मदन भण्डारी राजमार्ग : सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

असार १४, २०८२

तृप्ति शाही

Madan Bhandari Highway: Delay in construction of Surkhet West section

वीरेन्द्रनगर — पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिमको निर्माण कार्यमा ढिलाइ भएको छ । बारम्बार भइरहने विवादका कारण यो खण्डको काममा ढिलाइ भइरहेको छ । पश्चिम खण्डमा भएको निर्माणमा अवरोध सिर्जना भएपछि निर्माण कार्यले तीव्रता पाउन सकेको छैन । एकपछि अर्को विवादले काममा अवरोध हुने गरेको हो ।

पश्चिम खण्डको विद्यापुरदेखि बल्देसम्मको खण्डको म्याद २०८२ फागुन १६ गतेसम्म तोकिएको छ भने बल्देदेखि लगामसम्मको म्याद २०८४ भदौ १३ गतेसम्म राखिएको छ । परियोजनाको प्रारम्भिक बजेट १ अर्ब २१ करोड तोकिएको छ । यस्तै, पूर्वी खण्डको १ अर्ब ३६ करोड बजेट रहेको छ । पूर्व खण्डको निर्माण २०७८ सम्म सकिनुपर्ने थियो तर तोकिएको समयमा काम पूरा नभएकाले फेरि म्याद थप गर्दै भदौ मसान्तसम्म लम्ब्याइएको छ । यसमा हालसम्म १ अर्ब ३ करोड खर्च भइसकेको छ ।

पछिल्लो पटक राजमार्गअन्तर्गतको गुटु–बल्दे खण्डको बिजौरामा स्थानीयले अवरोध गरेका छन् । बिजौराको अस्पताल चौकदेखि बिजौरा बजार हुँदै डुफेला सम्मको झन्डै १३ सय मिटरमा विवाद भएको हो । डीपीआर अनुसार सडक निर्माण गर्दा बिजौरा बजार नै विस्थापित हुने अवस्था आएको भन्दै स्थानीयको स्थानीयले अवरोध गरेका हुन् ।


डीपीआरमा स्थानीय अस्पताल चौकदेखि बिजौराबजार हुँदै सडक डुफेलासम्म जोड्ने उल्लेख छ । बजारसँगै केही व्यक्तिको जग्गा पनि सडकमा पर्ने भएपछि स्थानीयले अवरोध गरेको जनाएका छन् । 


डीपीआर अनुसारको सडक निर्माण गर्नेहो भने धेरै स्थानीय विस्थापित हुनुपर्ने अवस्था आउने चौकुने गाउँपालिका – ४ का वडा अध्यक्ष टोपबहादुर बिसीले जानकारी दिए । उनका अनुसार यहीँ डीपीआर अनुसार सडक लियो भने दुई दर्जन घर विस्थापित हुन्छन् । ‘डीपीआरअनुसार सडक निर्माण भए म पनि विस्थापित हुनुपर्छ । उनले भने ,‘ मेरो झन्डै आठ रोपनी जग्गा सडकले मासिन्छ । जनतालाई विस्थापित गराएर भन्दा अन्यत्रबाट राजमार्ग घुमाएर लगौं भन्ने स्थानीयको माग छ ।’ अस्पतालको किनार हुँदै बिजौरा स्कुलको दक्षिणबाट डुफेला सडक लैजानुपर्ने भनाइ स्थानीयको भएको उनले बताए ।

Madan Bhandari Highway: Delay in construction of Surkhet West section

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम खण्डमा पर्ने गुटु बजार 

यता मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले राष्ट्रिय राजमार्ग घुमाउनुभन्दा जति सक्यो छोटो मार्ग हुने गरी निर्माण हुनुपर्ने बताउँदै आएको छ । स्थानीयको माग अनुसार सडक घुमाएर लैजाँदा राजमार्गलाई थप २ किलोमिटर घुमाउनुपर्ने कार्यालयको भनाई छ । यो स्थानमा भइरहेको अवरोध हटाएर सडक निर्माण गर्नका लागि सर्वपक्षीय छलफल पनि भए । तर अहिलेसम्म सहमति जुट्न सकेको छैन । राजमार्गको डीपीआरबाहेक अन्यत्रबाट सडक लैजान सकिने अवस्था नभएको योजना कार्यालयका इन्जिनियर ओली बताए । यो समस्या समाधान हुन नसक्दा काम अघि बढ्न नसकेको उनको भनाई छ । १३ सय मिटरमा विवाद हुँदा काम रोकिएको छ । इन्जिनियर ओलीले कोही स्थानीय सहमतिमा पनि आएको बताए । छलफल भइरहेकोले यो विवाद टुंगो लाग्ने उनको भनाई छ । 

पश्चिम खण्डमा डीपीआर चरणमै विवाद थियो । यो खण्डमा  सुरुवातदेखि नै विवाद थियो । सुरुमा बराहताल र पञ्चपुरीमा स्थानीयले डीपीआर चरणमै अवरोध गरे । बराहतालको बड्डीचौर , पञ्चपुरीको बराइचे र दुलालथाईमा स्थानीयले सडक सर्वे नै गर्न दिएका थिएनन् । लामो प्रयास पछि मात्र समस्या समाधान भएको थियो । यही खण्डमा अर्को विवाद पनि सुरु भयो । बड्डीचौरदेखि खम्बागाडे सम्मको खण्डमा सडकमा रहेका रुख हटाउने विवादले काम नै रोकियो । रुख काट्ने अनुमति नपाउँदा लामो समयसम्म यो खण्डको काम हुन पाएन । यसले पनि सडक स्तरोन्नतिको काममा ढिलाइ भयो । 

बड्डिचौरदेखी खम्बागाडे सम्मकको १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार निर्देशनालय मार्फत काम भइरहेको छ । केन्द्र सरकारको सहमतिमा प्रदेश सरकारले काम गरिरहेको हो । १० किलोमिटर खम्बागाडेदेखी पलैटे , चतुरे , विद्यापुर र बल्देदेखी बेतान र लगामसम्मको १५ किलोमिटर गरी २५ किलोमिटरको ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ ।

Madan Bhandari Highway: Delay in construction of Surkhet West section

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम खण्डमा पर्ने लगाम बजार 

बाँकी विद्यापुर देखी बल्देसम्मको झन्डै २२ किलोमिटर सडकको २०७९ मै ठेक्का व्यवस्थापन भएर काम भइरहेको इन्जिनीयर ओलीले बताए । नालि निर्माण , सडक चौडागर्ने , कल्भर्ट निर्माण लगाएतको काम भइरहेको छ । लगाम बजारदेखी धनराश, धामीसेन हुँदै पाल्पाघाटको करिब ३० किलोमिटर सडकको स्रोत सुनिश्चितता हुन बाँकी छ । डीपीआर लगायत सबै भइसकेको  छ । सरकारबाटै बजेट व्यवस्थापन नभएका कारण ठेक्का व्यवस्थापन हुन नसकेको हो ।

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा करिब ९० किलोमिटर सडक पर्दछ । राजमार्गले बराहताल गाउँपालिकाको बड्डिचौर हुादै पश्चिम बेनीघाटसम्म जोड्छ । 

Madan Bhandari Highway: Delay in construction of Surkhet West section

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम खण्डमा पर्ने धनराश गाउँ 

मदन भण्डारी राजमार्ग अन्तर्गतको पूर्वीखण्डको काम भने अन्तिम चरणमा पुगेको छ । पूर्वीखण्डमा भेडाबारीदेखि धुलियाबिटसम्मको दूरी ३५ किलोमिटर सडक पर्दछ । ३३ किलोमिटर कालोपत्रे भइसकेकको मदन भण्डारी राजमार्ग कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर ओलीका अनुसार २ किलोमिटर सडक मात्र बाँकी छ । १२ वटा पुलको ठेक्का व्यवस्थापन भएकोमा ११ वटा सम्पन्न भइसकेका छन् । अब एउटा पनि सम्पन्न हुने चरणमा छ । ढलान पनि भइसकेको छ ।      

मदन भण्डारी राजमार्गले सुर्खेतका ६ वटा स्थानीय तहलाई छोएर सुदूरपश्चिमसँग सिधा जोड्छ । पूर्वी सुर्खेतको गुर्भाकोट र लेकबेँसी नगरपालिका, राजधानी वीरेन्द्रनगर हुँदै पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाको मध्यभूभाग हुँदै सुदूरपश्चिमको डोटी जिल्लालाई सिधा जोड्ने छ । यो सुदूरपश्चिमसँग जोड्ने छोटो मार्ग हो । वीरेन्द्रनगरबाट १८५ किलोमिटरमा कोहलपुर हुँदै चिसापानी पुगिन्छ । तर यो राजमार्ग बन्यो भने करिब ९५ किलोमिटरमा डोटी पुगिन्छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully