राजविराज — घर चलाउनै समस्या भएपछि सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरबाका ३० वर्षीय इसराफिल शेखले डेढ वर्षअघि वैदेशिक रोजगारीमा जाने निधो लिए । गाउँलेसँग सल्लाह गरिरहँदा २०८० मंसिर २४ मा उनको भेट कञ्चनरुप–४ जगतपुरका २६ वर्षीय रामकुमार भगतसँग भयो । रामकुमारले काठमाडौंस्थित मून ह्युमन रिसोर्स प्रालिको मार्केटिङ म्यानेजर रहेको परिचय पत्र देखाउँदै राम्रो काममा कुवेत पठाइदिन्छु भनेरै विश्वासमा पारेको उनकी श्रीमती नजरुन खातुनले बताइन् ।
छिमेकीको भर परेर कुवेत जान ऋणको जोहो गरेर एजेन्टलाई बुझाएका शेखको अचानक मृत्यु भएपछि २९ वर्षीया श्रीमती नजरुन खातुनलाई चार बालबच्चाको लालनपालनको पूर्ण जिम्मेवारी मात्रै आइलागेको छैन, श्रीमान्लाई विदेश पठाउन ऋण लिएको ब्याज तिर्ने समेत हम्मे भएको छ । ‘एक त छिमेकी गाउँले र त्यसमाथि उनका बुवा श्यामचन्द्र भगत पनि घर आएर कुरा गरेपछि हामी तयार भयौँ,’ खातुनले भनिन्, ‘धेरैबेर कुराकानीपछि साढे ४ लाखबाट ३ लाख ९० हजार रुपैयाँमा कुवेत पठाइदिने र त्यहाँ खान र बस्नेसहित ५० हजार रुपैयाँ मासिकका साथै र ओभरटाइम पनि पाउने भनियो ।’
रामकुमारले भिसा मगाउनका लागि भोलि नै १ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्छ भन्दा शेख पैसाको जोहो गर्न लागे । छिमेकीसँग ऋण उठाएर शेखले ०८० मंसिर २६ मा रामकुमारको नबिल बैंक लिमिटेडमा रहेको खातामा १ लाख ५० हजार रुपैयाँ जम्मा गरे । तर, रामकुमारले थोरै पैसा पठाउँदा भिसा मगाउन गाह्रो भइरहेको भन्दाभन्दै ८/९ महिना झुलाइदिएको खातुनले बताइन् ।
‘डेढ लाखको ब्याज बढिरहँदा उहाँ (शेख) धेरै तनावमा रहनुहुन्थ्यो अनि छिट्टै कुवेत पुग्नुपर्ने बाध्यताले पूरै पैसा तिरिदिने सोच बनाएर थप ऋणको खोजीमा लागेँ,’ उनले थपिन्, ‘समूहमा भनसुन गरेर किस्ता (सहकारी) मा ऋण पाएसँगै ०८१ भदौ १ मा तत्काल रामकुमार र उनका बुबालाई बोलाएर भरपाई गराएपछि थप १ लाख ९० हजार रुपैयाँ तिरिदिए, बाँकी ५० हजार पनि असोज ८ मा बैंकमा नै हालिदिए ।’ रामकुमारले सबै रकम पाइसकेपछि कुवेत पठाउन काठमाडौं लगेपनि फेरि घर फर्काइदिँदा पति (शेख)ले तनावका कारण कति रात सुत्न नपाएको खातुनले दु:खेसो पोखिन् । ‘विदेश जान पाइएन भने ब्याज कसरी तिर्ने ? भनि बेलाबेला मलाई सोध्नुहुन्थ्यो,’ उनले भनिन्, ‘एक दिन अचानक उहाँ बेहोस हुनुभयो, भारदह अस्पताल पुर्याए पनि त्यसअघि नै उहाँको निधन भइसकेको थियो ।’ २०८१ कात्तिक १० मा शेखको निधन भएपछि खातुनले घरमा भएको गरगहना बेचेर दुई महिनासम्म किस्ता चुक्ता गरे पनि त्यसयता किस्ता तिर्न सकेकी छैनन् । उनले छोरीहरू १२ वर्षीय नाजमिन र ९ वर्षीय नाजनी तथा छोराहरू ७ वर्षीय इब्राहिम र साढे ३ वर्षीय अयानको पालनपोषण र छाक टार्नसमेत कठिनाइ खेप्दै आएकी छन् ।
मौरिसस पठाइदिन्छु भन्दै ८० दिन दिल्लीमा
पैसा फिर्ता माग्दा उल्टै धम्की दिँदै आएका रामकुमारले शेखका परिवारलाई मात्रै पीडित बनाएका छैनन् । कञ्चनरुप–१० बदगामाका २० वर्षीय रुपेशकुमार पासवानलाई पनि मौरिसस पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगेका छन् । ‘काठमाडौंमै बसिरहँदा गाउँलेको रुपमा चिनजान गरेका रामकुमार दुई महिनासम्म मेरै कोठामा बस्यौँ,’ रुपेशले भने, ‘त्यहीबेला मौरिससको होटलमा वेटरको राम्रो काम छ र डेढ लाख तलबका साथै खान र बस्ने पनि सुविधा रहेको भनेपछि म तयार भए तर पहिला भिसा मगाउनू अनि मात्रै पैसाको लागि म घरमा कुरा गर्छु भने ।’ त्यसको चार दिनमै भिसा आएको रामकुमारले मोबाइलमा देखाएपछि घरमा कुरा गरेको पासवानले बताए । ‘बुबा (प्रभु)ले रामकुमारलाई पनि लिएर घर आउन भनेपछि म फर्किएँ,’ उनले भने, ‘घर आएर रामकुमार र उनका बुबा (श्याम) सँग पनि कुराकानी हुँदा छोराले मौरिसस पठाइदिन्छ भनेपछि ४ पटक गरेर रामकुमारको खातामा ३ लाख ५० हजार रुपैयाँ पठाउन लगाए ।’
मौरिससका लागि पठाउँदा ८० दिन दिल्लीमा बसेर फर्किएका सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामाका २० वर्षीय रुपेशकुमार पासवान । तस्बिरः विद्यानन्द राम/कान्तिपुर
पासवानका आफन्त सुशिन्द्र पासवानले २०८१ साउन १६ र २० मा माछापुच्छ्रे बैंकबाट रामकुमारको नाममा खाता रहेको सिटिजन बैंकमा १/१ लाख, साउन २० मा नबिल बैंकमा १ लाख र साउन २३ मा ५० हजार रुपैयाँ पठाएका थिए । सबै रकम पठाइसकेपछि त्यसको भोलिपल्ट नै टिकट भइसकेको भन्दै बसमा दिल्ली पुग्नुपर्ने रामकुमारले बताएका थिए । बसमा नजाने भन्दै रुपेशले विवाद पनि गरे । तर, रामकुमारकै भाइ पर्ने अर्को व्यक्ति पनि सँगै जाने भएपछि आफू पनि तयार भएको रुपेशले बताए । ‘दिल्ली पुग्दा हामीलाई शायद खिर्जाबाद लग्यो, एउटा होस्टेलजस्तो ठाउँ थियो तर त्यहाँबाट बाहिरका कसैसँग सम्पर्क गर्नै दिँदैन्थ्यो, थुना सरह नै थियो,’ रुपेशले भने, ‘त्यहाँ युरोपतिर जाने अरू पनि थिए, केही गए पनि । ८० दिनको सो अवधिमा केही गएर फर्किएको पनि मैले हेरेँ, त्यहीँ क्रममा म बिरामी परेँ ।’ त्यसपछि ‘रुम मोनिटर’लाई बिरामी परेको समस्या बताएर त्यहाँबाट भागेको पासवानको भनाइ छ । ‘त्यहाँबाट भागिरहँदा पनि फर्किनका लागि उनीहरूले फोन गरेको गर्यै थियो तर मैले फोन उठाइनँ,’ उनले भने, ‘घरमा फोन गरेर पैसा मगाएँ अनि फर्किएँ ।’ पासवानका बुबा प्रभुले सहकारी र छिमेकीसँग ऋण लिएर रामकुमारलाई दिएको पैसा फिर्ता नपाउँदा उठिबास हुने अवस्थामा आइसकेको भन्दै दु:खेसो पोखेँ । ‘केही किस्ता त भैंसी बेचेर र्फ्छ्यौट गरे, अब बेच्ने पनि केही छैन’, उनले भने ।
भिजिट भिसामा मौरिसस पठाइयो तर एयरपोर्टबाटै फर्काइयो
दिल्ली पुर्याएर सम्पर्कविहीन बनाएपछि ठगीमा परेको थाहा पाएका रुपेशकै छिमेकी गाउँका २९ वर्षीय सन्तोषकुमार पासवान र सन्तोषका भतिजाहरु २३ वर्षीय ललन र २१ वर्षीय सुरजलाई रामकुमारले भिजिट भिसामा मौरिसससम्मै पुर्याएर ठगीमा पारेका छन् । उनीहरूले पनि ३ लाख ५० हजारका दरले रामकुमारको खाता रहेको नबिल बैंक र सिटिजन बैंकमा पठाएपछि काठमाडौं लगेका थिए । भौचरअनुसार ०८० चैत २७ मा नबिल बैंकमा २ लाख, ०८१ साउन २५ मा सिटिजन बैंकमा १ लाख तथा भदौ ३ मा नबिल बैंकमा ४ लाख र सिटिजनमा ३ लाख ५० हजार रुपैयाँ रामकुमारको खातामा रकम पठाइएको छ ।
भिजिट भिसामा मौरिसस एयरपोर्ट पुगेर फर्किएका सप्तरीको कञ्चनरुप नगरपालिका–१० का २९ वर्षीय सन्तोषकुमार पासवान । तस्बिरः विद्यानन्द राम/कान्तिपुर
‘काठमाडौं लगेपनि १५ दिन त्यहीँ बसाएर बसमा दिल्ली पुर्यायो,’ सन्तोषले भने, ‘त्यहाँ रामकुमारका मान्छेले हामीलाई भिसा र टिकट दिएर दिल्ली एयरपोर्टसम्मै छाडे, एयरपार्टभित्र पनि खासै सोधपुछ गरेनन् ।’ दिल्लीबाट मुम्बई पुग्दा एयरपोर्टमा प्रहरीले मौरिसस किन जान लागेको भनि सोध्दा रामकुमारले सिकाएअनुसार नै आफूहरूले जवाफ दिएको सन्तोषको भनाई छ ।
‘कुनै एयरपोर्टमा सोधपुछ गर्दा घुम्न गइरहेको नै जवाफ दिने भनि रामकुमारले पहिला नै सिकाइसकेका थिए,’ उनले भने, ‘मौरिसस एयरपोर्टमा पुग्दा फेरि प्रहरीले सोधपुछ गर्न थाले, त्यहाँ घुम्न आएको बताए पनि त्यहाँ होटल बुकिङबारे सोधे ।’
तर, आफूहरूलाई दिएको होटल बुकिङ गरेको कागजात नै नक्कली रहेको प्रहरीबाट जानकारी पाएको सन्तोषले बताए । ‘त्यसपछि प्रहरीले पैसा कति छ भनेर सोध्दा हामीले ५ सय मात्रै भनेपछि पुग्दैन भन्दै एपरपोर्टमै बस्न लगाएको र दुई घन्टापछि पुनः मुम्बई नै फिर्ता पठाइदियो,’ उनले भने, ‘पैसा अभावले तीन दिन खान पाइनँ, साँझतिर बम्बई फर्किँदा पनि सडकमै रात काटिरहँदा घरमा सम्पर्क गरे र अनलाइनमार्फत काठमाडौंका लागि टिकट बनाइदिँदा फर्किएँ ।’
तीनै जनाका अभिभावक इन्द्रजित पासवानले ऋण उठाएर भाइ (सन्तोष), छोरा (सुरज) र भजिता (ललन)लाई वैदेशिक रोजगारीमा पठाए पनि छिमेकी गाउँलेबाटै ठगीमा पर्दा पूरै परिवार घर न घाटको अवस्थामा पुगेको बताए । ‘१० लाख ५० हजार लिएको ऋण अब त हाराहारी १७ लाख भइसक्यो, साहुले पनि ऋण चुक्ता गर्न ताकेदा गर्दैछन्,’ उनले भने, ‘उनीहरू फर्किँदा केही महिनासम्म रामकुमार सम्पर्कमै रहँदा पनि ६ महिनादेखि हामीसँग बोल्नै चाहदैनन् ।’ ऐलानीमा बसोबास रहेको भन्दै इन्द्रजितले ऋण चुक्ता गर्न अन्य कुनै वैकल्पिक उपाय पनि नहुँदा एक वर्षदेखि तनावमा दिनचर्या चल्दै आएको बताए ।
यूके पठाइदिन्छु भन्दै ठगी
उमेरले २६ वर्षकै रामकुमारको ठगी धन्दा त्यतिमै रोकिएन । कञ्चनरुप–१ बैरबाकै ३३ वर्षीय सचिन्द्रकुमार यादव र वडा–२ बरमझियाका ३२ वर्षीय मनोजकुमार गुप्तालाई यूके पठाइदिन्छु भन्दै १/१ लाख रुपैयाँ ठगेका छन् । दुवै जनालाई यूके जानका लागि ६ लाख पर्ने र त्यहाँ कृषि क्षेत्रको काममा खान, बस्ने गरी ३ लाखसम्म तलब पाउने भन्दै रामकुमारले पहिलो किस्ता बापतको १/१ लाख रुपैयाँ लिँदा दुवै जनालाई भरपाईसमेत गरिदिएका छन् । भरपाईअनुसार रामकुमारले यादवसँग ०८१ साउन ६ र गुप्तासँग भदौ १ मा सो रकम बुझेका छन् ।
काठमाडौंस्थित ‘मून ह्युमन रिसोर्स प्रा.लि’ का मार्केटिङ म्यानेजर रहेको भन्दै आईडी कार्ड देखाउँदै ठगी गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुरका २६ वर्षीय रामकुमार भगत ।
रामकुमारले बैरबाकै ३३ वर्षीय रवीन्द्र भगत, २४ वर्षीय नुरसाद शेख र शेखका बहिनी ज्वाइँ २३ वर्षीय जहिद शेखलाई पनि वैदेशिक रोजगारीका नाममा ठगेका छन् । कुवेत पठाइदिन्छु भन्दै रामकुमारले ०८१ साउन ६ मा भगतसँग ३ लाख ४५ हजार तथा ०८० पुस २ र ०८१ भदौमा गरी नुरसाद र जहिदसँग ५ लाख ७० हजार रुपैयाँ ठगी गरेका छन् । नुरसाद र जहिद २ लाख ६० हजार रुपैयाँ बैंकमार्फत र बाँकी नगद दिएको भरपाईसमेत गराएका छन् भने भगतले नगद दिँदा पनि रामकुमारसँग भरपाई गराएका हुन् । वडा १ का अध्यक्ष रब्बान खाँले ठगीमा परेकाहरू आफूसमक्ष आएपनि एजेन्ट रामकुमार नै फरार रहँदा समस्या बढ्दै गएको बताउँछन् । ‘रामकुमारसँग एक पटक कुरा भयो पनि । त्यसपछि उनी फरार छन्,’ उनले भने, ‘पीडितलाई न्याय दिलाउन हामी प्रयासमा छौं ।’
विभागमा जाहेरी दिँदा पनि सुनुवाइ भएन
वैदेशिक रोजगारीका नाममा रामकुमारबाट ठगिएका १० मध्ये ४ जनाले वैदेशिक रोजगार विभागमा जाहेरी दिएको पाँच महिना हुन लाग्दा पनि सुनुवाइ भएको छैन । ठगीमा परेका ललनले गत पुस १ मा विभागमा दर्ता गराएको जाहेरीअनुसार उनका काका सन्तोष र भाइ सुरजलाई ठगिएको रकम फिर्ता गराइदिन माग गरेका छन् ।
त्यस्तै, प्रभु (रुपेशका बुबा)ले पनि गत माघ ३० मै विभागमा जाहेरी दर्ता गराएका छन् । तर, सुनुवाइ नहुँदा उनीहरू थप पीडित बन्दै गएका छन् । ठगीमा परेका अन्य पीडितसँग पैसा नहुँदा विभागसम्म पुग्नै सकेका छैनन् भने सरसापट गरेर जाहेरी दर्ता गराएर फर्किएका पीडितले पनि तत्कालै न्याय पाउने अवस्था छैन । विभागका निर्देशकसमेत रहेका सूचना अधिकारी टीकाराम ढकालले मुद्दाको चाङका कारण कामकारबाहीमा ढिलाइ भइरहेको बताए । ‘यो वर्ष नै ५ हजारजति मुद्दा आइसकेको छ र हामी कहाँ अनुसन्धान अधिकृत नै जम्मा ५ जना मात्रै छन्,’ उनले भने, ‘उहाँ (पीडित)हरू नै आएर सम्पर्कमा रह्यो भने काम अघि बढ्छ । फोनमा सुनेर सम्भव पनि छैन ।’
रामकुमार भगतको ‘मून ह्युमन रिसोर्स प्रालि’ मा मार्केटिङ म्यानेजर रहेको आईडी कार्ड ।
उता, रामकुमारले पनि वैदेशिक रोजगारीमा पठाउन उनीहरूसँग रकम लिएको विषय स्वीकार गरे । ‘मैले मून ह्युमन रिसोर्स प्रालिमा पहिला नै काम गर्न छाडेँ, गाउँलेहरूलाई विदेश पठाइदिन पैसा दिएका व्यक्ति नै भागेपछि म समस्यामा परेँ,’ उनले थपे, ‘उनीहरूलाई पनि पैसा फिर्ता गर्छु भन्दाभन्दै विभागमा जाहेरी दिँदा झन् समस्यामा परिहालेँ, अब जे हुन्छ अदालतबाटै हुन्छ । म पैसा फिर्ता दिन्नँ ।’ मून ह्युमन रिसोर्स प्रालिमा पटकपटक फोन गर्दा सम्पर्क हुन सकेन ।
