।’
१० पुल बने, ८ पुल बन्न बाँकी
करिडोरअन्तर्गत दक्षिण खण्डमा ६ र उत्तर खण्डमा ४ गरी १० खोला तथा कर्णाली नदीमा बेलिब्रिज निर्माण भएका छन् । अझै ८ वटा पुल निर्माणको काम बाँकी छ । दक्षिण खण्डमा खुलालु, फुगाड, सान्नीगाड, जिट्टीखोला, बड्डीगाड, कुवाडी र सल्लीसल्लामा बेलिब्रिज निर्माणको काम सकिएको छ । ती खोलाहरुमा बेलिब्रिज विस्थापन गरी पक्की पुल निर्माण गर्न प्रक्रिया अघि बढिसकेको र ठेक्का प्रक्रियामा रहेको योजना प्रमुख शर्माले बताए । त्यस्तै उत्तर खण्डमा चुवाखोला, सल्लीखोला, ताग्रुखोला र हेक्पाखोलामा पुल निर्माणको काम सकिए पनि सर्केगाड, न्यासीखोला र स्याम्नेखोलामा पुल निर्माण गर्न बाॅकी रहेको सूचना अधिकारी कोहारले बताए । ‘अहिले बेलीब्रिज निर्माण गरी यातायातका साधन सञ्चालन भइरहेका छन्, प्राथमिकताका आधारमा क्रमशः पक्की पुल निर्माण हुनेछन्,’ उनले भने, ‘सडकको स्तरोन्नतिसॅगै सबे ठाउॅमा पुल निर्माणको काम सकिए बाह्रै महिना यातायातका साधन हिल्सासम्मै सञ्चालन हुनेछन् ।’
