ठेक्का म्याद सकिएको ५ वर्ष पुग्यो, पानी आउने कहिले ?

असार १०, २०८२

प्रकाश बराल

It has been 5 years since the contract expired, when will the water come?

बागलुङ — तोकेको समयमा काम सकिएको भए २०७७ सालमै बागलुङ बजारका बासिन्दाले काठेखोलाको लिफ्ट योजनाबाट खानेपानी पाउँथे । कन्काई जयमाता संयुक्त निर्माण कम्पनीले ठेक्का समय सकिएको ५ वर्षमा पनि खानेपानी योजना निर्माण पूरा हुने टुंगो छैन ।

योजना सम्पन्न नहुँदा सदरमुकाम बागलुङबासी वर्षौंदेखि शुद्ध र पर्याप्त पानी वितरणको पर्खाइमा छन् । हाल वितरण भइरहेको यसअघिको योजनाको पाइपलाइन वर्षातमा ठाउँठाउँमा पहिरोले अवरुद्ध हुन्छ । साता/दस दिनसम्म पनि पानीको हाहाकार भएपछि बागलुङ नगर खानेपानी सरसफाइ उपभोक्ता संस्थाले लिफ्ट खानेपानी आयोजनाको तयारी गरेर नयाँ ठेक्का लगाएको थियो ।

त्यही तयारी अनुसार खानेपानी तथा ढल निकास विभागले कन्सल्ट्यान्टमार्फत यो आयोजनाको डिजाइन बनायो । उक्त डिजाइन अनुसार २०७५ सालमा दुई वर्षभित्र काम सक्ने गरी कन्काई जयमाता संयुक्त निर्माण कम्पनीले ३० करोड २६ लाख रुपैयाँमा बागलुङ नगर सहलगानी खानेपानी आयोजना निर्माण थालेको थियो । तोकेको समयमा काम नसकेपछि धेरै बाधा आउन थाले । तीन पटकसम्म थपेको म्यादमा पनि ठेकेदारले काम सकेको छैन । बरु म्याद थप्दै मूल्य पनि बढाएर अहिले ३४ करोड लागत मूल्य पुर्‍याइसकेको छ । अझै ठेकेदारले योजना हस्तान्तरण गर्ने सुरसार नगरेको हो ।

यो आयोजनाका लागि अहिलेसम्म काठेखोलामा ५ वटा समवेल (पानी थिग्राउने ट्यांकी) बनाइएको छ । ५ लाख लिटरको एक वटा र २ लाख लिटरका २ वटा आरबिटी ट्यांकी बनाइएको छ । दुई वटा स्लोसेन्ट ट्यांकी पनि बनेको छ । काठेखोलादेखि रात्माटा हुँदै भीरलाकुरीसम्म लैजाने पाइपलाइनका लागि ‘डिआई’ पाइप डिजाइन भएको छ । उक्त पाइप जडान गर्न नपाउँदै फुट्न थालेपछि काम अगाडि बढ्न सकेन । उपभोक्ता समितिका पूर्वअध्यक्ष हरिप्रसाद श्रेष्ठले यहाँको भूगोललाई नमिल्ने पाइप डिजाइन गरिएकोले जडान गर्न नपाइ फुटेको बताए । ‘जोडबलले पानी लिफ्ट गर्दा थर्केर पाइपलाइन फुट्यो,’ श्रेष्ठले भने, ‘जति प्रयास गरेर पनि जोगाउन सकिएन ।’ पहिलो चरणको ट्यांकीमासमेत पानी लैजान नसकेपछि यो विधि अलपत्र परेको हो ।

It has been 5 years since the contract expired, when will the water come?

तत्काल पानी खुवाउनका लागि संघीय खानेपानी तथा ढल निकास कार्यालय बेनी, डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय बागलुङ र उपभोक्ता समितिको कार्यालयमा रहेका केही ‘जिआई’ पाइप जोडेर पहिलो ट्यांकीमा पानी लैजाने प्रयास भएको छ । प्रतिसेकेण्ड ७० लिटर पानी लिफ्ट गर्ने योजना भए पनि अहिलेसम्म एक तिहाइ पनि लिफ्ट नभएको हो । तत्काल पाइपलाइन नफेरेसम्म आयोजना सफल नहुने अवस्था आएपछि उपभोक्ता समिति डेढ करोड करोड नोक्सानीमा परेको छ ।

संघीय खानेपानी तथा ढल निकास कार्यालयकी प्रमुख सोनम थापाले भने डिजाइन त्रुटि नभएको, भूगोल बाधक भएको दाबी गरिन् । ‘प्राविधिक रुपमा यो पाइप दिगो समयसम्म काम लाग्छ, खिया लाग्दैन,’ उनले भनिन्, ‘यहाँ मात्रै यो पाइप असफल भएको हो ।’ डिआईको तुलनामा जिआई पाइप ५० प्रतिशत कमजोर हुने उनले बताइन् । यो आयोजनामा भने डिआई पाइप फुटेको स्थानमा जिआई पाइपले धानेको छ । 

ठेकेदार कृष्णहरि चौलागाईंले काम सक्नै लागेपनि पाइप फुटेर हैरानी भएकोले बुझाउन नसकेको बताए । ‘यो भूगोलमा उपयुक्त छैन भन्ने निष्कर्षमा हामी पनि पुगेका छौं, यो पाइपको विकल्प त खोज्नैपर्छ,’ उनले भने, ‘ठेक्का सम्झौताको विषय भएकोले हामीले त्यो बोल्न मिलेन, तर सरकारी निकायले ख्याल गर्नैपर्छ ।’ यो पाइपबाट पानी तानेर उपभोक्ताले नियमित खान नसक्ने उनले बताए । लिफ्टका लागि मात्रै झण्डै १ किमि डिआई पाइप प्रयोग भएको छ । यो पाइप फुट्दा एउटा टुक्रा जोड्नका लागि मात्रै १० देखि १५ जना चाहिन्छ ।

It has been 5 years since the contract expired, when will the water come?

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माणाधीन छ । ३० प्रतिशत लगानीको २५ प्रतिशत नगरविकास कोषको ऋण सहयोगसमेत जुटाइएको छ । यो आयोजना निर्माण नसकिए पनि उपभोक्ता समितिले वर्षमा ८० लाख रुपैयाँ साँवाव्याज भुक्तानी गर्दै आएको छ । चालु आर्थिक वर्ष भने १ करोड १० लाख बढी भुक्तानी गर्नुपर्ने दायित्त्व देखिएको लेखा शाखाले जनाएको छ । ‘यो आयोजना सम्पन्न भएमा एकैपटक ५० हजार जनसंख्यालाई शुद्ध पानी खुवाउन सकिन्छ,’ उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ले भने, ‘पाइपलाइनको समस्या, जमिन भत्कने खतरा समेतले हामी हैरान भएका छौं । यो कामले उपभोक्ता समितिलाई पनि डेढ करोड ऋण भार थपियो ।’

तत्कालीन डिभिजन प्रमुख शेखरचन्द्र केसीको नेतृत्वमा बागलुङ नगरपालिका ३ को कैलामपोखरीबाट काठेखोलाको पानी लिफ्ट गर्ने योजना बनाइएको थियो । उक्त योजना अनुसार काम थाल्दा यहाँ पटकपटक पहिरो चलेर बस्ती नै जोखिममा परेको छ । बागलुङ नगरपालिका–३ को देउराली चोक र नारायण चोक क्षेत्रमा पहिरोको जोखिम छ । कैयौं घरछेवैमा पहिरो खस्न थालेपछि घरै छाड्नेसमेत छन् ।

२०५१ मा सदरमुकामदेखि १४ किमि परको भुँदी र रेश खोलाबाट ल्याएको खानेपानी पर्याप्त नभएपछि २०६७ सालमा साना सहरी खानेपानी परियोजना सञ्चालन भइ मुहान व्यवस्थापन गरिएको थियो । त्यहाँ पनि डिआई पाइप प्रयोग गरिएकोमा पटक पटक फुटेर उपभोक्ता हैरान थिए । ३ सयबढी सिमेन्टका ढीका बनाएर पाइपलाई नहल्लिने बनाएपछि मात्र केही सहज भएको थियो । डिजाइन अनुसार डुडियाखोलामा स्थानीयले पानी नदिएपछि डिभिजनले काठेखोलाको लिफ्ट विधि ल्याएको थियो । यो आयोजनाबाट अहिले सदरमुकामको वडा १, २, ३ र ४ मा गरी ४ हजार १ सय धारा जडान भएका छन् । स्थायी र अस्थायी गरी ५० हजार जनसंख्याले यो पानी खाने जिसीले बताए ।

गायक तथा कवि धर्मराज थापाले २०२७ मा बागलुङ आउँदा ‘बागलुङको बजार, पर्धेनीलाई दुःख हजार’ भन्ने गीत गाएको श्रेष्ठ सम्झन्छन् । त्यतिबेला बागलुङ बजारमा खानेपानीको सास्ती थियो । ५५ वर्षपछि पनि यो सास्ती उत्तिकै छ । त्यतिबेलाको सानो जनसंख्याले खोलामा पुगेर पानी खेप्थे । अहिले घरघरमा धारा बनेका छन् तर पानीको समस्या उत्तिकै छ ।

२०६४ मा बागलुङ नगरपालिकाले १७ लाख रुपैयाँ र ७ जना कर्मचारी दिएर उपभोक्ता समितिलाई खानेपानी आयोजना हस्तान्तरण गरेको थियो । समितिले खानेपानीको महसुलबाट १५ देखि २० लाख रुपैयाँ संकलन गर्छ । मासिक ५ लाख विद्युत्‌को  शुल्क तिर्नु परेको कोषाध्यक्ष कृष्णप्रसाद शर्माले बताए । पूर्णरुपमा पानी सञ्चालन गरेमा मासिक ७ लाखसम्म महसुल लाग्ने उनले बताए । कर्मचारी र कार्यालय खर्चमा थप ७ लाख खर्च गर्दा मासिक ५ देखि ७ लाख रुपैयाँ पनि बचाउन सकेको छैन । त्यही रकम संकलन गरेर वार्षिक ८० लाख साँवाब्याज दिने गरेको हो ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully