युवाले बिर्सिएका गाउँ, गाउँले सम्झिएका युवा

असार ७, २०८२

महेश केसी

The village forgotten by the youth, the youth remembered by the village

रुकुम पूर्व — सिस्ने गाउँपालिका–३ मा पर्छ पोखरा गाउँ । जिल्ला सदरमुकाम रुकुमकोटबाट करिब १० किलोमिटर उत्तर–पश्चिममा पर्ने यो ठाउँको स्वरुप र सुन्दरता जति सुन्दर छ उति नै उराठ लाग्ने कथा छ यहाँका घर–घरको । स्थानीय रामचन्द्र केसीले एक प्रसंगमा गाउँमा कुनै चाडबाड र पारिवारिक जमघट नभएका बेला त गाउँभरिका मान्छेसँगै भएर पालैपालो एउटै घरमा बसे हुने भनेर हास्यास्पद शैलीमा गम्भीर कुरा गरे ।

२८ वर्षका रामचन्द्रले गाउँमा मुस्किलले १०–१२ जना युवा मात्रै नियमित रुपमा बस्ने र परेका बेला आफूहरु रात–दिन नभनेर खटिने गरेको सुनाए । ‘कहिले कोही बिरामी हुन्छ, अनि कहिले कसको के काम पर्छ । अनि झट्ट जो भेटिन्छ उसैले मोटरसाइकल वा अटोमा राखेर रुकुमकोटसम्म पुर्‍याउँछौं,’ उनले भने, ‘धेरै काका अनि दाजुहरु देश–विदेशमा छन्, पैसा कमाउँछन् । तर परेका बेला उनीहरुको पैसा भन्दा पनि हाम्रो उपस्थिती काममा आइरहेको छ ।’

यही प्रसंगमा अर्का स्थानीय धनबहादुर केसीले आफ्ना चारभाइ छोरामध्ये जेठो छोरा मात्रै साथमा भएको र अरु परदेश गएको सुनाउँदै अगाडि भएको मान्छे नै परेका बेला सहयोगका लागि हाजिर भइरहेको बताए । ‘छोरा–बुहारी र नातिनातिना अमेरिकामा बस्छन् । उनीहरुले पैसा कमाएका छन् । बेलाबेलामा फोन गरेर सुख–दुःख सोध्ने र परेका बेला छौं त भन्छन् तर कतिबेला पर्छ तिनीहरुलाई के थाहा ? चाहिएका बेला यहीका केटाहरु जुट्छन् र सकेको सहयोग गर्छन्,’ उनले भने ।

गाउँमा उपलब्ध सीमित युवाहरुले आफूहलाई अरुले ‘बेरोजगार, कामै नलाग्ने, काम नपाएर गाउँमै बसेका’ जस्ता अनेकन उपमा दिने गरेको दुःखेसो गर्छन् । तर आपत पर्दा आफूहरु नै काममा आइरहेको दाबी उनीहरुको छ । पोखराका रवि केसीले भने, ‘गाउँमै किन बसेका, तिमीहरुको कामै छैन जस्ता अनेक कुरा सुन्नुपर्छ । तर यहाँ पर्दाको जन्ती र मर्दाको मलामी गर्न हामी नै अगाडि लाग्छौं । तै पनि हामीलाई बिना कामका भनेर भन्न छोडिँदैन । यस्तै छ ।’

The village forgotten by the youth, the youth remembered by the village

यो कथा सिस्ने–३ को मात्रै हैन । यस्ता दुःख पहाडी र हिमाली भेगका टोलैपिच्छे छन् । सिस्ने–२ नायगाढका तिलक रसाईलीले पनि गाउँमा रहँदा आफूहरुलाई एकछिन पनि फुर्सद नहुने तर पनि व्यक्तिगत लाभ र प्रगति भने गर्न नसकेको बताए । ‘के गर्छौं भनेर कसैले सोधे ठ्याक्कै भन्ने पेसा छैन । तर बिहानदेखि साँझसम्म फुर्सद पनि छैन । घरको चुलोदेखि गाउँको चौतारोसम्म हामी नभए मेलो सर्दैन । तर भविष्य कता जाने हो थाहा छैन,’ उनले सुनाए ‘सामान्य रोजगारको मेसो गाउँमै भए दिनमा नोकरी गरेर बाँकी रहेको समय गाउँ–समाजलाई दिन सकिन्थ्यो । तर त्यस्तो छैन । हामी त पूरै समाजसेवी पो भयौं ।’ 

गाउँसम्म पराकिलो सडक, विद्युत्, खानेपानी र माध्यमिक तहसम्मका विद्यालय भए पनि मान्छेहरु भने सहर–बजारतर्फ सर्दै गइरहेको तितो यथार्थ सर्वत्र छ । भूमे गाउँपालिका–९ चुन्बाङका माहोनलाल ओलीले गाउँले युवा खोजेको तर उनीहरुले सहर राजेको दुःखेसो गरे । ‘हामी बुढा–पुराना मान्छे मात्रै यता छौं । कतिबेला प्राण जान्छ था छैन । छोरानातिले अनुहारै हेर्न पाउँदैनन् कि जस्तो पो लाग्छ,’ निन्याउरो अनुहार लगाउँदै उनले भने ।

रष्ट्रिय जनगणना २०७८ का अनुसार रुकुम पूर्वमा १२ हजार ८ सय ८६ परिवार र ५६ हजार ७ सय ८६ जनसंख्या छ । हरेक घर–परिवारमा युवा उमेरका मान्छे भए पनि अधिकांश घरभन्दा बाहिर छन् । पुथाउत्तरगंगा गाउँपालिका–२ की पूर्णिमाया विश्वकर्माले आफ्ना ३ भाई छोरा लामो समयदेखि विदेशमा रहेको बताइन् । ‘छोराछोरी पाल्यौं–ताल्यौं ठूला भएपछि उडेर कता–कता गए । कमाउन त कमाउँछन् तर हाम्रा दुख्ख कम भैनन्,’ विश्वकर्मा दुःखेसो गर्छिन् ‘यही बस भनेर पनि कसरी भन्नु, के छ र उनीहरुले गर्नसक्ने । यसकारण दुई भाइ छोरा विदेश छन्, कान्छो काठमाडौं छु भन्छ । यस्तै छ ।’

The village forgotten by the youth, the youth remembered by the village

सिस्ने–२ का अगुवा उदय केसी गाउँमा कृषि उत्पादनमा आएको कमी र देखासिकीलाई यस्तो अवस्थाको बन्नुको मुख्य कारण ठान्छन् । ‘प्रकृति र मौसम पहिले जस्तो रहेन । उत्पादन बर्सेनि घट्दो छ । यसकारण मान्छेहरु रासन जुटाउन देश–विदेश गर्न थाले, पछि त्यही कुरा देखासिकीमा परिणत भएपछि भने अहिले यो अवस्था आयो,’ केसी भन्छन्, ‘अहिले गाउँमा जति जनसंख्या छ यसलाई यहीको उत्पादनले खान त पुग्छ तर काम गरिदिने मान्छे भए पो, खेत–खल्यानमा पसिना बगाउनसक्ने बलिया पाखुरा भएको उमेर समूह गाउँमा नहुँदा मुस्किल भएको भएको छ ।’

यसका साथै हाम्रो खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण पनि मान्छेहरुमा महत्वकांक्षा बढ्दै गएपछि यस्तो अवस्था आएको रुकुमकोट उद्योग वाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष केबिन्द्र गौतम बताउँछन् । ‘युवाहरुमा महँगो कपडा, फोन र खानपिन अनि अरु कुराहरुमा पनि अस्वाभाविक शौख बढ्यो । अनि यही पूरा गर्नका लागि पनि आफ्नै गाउँघरका अनेकन् सम्भावनालाई बेवास्ता गरेर अन्तै भौतारिनुपर्ने अवस्था आएको एउटा पाटो हो,’ उनले भने ।

The village forgotten by the youth, the youth remembered by the village

खासगरी युवाहरु रुकुमबाट रोजगारका सिलसिलामा घर छोडेर कहाँ–कहाँ गएका छन् र तिनीहरुले के साच्चै आफ्नो योजना अनुरुपको काम गरिरहेका छन् त ? यस विषयमा तीनै तहका सरकारसँग कुनै तथ्यांक छैन । सिस्ने गाउँपालिका अध्यक्ष कृष्णा रेग्मीले युवा बिनाको गाउँको अवस्था दिनानुदिन दर्दानक बन्दै गइरहेको बताए । ‘हामी स्थानीय स्तरमा रोजगारका अवसर सिर्जना गर्नका ठूला काम गर्न सक्ने अवस्थामा छैनौं । ससाना काममा कसैको आँखा जाँदैन । तर संघ र प्रदेश सरकारसँग सहकार्य गरेर युवा स्वरोजगारको कार्यक्रम अघि बढाउन सक्दो कोशिष विगतदेखि नै भइरहेको छ,’ उनले भने ।

गाउँमा परेका बेला काँध थाप्ने अनि अघि सरेर जन्मभूमि र जन्मदाताको सुरक्षाका लागि काम गर्ने पहिलो जिम्मेवारीमा रहेका युवा पुस्ता गाउँ छोडेर जानुपर्ने आफ्नै बाध्यतमा छ । ती युवालाई सम्झेर अभावको महशुष गरिरहने गाउँ र छरछिमेकका पनि आफ्नो पीडा र बाध्यताका पोका छन् । यसको मुख्य उपाय भनेको सरकारले गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा र प्रशस्त रोजगारी सिर्जना गर्नु नै हो । यसका लागि सरकार र सरोकारवालको जागरिलो सक्रियता जरुरी छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully